बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन : माधव नेपाल

बिहीबार, ११ कात्तिक २०७८, १३ : १९
बिहीबार, ११ कात्तिक २०७८

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् । बिहीवार पार्टी कामको शिलशिलामा धनगढीमा पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धनका दलहरुबीच कुनै छलफल नभएको बताएका हुन् ।

उनले आफु निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरु पनि व्यस्त रहेका कारण पाँच दलको बैठक समेत बस्न नसकेको उल्लेख गरे । उनले भने– ‘हामीले त छलफल नै गरेका छैनौँ त्यसबारेमा हामीले । महाअभियोग बारेमा केही प्रवेश नै गरेको छैन । छलफल नै भएको छैन । केही भएको छैन । म त बाहिरको बाहिर नै छु । अहिले हाम्रो पाँच दलको बैठक नै बस्न सकेको छैन ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गर्दै आएको आरोप लगाए । ओलीले रिस साँध्नका लागि सबै न्यायाधीसहरुलाई हटाउनुपर्छ भन्ने कुरा उठाएको उनले बताए । ओलीको हस्तक्षेपकारी भुमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उनको भनाई छ ।

ओलीले नै सबैथोक बिगारेको बताउँदै उनले भने– ‘केपी ओलीजीले साराथोक बिगार्नुभएको हो । र उहाँले न्यायपालिकामाथि अनावश्यक रुपमा लाञ्छना लगाउने काम गर्दै आउनुभयो । न्यायपालिकालाई स्वतन्त्र ढंगले भूमिका निर्वाह गर्न दिनुपर्ने कुरामा उनले आफ्नो रिस साध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्ने उनले जुन ढंगले भूमिका खेलिरहनुभएको छ, उनको अत्यन्तै अनुचित, हस्तक्षेपकारी र देशको सबै सिस्टमलाई भत्काउने यो प्रवृतिकै उपज हो । त्यसैले यो देशलाई अब स्वतन्त्र न्यायपालिकाको मामिलामा हस्तक्षेप गर्ने होइन, ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरूमाथि उहाँले हटाउनुपर्छ भन्ने कुरा उठाउनुभएको छ यो अत्यन्तै नाजायज, अनुचित कुरा हो ।’

अध्यक्ष नेपालले एकीकृत समाजवादीले चुनावमा अरु पार्टीसँग गठबन्धन गर्ने पनि बताए । वर्तमान गठबन्धन पनि चुनावसम्मै जाने उनले बताए । अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श शुरु गर्ने पनि उनले उल्लेख गरे ।

उनले भने– ‘हामी यस पटकको चुनावमा अरु पार्टी सँग पनि गठबन्धन गर्नेछौँ । चुनावी गठबन्धन हुनेछ । हाम्रो पार्टी अरु कुनै पार्टीसँग पार्टी एकता गर्ने छैनौँ । र हामी चुनावको बेलामात्र अरु पार्टीसँग सहकार्य गर्नेछौँ । चुनावी गठबन्धन गर्नेछौँ । जुन हाम्रो संयुक्त सरकार बनिरहेको छ, यो सरकारले चुनावको समयसम्म पनि सहकार्य गर्दै जाने धारणा बनाएको छ । हामी अरु पार्टी सँग पनि तालमेल मिलाउनका लागि को कोसँग कति मात्रामा सम्भव हुन सक्दछ, छलफल परामर्श शुरु गर्नेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप