शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

प्रिमियर लिग राउण्ड अप : सिटीको अपराजित यात्रा जारी, केन बिनाको स्पर्स पराजित

आइतबार, १२ कात्तिक २०७४, ०९ : ५७
आइतबार, १२ कात्तिक २०७४

लण्डन । लगातार आठौँ खेलमा जित निकाल्दै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

शनिबार राती सम्पन्न खेलमा सिटीले वेस्ट ब्रोम आल्बियोनलाई उसैको घरेलु मैदानमा ३–२ गोलअन्तरले पराजित गरेको हो ।

दशौँ मिनेटमा नै लेरोय सानेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, लगत्तै जे रोड्रिग्वेजले खेल बराबरीमा ल्याए ।

त्यसको २ मिनेट पछि नै फर्नान्डिन्होले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा राहिम स्टर्लिङले अर्को गोल थप्दै सिटीको जीत सुनिश्चित गरे ।

इन्जुरी समयमा म्याट फिलिप्सले वेस्ट ब्रोमका लागि एक गोल फर्काए पनि त्यो सान्तवना गोल मात्र बन्यो ।

१० खेलपछि ९ मा जीत र एकमा बराबरी गर्दै सिटी २८ अंकसहित पहिलो स्थानमा रहेको छ । सिटी सबै प्रतियोगितामा पछिल्ला २१ खेलमा अपराजित रहेको छ, जुन क्लबको इतिहासमा नै पहिलो पटक हो ।

उता, म्यान्चेस्टर सिटीले पनि उपाधिको होडमा रहेको टोटनहम हटस्पर्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

एन्थोनी मार्सियालले खेलमो ८१ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलाए । रोमेलु लुकाकुले हेड गर्दै पास दिएको बललाई मार्सियालले गोलको जाली चुमाएका थिए ।

फर्ममा रहेका स्ट्राइकर ह्यारी केनलाई घाइते हुँदै गुमाएको स्पर्सले पाएको अवसरहरुलाई सदुपयोग गर्न सकेन । विशेष गरेर पहिलो हाफमा खेलमा नियन्त्रण बनाए पनि स्पर्सले गोल गर्न भने असमर्थ रह्यो ।

खेलपछि युनाइटेड २३ अंकसहित दोस्रो स्थानमा रहेको छ भने टोटनहम २० अंकसहित तेस्रो स्थानमा सिमित बनेको छ ।

शनिबार नै भएको अन्य खेलमा आर्सनलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै स्वान्सीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । 

साम क्लाउकसले स्वान्सीलाई अग्रता दिलाए पनि खेलको दोस्रो हाफमा सिएड कोलास्नियाक र आरोन रामशेले गोल गर्दै आर्सनललाई जीत दिलाए । योसँगै रामशेले क्लबका लागि ५० गोल पनि पूरा गरेका छन् ।

त्यस्तै, डिफेन्डिङ च्याम्पियन चेल्सीले पनि बोर्नेमाउथविरुद्ध १–० को संघर्षपूर्ण जीत निकालेको छ ।

अल्भारो मोराटाले थुप्रै अवसर गुमाउँदा एडिन हजार्डले खेलको ५१ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई जीत दिलाए ।

जीतपछि चेल्सी लिगको चौँथो स्थानमा रहेको छ भने आर्सनल लिगको पाँचौ स्थानमा रहेको छ ।

उता, हडर्सफिल्ड टाउनलाई पराजित गर्दै लिभरपुल लिगको छैटोँ स्थानमा उक्लिएको छ ।

निराशजनक पहिलो हाफपछि ड्यानियल स्टरिज, रोबर्टो फर्मिन्हो र जर्जिनियो विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए ।

पहिलो हाफको अन्त्यमा लिभरपुलले पेनाल्टी पाए पनि त्यसलाई मोहमद शलाहले गोलमा परिणत गर्न सकेनन् । प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुलले सर्वाधिक ३४ वटा पेनाल्टीको अवसर गुमाएको छ ।

अन्य खेलमा क्रिस्टल प्यालेसले वेस्ट ह्यामसँग २–२ को बराबरी खेल्यो भने स्टोक सिटीले वाटफोर्डलाई १–० गोलअन्तरले हरायो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप