आईपीएल इतिहासकै कीर्तिमानी दाजुभाई बने शान र मिचेल मार्श
सारांश
- लखनउ सुपर जायन्ट्सले आईपीएलमा गुजरात टाइटन्सलाई ३३ रनले पराजित गर्यो।
- मिचेल मार्सले लखनउका लागि १७ रनको शतकीय पारी खेले, जसले उनलाई प्लेयर अफ द म्याच बनायो।
- मिचेल र उनका दाजु शान मार्श आईपीएलमा शतक बनाउने पहिलो दाजुभाइ बने।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को बिहीबार राति खेलिएको खेलमा लखनउ सुपर जायन्ट्सले निकै बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्समाथि ३३ रनको रोमाञ्चक जित हासिल गर्यो ।
यद्दपि, लखनउ यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ भने गुजरात प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने पक्का भइसकेको छ । त्यसैले यो जितले लखनउलाई खासै ठुलो असर पार्दैन । लखनउको जितमा मिचेल मार्सले महत्वपूर्ण योगदान गरे । प्रभावशाली अस्ट्रेलियन अलराउन्डर मिचेलले शतकीय पाली खेले । उनले टोलीका लागि एक सय १७ रन बनाए ।
प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ६४ बलको सामना गरी आठ छक्का र १० चौका पनि हिर्काए । सोही योगदानका कारण उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । ३३ वर्षीय मिचेलले आईपीएलमा आफ्नो पहिलो शतक प्रहार गरेका हुन् । योसँगै आईपीएलमा मिचेल मार्शको नाममा एउटा रमाइलो कीर्तिमान पनि जोडिन पुगेको छ ।
यो कीर्तिमान मिचेल र उनका दाजु शान मार्शले संयुक्त रुपमा बनाएका हुन् । ४१ वर्षीय शान मार्सले पनि १७ वर्षअघि आईपीएलमा शतक बनाइसकेका छन् । शान मार्सले सन् २००८ मा आयोजित आईपीएलको पहिलो संस्करणमा शतक बनाएका थिए । त्यतिबेला उनी किङ्स–११ पञ्जाबबाट खेल्थे । उनले राजस्थान रोयल्सविरुद्ध शतक बनाएका थिए ।
आईपीएलको पहिलो संस्करणमा शान मार्श सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि पहिलो स्थानमा थिए । उनले प्रतियोगितामा ११ खेल खेल्दै कुल ६ सय १६ रन बनाएका थिए ।
बिहीबार रातिको खेलपछि शान र मिचेल मार्श आईपीएलमा शतक बनाउने पहिलो दाजु–भाई बनेका छन् । मिचेल आईपीएलको १८औँ संस्करणमा शतक बनाउने पहिलो विदेशी खेलाडी पनि हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण