बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

अख्तियारले अपनाएको शैलीः ‘टाउकोबाट अनुसन्धान’ गर्ने

बिहीबार, ०८ जेठ २०८२, १९ : ३८
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • अध्यागमन विभागका कर्मचारी र बिचौलियाले पर्यटक भिसामा विदेश पठाउने महिलासँग रकम असुल्ने गरेको खुलासा भएको छ, जसमा 'कोडवर्ड' प्रयोग हुने गरेको पाइयो।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान सुरु गरेको छ र त्रिभुवन विमानस्थलका प्रमुखसहित चार जनाको डिभाइस बरामद गरेको छ।
  • अख्तियारले दैनिक ४० लाखसम्म असुल गर्ने गरेको सूचना पाएपछि माथिल्लो तहबाट अनुसन्धान थालेको छ, किनकि पहिले तल्लो तहका कर्मचारीमा मात्रै अनुसन्धान सीमित भएको थियो।

काठमाडौं । पर्यटक भिसा लगाएर बिदेसिनेहरूसँग असुल्न अध्यागमन विभागका कर्मचारी र बिचौलियाले ‘कोडवर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले यूएई र कुवेत जाने महिलाहरूबाट मोटो रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू जानकार थिए । 

आयोगका एक उच्च अधिकारी ३ दिनअघि मात्र उजुरी आएको बताउँछन् । तर, अख्तियार स्रोतका अनुसार अगाडिदेखि नै सूक्ष्म रुपमा अनुसन्धान भइरहेको थियो । अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईमाथि अनुसन्धान केन्द्रित गरेको थियो । तर, सो सूचना चुहिएपछि गृहमा हलचल मच्चियो । र जेठ ६ मा भट्टराईलाई गृहमन्त्री रमेश लेखकले मन्त्रालय ताने । 

भट्टराईसँगै अरू ८ जना नायब सुब्बाहरू पनि मन्त्रालयमा सरुवा भएका छन् । अध्यागमन विभागका एक अधिकृत भन्छन्, ‘सुब्बाहरू पनि कारबाही भोगेका र विवादित पृष्ठभूमिका थिए ।’

सूक्ष्म ढंगले अनुसन्धान अघि बढिरहेका वेला भट्टराईलाई सरुवा गरिएपछि आफूहरू ‘हतारो’मा परेको अख्तियारका अधिकृतहरू बताउँछन् । एक अधिकृतले रातोपाटीसँग भने, ‘प्रमाण खोज्दै गर्दा हलचल आएपछि हामीलाई हतारो गराएको छ ।’

अख्तियार प्रवक्ता राजेन्द्र कुमार पौडेलले विमानस्थल घटनाबारे विस्तृत अनुसन्धान सुरु भएको बताए । उनले भने, ‘चार जनाबाट डिभाइस बरामद गरेर विस्तृत अनुसन्धान थालेका छौँ ।’

सहसचिव भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल र अर्का एकजना खगेन्द्र सुवेदीसहित चार जनाको डिभाइस आयोगले बरामद गरेको छ । ती डिभाइसको डीएफएल गरिने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । सुवेदी र भट्टराई पछिल्लो समय निकट भनेर चिनिन्छन् । पौडेल एसकेआर मेनपावरसँग पनि आबद्ध छन् ।

पर्यटक भिसा लगाएर यूएई र कुवेततर्फ जाने महिलालाई अध्यागमनका कर्मचारीहरूले कोड भाषामा ‘एल’ भन्छन् । पुरुषलाई ‘एस’ प्रयोग गरेर रकम असुल्ने गरिएको विमानस्थलका कर्मचारीहरू नै बताउँछन् । 

पर्यटक भिसामा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट यूएई र त्यहाँबाट कुवेत पठाउँदै आएका छन् । कुवेत पुगेका महिला त्यहाँ घरेलु कामदारका रूपमा रहँदा पीडित भएर फर्किने गरेका प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो । 

दैनिक ४० लाखसम्म असुल गर्ने गरेको सूचना आएपछि अख्तियारले टाउकोबाट अनुसन्धान गर्ने शैली अपनाएको छ । अख्तियारका एक अधिकृत भन्छन्, ‘तलबाट अनुसन्धान गर्दा तल्लो तहका कर्मचारी आफैंले स्विकार्ने र माथिसम्म नपुग्ने देखिएपछि माथिबाट अनुसन्धान गर्न थालिएको थियो ।’

यसअघि पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले २०८० मंसिरमा अध्यागमनका केही कर्मचारीलाई फर्जी कागजात बनाएर विदेश पठाएको अभियोगमा पक्राउ गरे पनि अनुसन्धान माथिल्लो तहमा पुग्न सकेको थिएन ।

त्यतिबेला पक्राउ परेका नरबिर खड्कालगायत अधिकारीहरूले सफाइ पाएपछि फेरि ‘सेटिङ’ सुरु भएको बताइएको छ । त्यसवेला सेटिङमा संलग्न अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोले सफाइ पाएका छन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिएका प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
तर अहिलेको शैलीबाट अनुसन्धान गर्दा भिजिट भिसाको ‘सेटिङ’ ब्रेक हुने र टुंगोमा पुग्न सक्ने अख्तियारका अधिकृतहरू दाबी गर्छन् । 

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अहिले १२८ जना अधिकृत कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप