बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
कांग्रेस विवाद

बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?

बुधबार, ०६ साउन २०८३, ०७ : ४५
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा पार्टीभित्र विभाजनको रेखा कोरिने गरी फरक–फरक कार्यक्रम भइरहेका छन् ।
  • संस्थापन पक्षले जलवायु परिवर्तन र पार्टीको नवीन अभियान घोषणासहितको कार्यक्रम गर्दैछ भने निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले संयुक्त रूपमा स्मृति सभा आयोजना गरेका छन् ।
  • दुई स्थानमा कार्यक्रम आयोजना भएपछि नेता–कार्यकर्ता संस्थापक नेताको स्मृति दिवस मनाउने दिन पार्टी विभाजन हुने त होइन भन्ने चिन्तामा छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवस हो साउन ६ गते । घाँटीको क्यान्सरका कारण २०३९ साउन ६ गते उनको निधन भएको थियो ।

तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते बीपी नेतृत्वको जननिर्वाचित सरकार अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागु गरेका थिए । त्यसपछि बीपी लामो समय जेल र भारत निर्वासनमा बसे । २०३३ पुस १६ गते उनी देशको सार्वभौमिकता जोगाउन र प्रजातन्त्र पुनर्स्थापनाका लागि भन्दै ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ लिएर स्वदेश फर्किए, जसलाई नेपाली राजनीतिमा ऐतिहासिक कदम मानिन्छ ।

मेलमिलापको नीति अँगाल्ने र राष्ट्रको एकता चाहने आफ्नै पार्टीका संस्थापक नेता बीपीको स्मृति दिवसका दिन कांग्रेसमा भने विभाजनको रेखा कोरिने गरी फरक–फरक कार्यक्रम भइरहेका छन् ।

यसअघि बीपीको निधनकै दिन पारेर प्रत्येक वर्ष साउन ६ गते कांग्रेसको निर्णयानुसार पार्टीका भ्रातृ संस्थाहरूले कार्यक्रम गर्ने गर्दथे । यो पटक भने कांग्रेसका दुई समूहले अलग–अलग कार्यक्रम आयोजना गरेका छन् ।

गत पुसको अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिबिच भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र विवाद चरमोत्कर्षमा पुगेको छ । कांग्रेस नेताहरूकै भनाइलाई आधार मान्ने हो भने दुई पक्षका गतिविधि र क्रियाकलाप फरक–फरक पार्टीका जस्तै भइसकेका छन्, पार्टी विभाजनको घोषणा हुनमात्रै बाँकी छ ।

संस्थापन पक्षले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसँग सम्बन्धित तथा साउन ७ गते पार्टीको नवीन अभियान घोषणासहितको कार्यक्रम गर्दैछ । पार्टी उपसभापति एवं नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् ।

यता निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले संयुक्त रूपमा बुधबार प्रज्ञा प्रतिष्ठानमा ‘संवाद सहमति र एकता–आजको आवश्यकता’ विषयक स्मृति सभा आयोजना गरेको छ । पहिला देउवा समूहले मात्रै घोषणा गरेको कार्यक्रममा नेता डा. कोइराला पनि सहभागी हुने निश्चित भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

देउवा समूहको शुक्रबार बसेको बैठकले कांग्रेसभित्र सहमतिको सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको थियो । त्यही निष्कर्षका आधारमा संस्थापनसँग एकताका लागि सो पक्षले ५ बुँदे सर्त राखेको छ, तर संस्थापन पक्ष त्यो सर्त मान्न तयार छैन ।

दुई स्थानमा कार्यक्रम आयोजना भएपछि नेता–कार्यकर्ता संस्थापक नेताको स्मृति दिवस मनाउने दिन बीपीको मान्यताविपरीत कतै पार्टी दुई टुक्रा हुने दिनमा रूपमा चित्रित हुने त होइन भन्ने चिन्तामा छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति शर्मालाई पत्रकारहरूले बीपी स्मृति दिवसमा दुई पक्षबाट कार्यक्रम आयोजना भएका छन् नि भन्ने प्रश्न सोधे ।

जबाफमा उपसभापति शर्माले भने, ‘बीपी स्मृति दिवसमा कांग्रेसभित्र मात्रै होइन, बाहिर लोकतान्त्रिक आस्था राख्नेहरूले पनि कार्यक्रम गर्न सक्छन् । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।’

इतर समूहका नेता मीन विश्वकर्माले बीपी स्मृति दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘बीपी स्मृति दिवसमा हामी छुट्टै कार्यक्रम गर्छौं, त्यसअघि नै कुनै सहमति भयो भने भयो, होइन भने पछाडि फर्किन मुस्किल हुन्छ ।’

देउवा समूहको शुक्रबार बसेको बैठकले कांग्रेसभित्र सहमतिको सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको थियो । त्यही निष्कर्षका आधारमा संस्थापनसँग एकताका लागि सो पक्षले ५ बुँदे सर्त राखेको छ, तर संस्थापन पक्ष त्यो सर्त मान्न तयार छैन ।

सभापति गगन थापाले आफू विधानबाहिर गएर राखिएका सर्त मान्न नसक्ने सार्वजनिक रूपमै बताइसकेका छन् । उनले १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र सदस्यता डिजिटली अध्यावधिक गर्ने विषयमा सम्झौता गर्न नसक्ने प्रस्ट पारिसकेका छन् ।

मुख्यगरी १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट आएको समितिमा समाहित गर्ने र १५औँ महाधिवेशनका लागि भन्दै गत पुस १० गतेसम्म नवीकरण गरिसकेका क्रियाशील सदस्यलाई ‘डिजिटली अध्यावधिक’ गर्न अनिवार्य गर्ने सर्तमा कुरा मिलेको छैन ।

सभापति गगन थापाले आफू विधानबाहिर गएर राखिएका सर्त मान्न नसक्ने सार्वजनिक रूपमै बताइसकेका छन् । उनले १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र सदस्यता डिजिटली अध्यावधिक गर्ने विषयमा सम्झौता गर्न नसक्ने प्रस्ट पारिसकेका छन् ।

त्यो प्रस्ताव संस्थापन पक्षले नमाने एकताको सम्भावना निकै कमजोर भइसकेको इतर समूहका नेता विश्वकर्मा बताउँछन् । उनले भने, ‘पार्टी एकताको सम्भावना निकै कमजोर बनिसक्यो । हाम्रा प्रस्ताव स्वीकार गरे एकताबद्ध हुन सक्छ, होइन भने परिस्थितिले अर्कै मोड लिन्छ ।’

त्यसकै आधारमा भन्ने हो भने पार्टी विभाजनको रेखा कोरिने दिन कतै बीपी स्मृति दिवसको कार्यक्रम त हुने होइन भन्ने आशङ्कामा नेता–कार्यकर्ता छन् ।

बीपीको राजनीति र साहित्य

बीपी कोइरालाले २००७ सालको राणाविरोधी आन्दोलन र क्रान्तिको राजनीतिक तथा सैन्य नेतृत्व गरेका थिए । उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । २०१६ सालको ऐतिहासिक आम निर्वाचनमा नेपाली कांग्रेसले दुई–तिहाइ बहुमत प्राप्त गरेपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

१८ महिनाको छोटो कार्यकालमा बीपी नेतृत्वको सरकारले बिर्ता उन्मूलन, वनको राष्ट्रियकरण र भूमिसुधार जस्ता लोकप्रिय कार्यहरूको थालनी गरेको थियो । उनी नेतृत्वको सरकारलाई २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेर पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए । यस क्रममा बीपीसहितका नेतालाई जेल हालिएको थियो ।

खासगरी बीपी स्मृति दिवसमा नेपाली साहित्यिक क्षेत्रले पनि हरेक वर्ष कार्यक्रम गर्ने गर्छन् । उनको स्मृतिमा देशभर विभिन्न रचनात्मक र वैचारिक कार्यक्रम आयोजना गरिन्छन् ।

बीपीको राजनीतिक विचार, प्रजातान्त्रिक समाजवाद र राष्ट्रिय मेलमिलापको नीतिबारे यस दिन छलफल तथा बहस आयोजना गरिन्छ ।

बीपी नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वका रूपमा पनि चिनिन्छन् । त्यसैले उनको साहित्यिक योगदानको चर्चा गर्दै काव्य गोष्ठी र विचार विमर्श पनि यो दिनमा आयोजना गरिन्छ । बीपीलाई नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवाद भित्र्याउने अग्रणी स्रष्टाका रूपमा चित्रण गर्ने गरिन्छ ।

बीपीले ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, ‘मोदी आइन्’, ‘बाबु, आमा र छोरा’ तथा ‘आत्मवृत्तान्त’ जस्ता उपन्यास र बहुचर्चित कथा सङ्ग्रहहरू लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप