सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले मुलुकमा सहज स्थिति देखिएको छैन : रामचन्द्र पौडेल

आइतबार, १४ कात्तिक २०७८, २० : २७
आइतबार, १४ कात्तिक २०७८

सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकमा असहज स्थिति देखिएको बताएका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले, ‘मैले अहिले देशमा सहज स्थिति देखेको छैन । संसद राम्रोसँग चल्न सकेन । लोकतान्त्रिक संस्थाहरु एक–एक गरेर कमजोर भइरहेको देखिएको छ । एकातिर अदालतको त्यो अवस्था छ । त्यसैले अहिलेको परिस्थितिलाई मैले सहज रुपमा हेरिरहेको छैन ।’

सबैभन्दा अन्तिम आश्रयस्थलका रुपमा रहेको सर्वोच्च अदालतमा गम्भीर विवाद चलिरहेको पौडेलको भनाइ छ ।   ‘हाम्रा लागि अदालत सबैभन्दा अन्तिम आश्रयस्थल हो। तर त्यहीँ अहिले गम्भीर विवाद चलिरहेको छ। नेपाल बार एशोसिएसनले धर्ना  र विरोध गरिहेको छ । न्यायाधीश इजालसमा बसिराख्नुभएको छैन । त्यसैले मुद्दाको सुनुवाइ भइरहेको छैन,’ उनले भने । 

अदालतको समस्या समाधानका लागि अब निर्णय लिने बेला भइसकेको पौडेलले बताए ।  ‘अब अदालतको अवस्थामा दलहरुले के गर्ने ? यसबारेमा गठबन्धन र बाहिर पनि छलफल गर्नुपर्ने अवस्था आएको छ । गठबन्धनमा होस् वा संसदमा होस् । अदालतको यही स्थिति लम्बियो भने बसेर निर्णय गर्नुपर्छ,’ उनले भने,  ‘मैले हाम्रो सभापतिलाई पनि भनिसकेको छु, अहिले सबैले सोच्ने कुरा हो । सरकारसँगै प्रतिपक्षले पनि सोच्ने कुरा हो ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै चार न्यायाधीशमाथि पनि कारबाही हुनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको माग गलत भएको पौडेलले बताए  ।  ‘अहिले केपी ओलीजीले ४ जना न्यायाधीशमाथि कारबाही गर्नुपर्छ भनेर बिल्कूल गलत कुरा भनिरहेका छन् । जोमाथि प्रश्न उठेको छ त्यसमा कुरा गर्ने हो । अरुमाथि प्रश्न किन ?,’ पौडेलको प्रश्न छ ।

ओलीले हिजो अदालतमा सेटिङ गरेको भन्दै अहिले त्यो देखिन थालेको उनले बताए । पौडेलले भने,  ‘केपी ओलीले हिजो अदालतमा सेटिङ गरेका थिए । त्यसको गम्भीर संकट र जटिल अवस्था अहिले देखिएको छ ।’
यस्तै पौडेलले संसदले पूरा कार्यकाल बिताउने भन्दै अहिले अर्ली इलेक्सनको सम्भावना रहेको बताए । साथै उनले आगामी निर्वाचनमा काँग्रेसले एक्लै चुनाव लड्ने पनि बताए । 

पौडेलले भने, ‘हाम्रो पार्टी एक्लै चुनाव लड्ने पार्टी हो । हामी आफ्नो शक्तिमा विश्वास गर्छौ । चुनावका बेला हामीले को–कोलाई साथमा लिन्छौं, को-कोले हामीलाई साथ दिन्छन् त्यतिखेरकोे कुरा अहिले भन्न सकिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप