बेलायतमा कोरोना संक्रमण दर उच्च

बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च रहेको छ । यहाँ एक साताभित्र दुई लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।
अघिल्लो दिन पनि संक्रमित संख्या ३४ हजारभन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३ प्रतिशतले वृद्धि भएको हो ।
यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १५० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ९०४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार ५२५ पुगेको छ । तर, कोभिडका कारण मृत्यु दर्ता गरिएको प्रमाणको आधारमा भने मृतक संख्या एक लाख ६० हजार नाघेको छ ।
गएको एक सातामा कोरोना संक्रमणका कारण पाँच हजार १७३ जना अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको संख्या भने अघिल्लो साताको तुलनामा १४.६ प्रतिशतले ह्रास आएको छ । पछिल्लो २४ घन्टामा ६५९ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ९७६ रहेको छ । यस्तै ८२६ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ३६ लाख ३० हजार ८५९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ८७ लाख ९७ हजार ५७९ जना अर्थात ८९.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ४८ लाख ३३ हजार २८० जना अर्थात ८२.५ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
-
एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !
-
सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु
-
थाइल्यान्डका असादालाई हराउँदै नेपालका मिलन च्याम्पियन