आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा नाकामा ५ सय विओपी राख्ने सरकारको लक्ष्य छ : गृहमन्त्री खाँण

आइतबार, २४ साउन २०७८, १६ : ५८
आइतबार, २४ साउन २०७८

गृहमन्त्री बालकृष्ण खाँणले सीमानामा सशस्त्र प्रहरी बलको ५ सय बोर्डर आउट पोष्ट (बिओपी) राख्ने लक्ष्य रहेको बताएका छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक सि.सं. १४(क) आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै खाँण सो कुरा बताएका हुन् । दीक्षान्त समारोह सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजना गरिएको थियो ।

कोभिड–१९ महामारीमा सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गर्दै खाँणले सशस्त्र प्रहरीलाई थप साधन स्रोत सम्पन्न बनाउने बताए । सीमानामा अहिले सशस्त्र प्रहरी बलको २२६ वटा बिओपी छन् । शान्ति सुरक्षा बहाली राज्यको प्रमुख दायित्व रहेको खाँणको भनाइ थियो । गृहमन्त्रीले सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सिमित श्रोत साधनका बावजुद पनि सीमा नाका र नेपाल ए.पि.एफ.अस्पताल लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको बताएका छन् । सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र विपद्का घटनामा सशस्त्र प्रहरी थप क्रियाशिल हुनुपर्ने खनालले बताए । गत साल भदौ २२ गतेबाट सञ्चालन भएको उक्त तालिम २० जना महिलासहित कुल ६१ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप