अर्को गौर घटनाको योजना बनिरहेको सिके राउतको आरोप
सिके राउत नेतृत्वको जनमत पार्टीले आफूहरुको आन्दोलनमा जनता समाजवादी पार्टी नेपालले घुसपैठ गरी गौर-टीकापुरजस्तै घटना गराउने योजना बनाएको आरोप लगाएको छ । जसपा नेपालका धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नविन यादवलाई त्यसको लागि खटाइएको अडियो प्रमाण आफूहरुसँग रहेको समेत सिके राउतको सचिवालयले जनाएको छ । उक्त अडियो टेप प्रमाणको रुपमा प्रहरीलाई बुझाइएको पार्टीका नेता दीपक साहले बताए ।
जनमत पार्टीको आधिकारिक फेसबुकमा लेखिएको छ, ‘२०७८ कात्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकबाट आधिकारिक रूपमा नै निर्णय गरिएको छ, सीके राउतको कार्यक्रममा जसपाले आफ्नो २०–२५ लठैतलाई पठाउने र प्रहरीमाथि ढुंगामुढा तथा भयावह आक्रमण गर्ने । गौर-टीकापुर जस्तै घटना घटाउने, दोष जनमत पार्टीलाई लगाउने ।’ सिके राउतको सचिवालयले यस घटनामा प्रदेश २ मुख्यमन्त्री कार्यालय र स्वकीय सचिवको पनि संलग्नता रहेको आरोप लगाएको छ ।
जनकपुरमा कर्मचारीमाथि गरेको व्यवहारलाई भने सो पार्टीले ‘जनताले गरेको कारवाही’ भनेको छ । यसमा कुनै पार्टी वा व्यवसायी विशेषविरूद्ध नरहेको दावी समेत सचिवालयले गरेको छ । बिहीबार जनकपुरस्थित खानेपानी डिभिजन कार्यालयका कार्यालय प्रमुख जागेश्वर कुशवाहामाथि गरेको कारवाहीमा आम जनतालगायत अन्य पार्टीहरूको पनि संलग्नता रहेको दावी सचिवालयले गरेको छ । तर जसपा र त्यसका भातृसंगठनहरूले भने लगातार जनमत पार्टीको सचिवालय र कार्यक्रमहरूमा आक्रमण गर्दै आएको आरोप जनमत पार्टीले लगाएको छ ।
यता, जसपा धनुषाका अध्यक्ष पशुपति यादवले भने जनमत पार्टीले लगाएको आरोपलाई निराधार भनेका छन् । अध्यक्ष यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘कर्मचारी तथा जनप्रतिनिधिमाथि जुन गुण्डा शैलीमा आक्रमण गर्ने काम सिके राउतको पार्टीले गर्ने गरेको छ, त्यो आपत्तिजनक हो । यसको हामीले विरोध गरेका हौं ।’
अध्यक्ष यादवले जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहमाथि पनि सिके राउतका कार्यकर्ताहरूले जनकारवाही गर्ने योजना बनाइरहेको सूचना प्रहरीमार्फत आफूसमक्ष आएको दाबी गरे । ‘यदि त्यस्तो भयो भने त्यसको जवाफ आफ्नो पार्टीले पनि दिने भनेको हो तर घुसपैठ गरेर प्रहरीमाथि आक्रमण गर्ने वा गौर घटना गराउने जस्ता कुरा निराधार हो’ उनले भने ।
‘यदि कसैले भ्रष्टाचार गरेको छ भने त्यसलाई कारवाही गर्ने अरु तरिका छ, त्यसका लागि छुट्टै निकायहरु छन्, एउटा राजनीतिक दल भएर भूमिगत पार्टीको जस्तो जनकारवाही गर्ने भन्नु लोकतन्त्रमा कहाँसम्मको जायज कुरा हो ?’ अध्यक्ष यादवले प्रश्न गरे । उनले सिके राउतले आफुहरुमाथि लगाएको आरोप निराधार र कपोकल्पित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण