बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक परिवर्तनको नेतृत्व गर्ने आँट प्रचण्डले गर्नुभएको हो : जनार्दन शर्मा

शनिबार, ०४ मङ्सिर २०७८, १३ : १६
शनिबार, ०४ मङ्सिर २०७८

अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दावी गरेका छन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताएका हुन् । 

नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्याईलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले त्यसो गर्दामात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने बताए । नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चारमाध्यामहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए । 

उनले भने, ‘सत्य के हो ? त्यसलाई स्थापित गर्नुस् । जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ कुन–कुन पात्र आइपुग्छन्, त्यतातिर नहेर्नुस् । त्यसकारण सत्य कुरा स्थापित गर्न लाग्नुभयो भने त्यो जनताप्रति न्याय हुन्छ, राष्ट्रप्रति न्याय हुन्छ । त्यो परिवर्तनको रक्षाका लागि एउटा अभियान बन्दछ ।’

उनले थप भने, ‘नेपाली राजनीति, नेपाली राजनीतिको पछिल्लो विकासक्रम हामी दुई दशक, तीन दशकयता आइपुग्दाखेरी परिवर्तनको एउटा ठूलो आन्दोलन जनयुद्ध, जनआन्दोलनको एउटा प्रक्रियाबाट हामी नेपाललाई सामन्तवादबाट मुक्त गर्दै समावेशी लोकतन्त्र, परम्परागत लोकतन्त्र होइन् । परम्परागत लोकतन्त्र होइन, यो । यो अझ सुदृढ प्रजातन्त्र हो । समावेशी लोकतन्त्र हो । यो समावेशी लोकतन्त्रसम्म ल्याई पुर्याउनका लागि के–के सत्य हुन् ? यो विचार कसले पैदा गर्यो, यो अभियान कसले थालनी ग¥यो ? यो आँट कसले ग¥यो ? भन्ने कुरा स्वतः स्पष्ट छ ।’

उनले परिवर्तनको नेतृत्व नेकपा माओवादीले गरेको बताउँदै भने, ‘त्यो कुरालाई स्थापित गर्नु, त्यो कुरालाई जनतासम्म लैजानु आज आवश्यक छ । नेकपा (माओवादी)ले गरेको यो हो आँट । नेकपा माओवादी नेतृत्वले गरेको हो, यो आँट । अध्यक्ष प्रचण्डले गर्नु भएको हो, यसको नेतृत्व । यो तथ्य हो । यो कुनै बनावटी कुरा होइन । कसैको प्रशंसाको कुरा होइन । यो माओवादीको मात्रै कुरा होइन, परिवर्तनको कुरा हो । यो तथ्यलाई स्थापित गर्नुस् ।’

अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप