शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माधव पक्षको बटमलाइन : सरकारमा जाँदैनौँ, गठबन्धन तोड्दैनौँ

शेरबहादुरलाई मत हालेको सरकारमा जान होइन : डा. बेदुराम भुसाल
सोमबार, ३२ साउन २०७८, १४ : १३
सोमबार, ३२ साउन २०७८


 

राष्ट्रियसभाका सदस्य एवं नेकपा एमाले माधव नेपाल पक्षका नेता डा. वेदुराम भुसालले दुईवटा कुरा प्रष्ट पारेका छन् ः एक– माधव नेपाल समूह तत्काल सरकारमा जाँदैन । दुई– शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको गठबन्धन तोडिँदैन ।

केपी शर्मा ओली एकतर्फीरुपमा अघि बढेका कारण एमालेभित्रको एकताको सम्भावना भने कम हुँदै गएको नेता भुसालले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अर्को पक्ष एकपक्षीय ढङ्गले निर्णय गरेर गइरहेको छ, जसले गर्दा एमाले एकताको सम्भावना न्यून हुँदै गएको हो कि भन्ने देखिन्छ ।’

सरकारमा नजाने कुरा प्रष्टसँग भनिसक्दा पनि बुझाउन नसकिएको पो हो कि भन्ने गुनासो गर्दै भुसालले भने, ‘कति भोल्युमको आवाजमा भन्दा प्रष्ट हुन्छ, थाहा भएन । सार्वजनिकरुपमा शनिबार मात्रै माधव नेपालले अहिले सरकारमा जाने कुरा हाम्रो छैन भन्नुभएको छ ।’

माधव नेपाल समूहका कतिपय नेताहरूले ओली पक्षसँग गरिरहेको छलफल समूहका नेताहरुलाई जानकारी नदिई व्यक्तिगत ढंगबाट भइरहेको भुसालले बताए । सुरेन्द्र पाण्डे र भीम आचार्यको दिल्ली यात्रा पनि पार्टीलाई जानकारी नगराई भएको उनले बताए ।

प्रस्तुत छ एमाले नेता भुसालसँग रातोपाटीका लागि फणीन्द्र नेपालले गरेको कुराकानी–

नेकपा एमाले अहिले एकता कि विभाजन भन्ने दोबाटोमा पुगेको छ । यो अवस्था कहिलेसम्म रहला ?

राजनीतिमा समयको किटानी पहिल्यै गर्न सकिँदैन । घटना कतिबेला घट्छ भनेर भविष्यवाणी गर्ने सम्भव कुरा होइन । भविष्यमा के हुन्छ हुन्छ । चाँडो हुन पनि सक्छ, समय लाग्न पनि सक्छ । त्यस कारण तपाईले भनेजस्तो ठ्याक्कै यतिबेला यस्तो भइहाल्छ भन्न सक्ने अवस्था छैन ।

एमालेभित्र वार्ता प्रक्रिया पनि जारी छ, पार्टी एकताको विकल्प छँदै छैन भन्ने पनि कतिपय नेताको भनाइ सुन्न सकिन्छ । तर, एक पक्षले अर्को पक्षको बेवास्ता गर्दै बैठक, निर्णय र गतिविधिहरू गर्ने क्रम पनि जारी छ । यसले के देखाउँछ ? एमाले एकता कि विभाजन ?

नेकपा एमालेलाई विभाजन गर्ने निर्णय २०७७ साल फागुन २८ गतेका दिन केपी ओलीको नेतृत्वमा केही साथीहरू बसेर गर्नुभएको छ । त्यो निर्णयलाई उल्ट्याएर पार्टीलाई एकताबद्ध राखौँ भनेर हामीले निरन्तर प्रयत्न गरिरहेका छौँ । तर, हाम्रा प्रश्नहरूको परिणाम त्यति सुखद छैन ।

एकता भन्ने कुरा एक पक्षले चाहेर हुने कुरा होइन । दुवै पक्षले चाहेपछि एकता हुने कुरा हो । अर्को (केपी ओली) पक्षले बाहिरभन्दा हामी एकताको पक्षमा छौँ भन्ने गरे पनि गतिविधि र व्यवहार एकताको पक्षमा देखिँदैन । उहाँहरूको भनाइ र गराइमा मेल छैन । त्यस कारण अहिले पनि हामी सकेसम्म पार्टी विभाजन नहोस् भन्ने पक्षमै छौँ । हाम्रो प्रयासका बाबजुद अर्को पक्ष एकपक्षीय ढङ्गले निर्णय गरेर गइरहेको छ, जसले गर्दा एमाले एकताको सम्भावना न्यून हुँदै गएको हो कि भन्ने देखिन्छ ।

तर, तपाईहरुकै समूहका केही नेता जो हिजो कार्यदलमा पनि थिए, उनीहरू पार्टी एकताका लागि भन्दै भेटघाट र दौडधूप गरिरहेका छन् । तपाईंहरुको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पनि १० बुँदेलाई आधार बनाएर एकता गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेको नेताहरूले भनेका थिए । त्यसपछि फेरि कुनै वार्ता वा छलफल भएको पनि देखिँदैन । भइरहेको चाहिँ के छ ?

यो प्रश्नका दुईवटा पक्ष छन् ।

पहिलो, वार्ताको कुराकानी चलिरहेको छ कि छैन भन्ने । यसमा कुन साथीहरूले के गरिरहेका छन् त्यो उहाँहरूलाई नै थाहा होला । तर, सामूहिकरुपमा वार्ता वा छलफल भएको जानकारी छैन । यद्यपि केही साथीहरूका दौडधुप देखिन्छन्, त्यो सबैलाई जानकारी छैन । अथवा, दौडधुप गर्दा जानकारी गराएर गरिएको पनि छैन । आ–आफ्नै तरिकाले गरेको हुन सक्छ । तर, सामूहिकरुपमा निर्णय भएर गरिएको छैन । हामीले केही दिनअघि केन्द्रीय समिति बैठक गर्‍यौँ । त्यो मिटिङपछि सामूहिक विचारमा रहेर त्यस्ता छलफल भएका छन् भन्ने मलाई लाग्दैन ।

दोस्रो, हाम्रो केन्द्रीय कमिटीका साथीहरूले १० बुँदेलाई आधार बनाएर जाऔँ भन्ने निष्कर्ष निकालेको होइन । हाम्रो बैठकको निष्कर्ष के थियो भने हामी एकताको पक्षमा हो, फेरि पनि हामी अन्तिमसम्म एकताको पहल प्रयत्नमा लाग्नैपर्छ । तर, यदि एकता हुन सकेन भने विकल्पको खोजी गर्नुपर्छ भन्ने नै हो त्यो बैठकको निष्कर्ष ।

बैठकमा वार्ताकारका तर्फबाट चाहिँ के जानकारी गराउनुभएको थियो ?

उहाँहरुले एकतासँग उठेका विषयहरु जे–जे छन्, ती विषयहरुको छिट्टै समाधान हुन्छ र हामी एकतामा जान सक्छौं भन्ने सम्भावनाको कुरा राख्नुभयो । उहाँहरुले सम्भावना छ भनेपछि त्यो सम्भावनालाई प्रयोग गर्नुपर्छ भन्ने हिसावले नै त्यो निश्कर्ष निकालिएको थियो । मैले त अघि नै भनिसकेँ, समयबारे भविष्यवाणी गर्न सकिँदैन । तर, उहाँहरुले के भविष्यवाणी गर्नुभएको थियो भने दुई–तीन दिनमै भैसक्छ । तर, भएन । बरु उल्टै हाम्रो असहमतिका बावजुद ओली पक्षले स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाएर निर्णयहरुसमेत गरेको छ ।

तपाईहरुले बैठक रोक्न ओली पक्षलाई गरेको आग्रहको सुनुवाइ भएन । उनीहरुले बैठक नरोकेपछि तपाईहरुले पनि समानान्तर गतिविधि अघि बढाउन देशभर आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ । यस्तो अवस्थामा अझै पनि एकता हुन्छ कि भन्नु त समय बर्बाद पार्नुमात्रै होइन र ?

ठिकै हो तपाईले भनेको । किनभने, वार्ताकार साथीहरुले जे भन्नुभएको थियो, त्योअनुसार परिणाम आएन । त्यो नभैसकेपछि तपाईले भनेजस्तै केही अन्योल, केही निराशा बढेर गएको पनि साँचो हो । धेरै साथीहरुको अहिले पनि भनाइ के गर्ने हो, छिटो गर्नुपर्यो भन्ने नै छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले अपमानित भएर एकता हुँदैन भन्नुभएको छ । अध्यक्ष ओलीले समान हैसियत दिन सकिँदैन भनेको सुनिन्छ । तपाईहरुले अघि सारेको समान हैसियतको बटमलाइनमा कुरा नमिलेको हो ?

पहिलो कुरा, एकताको बटमलाइन भनेको विचार सिद्धान्तको कुरा नै हो । हाम्रो पार्टीको नवौं महाधिवेशनले जे नीति पास गरेको थियो, जुन कार्यदिशा पास गरेको थियो, जुन विधान पास गरेको थियो, त्यसअनुसार पार्टी चलाइएन भन्ने हाम्रो पहिलो असहमति हो । त्यसअनुसार नै पार्टी चलाउनुपर्छ र अघि बढ्नुपर्छ भन्ने हो । त्यसका लागि जेठ २ मा फर्केर त्यसबेलाको संरचना क्रियाशिल गर्नुपर्छ भनेका हौं । त्यो भन्नुको कारण के हो त भन्दा हामीले अहिले अँगालेको नीति, विचार सिद्धान्त, विधि महाधिवेशनले आधिकारिक ढंगले पारित गरेको नीति भन्दा बाहिर जानुहुँदैन, जसले पार्टीमा अनुशासन कायम हुन्छ भन्ने हो ।

दोस्रो, पार्टी संरचनाको कुरा छ । एमाले र माओवादीबीच एकता भएपछिका संरचना त एमालेका संरचना होइनन् । नेकपा बनाउँदा एमालेका संरचना भत्काइएको छ । त्यसो भएकाले संरचनागतरुपमा पनि पूर्ववत् अवस्थामा फर्कनुपर्छ र त्यसबाट अघि बढ्नुपर्छ भनिएको हो । ठीक छ, नयाँ परिस्थितिअनुसार नयाँ निर्णय गरेर अघि बढ्न सकिन्छ । तर, त्यो नयाँ निर्णय पुरानै संरचनाले गर्नुपर्यो भन्ने कुरामात्रै हो ।

तेस्रो, नयाँ परिस्थितिमा पार्टी कसरी चलाउने त ? हिजोकै जसरी पार्टी चलाएर हुन्छ त ? हुँदैन । हिजो त व्यवहारमा धेरै समस्याहरु आइलागे । ती समस्याहरूको समाधान गर्ने उपाय के हो त ? यो सवाल छ । नेतृत्वको सवालमा पनि नवौं महाधिवेसनले चयन गरेको नेतृत्व ५ वर्षका लागि न हो । त्यसको त म्याद गइसक्यो । म्याद नाघेको नेतृत्व कसरी चल्छ त ? त्यसमा पनि छलफल गर्नुपर्छ र एउटा सहमति जनाउनुपर्छ भनेको हो । यसमा हामीले कुनै खास पद खोजेको भन्ने होइन ।

यसको अर्थ अध्यक्ष केपी ओलीले पद छोड्नुपर्छ भन्ने हो ?

यसबारेमा कसरी अघि जाने भन्ने विषयमा सहमति गरौं भन्ने हो । पहिलो कुरा, विचार सिद्धान्तमा कसरी जाने ? दोस्रो कुरा, संरचनागत कसरी जाने ? र, तेस्रो कुरा अबको पार्टी सञ्चालन कसरी गर्ने भन्ने नै हो । यो गर्ने सन्र्दभमा नेतृत्वको जिम्मेवारीको कुरा स्वभाविकरुपमा आउँछ । त्यसमा कसले के जिम्मेवारी लिएर जाने भन्ने कुरा त आइहाल्छ । हिजोको जसरी पार्टी चलाएर हुँदैन, साझा धारणा बनाएर अघि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।

त्यसरी कुरा गर्ने क्रममा उहाँहरु (ओेली पक्ष)बाट आएको कुरा के हो भने त्यसो भए नेतृत्वमा पनि यसरी मिलाएर जाऔं, दुईजना अध्यक्ष राखौं । नेकपा हुँदा यो प्राक्टिस गरेकै हो । यसरी अधिकार पनि बाँडफाँट गरौं र अरु कुरा मिलाउँ भन्ने कुरा प्रस्तावका रुपमा कार्यदलका साथीहरुले ल्याएका हुन् । तर, व्यवहारमा त्यो देखिएन, जसले थप समस्या उत्पन्न गरेको हो ।

जहाँसम्म १० बुँदेको कुरा छ, १० बुँदेले जे–जे प्रश्न उठेका छन्, त्यसको समाधान दिने काम गरेन । जस्तो– विचार सिद्धान्तका बारेमा के हो ? प्रष्टसँग हामी नवौं महाधिवेशनले तय गरेको नीति, सिद्धान्त, कार्यक्रम र विधि विधान बोकेर हिँड्छौँ भन्ने कुरा १० बुँदेमा जति प्रष्टसँग आउनुपर्ने थियो, त्यो आएन ।

दोस्रो कुरा, संरचनागत हिसावले हेर्दा पनि जेठ २ मा फर्कने त भनियो, तर जेठ २ मा मा मनोनित गरेकासहित र माओवादीबाट आउनुभएका साथीहरुको संरचनासहितलाई कायम राखेर त्यसैलाई जेठ २ भन्न खोजियो । जुन कुरा तथ्यसंगत छैन ।

त्यसैगरी अब पार्टी सञ्चालन कसरी गर्ने भन्ने कुरामा पनि १० बुँदे मौन रह्यो । त्यसैले हामीले जब नेकपा भंग गर्ने अदालतले फागुन २३ मा फैसला गर्यो त्यो फैसलापछि एमालेका नाममा दुवै पक्षबाट भएका सबै निर्णय खारेज गरौँ भनेको हो । किनभने ती निर्णयहरु एमालेको संरचनाबाट भएका होइनन् ।

एमालेको एउटा पक्षले अझै पनि प्रतिनिधि सभा विघटन सही थियो भनेर दाबी गर्न छाडेको छैन । अर्को पक्ष त्यो असंवैधानिक हो भनिरहेको छ । यसले त एमाले के हो भन्ने नै छुट्टिएन नि ?

संक्रमणकालमा यस्तो हुनु स्वभाविक हो । एकता कि विभाजन भनेर सोधिने प्रश्नको जवाफ त यस्तो बेला कसरी दिने ? एक प्रश्नबाट अर्को प्रश्न जन्मिन्छ । जवाफ पनि त्यही किसिमले आउने कुरा हो । त्यसकारण हामी एकता कायम गर्छौं कि त्यो गर्न नसकेर अलग–अलग हुन्छौं भन्ने नै अहिलेको प्रमुख विषय हो । त्यसका लागि जे बटमलाइन छन्, तिनमा बसेर छलफल नै भएन ।

यहीबेला तपाईहरुको समूहका दुईजना नेता भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्ली पुग्नुभयो । यो दिल्ली दौडाहाको रहस्य के हो त ?

यो कुरा मलाई थाहा भएन । तपाईले रहस्य भन्नुभयो, मैले पनि रहस्यमय नै देखेको छु । उहाँहरु गएको भन्ने कुरा मिडियामा आएपछि नै थाहा भएको हो । हाम्रो नेता झलनाथ खनाल उपचारमा दिल्लीमा हुनुहुन्छ, यहाँ माधव नेपालले नेतृत्व गरिरहनुभएको छ । यता हुँदा उहाँहरुलाई वार्ता गर्न पनि माधवले नै खटाउनुभएको थियो । तर, त्यसो गरिरहेका साथीहरु अहिले माधवजीलाई नै जानकारी नदिइकन दिल्ली जानुभएको छ । उहाँ गएर जेएन कमरेडसँग भेटेर कुराकानी भएको भन्ने कुरा आएको छ । उहाँहरुका अन्य भेटघाट छन् या छैनन, त्यो थाहा भएन । त्यसकारण तपाईले रहस्यमय भन्नुभयो, मलाई पनि त्यो विषय रहस्यमय नै लागेको छ ।

पार्टीको कुरा छाडौँ, माधव नेपाल समूह देउवा नेतृत्वको गठबन्धन सरकारमा जान खुट्टो उचालेर बसेको हो ?

होइन । हाम्रो समूहले सरकारमा जान खुट्टा उचालेको छैन । दोस्रो, हाम्रो कुरालाई हामीले नै बुझाउन सकेनौँ या बुझिएन, त्यो एउटा समस्या देखियो । किनभने हामीले शेरबहादुर देउवालाई मत हालेको सरकारमा जान हो भनेर जसरी प्रचार गरिएको छ, त्यो यथार्थ होइन । यथार्थ के हो भने हामीले शेरबहादुर देउवालाई मत दिएको वा उहाँलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको प्रतिनिधि सभा बचाउनका लागि हो । प्रतिनिधि सभा बचाउन चाहेको संविधान बचाउनलाई हो । संविधान बचाउन चाहेको लोकतन्त्र बचाउन र राष्ट्रलाई बलियो बनाउन हो ।

सत्ता गठबन्धनका नेताहरु माधव नेपाल समुहलाई कुरेकाले मन्त्रिमण्डल गठनमा ढिलाइ हुनपुग्यो भनिरहेका छन् । यदि तपाईहरु सरकारमा नजाने हो भने किन प्रष्ट नभनेको त ?

कति भोल्युमको आवाजमा भन्दा प्रस्ट हुन्छ, थाहा भएन । सार्वजनिक रुपमा शनिबार मात्रै माधव नेपालले अहिले सरकारमा जाने कुरा हाम्रो छैन भन्नुभएको छ ।

अहिले नजाने अनि फेरि दुईचार दिनमा चाहिँ जाने हो ?

भविष्यको कुरा त कसरी गर्न सकिन्छ र ? अहिले त हामी पार्टी एकताको प्रक्रियामा छौं । यदि पार्टी एकता हुन सकेन, फरक ढंगले गयौँ भने सम्पूर्ण राजनीतिमा हाम्रो फरक भुमिका हुन्छ । अहिले नै भविष्यमा के हुन्छ भन्न सकिँदैन । हाम्रो मुद्दा सरकारमा जाने भन्ने हुँदै होइन । अहिले पनि हाम्रो मुद्दा प्रतिनिधि सभालाई पूर्ण कार्यकाल बचाएर लैजाने भन्नेबाट हामी पछि हटेका छैनौ ।

फेरि पनि प्रतिनिधि सभा विघटन हुने खतरा देख्नुभएको छ र ?

छ । त्यो खतरा अझै छ ।

कसरी ?

यसको व्याख्या गर्नुपर्ने अवस्था आयो भने गरौंला । तर, अहिले यति बुझ्नुस् खतरा टरिसकेको छैन । त्यसका निम्ति विभिन्न गतिविधि भइरहेका छन् । किनभने तपाईले यसअघि प्रतिनिधि सभा विघटन गर्लान् प्रधानमन्त्रीले भनेर सोच्नुभएको थियो ? जतिबेला संविधान बनाइयो, त्यतिबेला नै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार दिनुहुन्न भनेर त्यत्रो बहस गर्दै संविधानमा व्यवस्था गरेको होइन ? संविधानको विशिष्ठता भनेर व्याख्या गरेको अवस्थामा प्रधानमन्त्रीले यसरी विघटन गर्लान् भनेर कसैले पनि कल्पना गरेको थिएन । तर, भयो । अदालतले यो कदम असंवैधानिक छ भन्दिसकेपछि पनि फेरि दोस्रोचोटि विघटन होला भनेर कसैले पनि सोचेको थियो ? सोचेको थिएन ।

तपाईले सरकारमा जाँदैनौं भन्नुभयो । तर, तपाईको समुहका नेता माधवकुमार नेपालले केही साथीहरु मन्त्री हुनलाई दाम्लो नै चुँडाएर जान खोजेका छन् भन्नुभएको थियो, त्यसरी दाम्लो चुँडाउन खोज्ने को रहेछन् ?

त्यो मलाई जानकारी छैन । माधवजीले कुन प्रशंगमा भनेको हो त्यो मैले बुझेको छैन ।

त्यसो हो भने एमालेको माधव समूह तत्काल सरकारमा पनि जाँदैन र सत्ता गठबन्धनमा पनि छैन भनेर बुझ्दा सहि हुन्छ ?

यो विषयमा मैले अघि पनि राख्ने कोशिस गरेको थिएँ, अलि प्रष्ट भएन कि जस्तो लाग्यो । पहिलो कुरा हाम्रो समुह सरकारमा तत्काल जाँदैन । यो प्रष्ट हो । दोस्रो– गठबन्धनको प्रश्न छ ।  प्रतिनिधि सभा बचाउनका लागि हामीले गरेको सहकार्यको सम्बन्धलाई तोड्दैनौं । चाहे हामी पार्टी एकतामा बसौँ या अलग हौं, दुवै अवस्थामा हामी तोड्दैनौँ । किनभने यो संविधानलाई र लोकतन्त्रलाई बचाउने हाम्रो साझा दायित्व हो । हामी सबैले लडेर ल्याएको व्यवस्था जोगाउने सवालमा हाम्रो सहकार्य भइरहन्छ । बरु सहकार्यका रुपहरु बदलिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप