आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘ओलीले प्यानल बनाए म पनि बनाइहाल्छु, ब्याक हुने कुरै छैन’

एमालेको अध्यक्षमा अगाडि बढिसकेँ, ब्याक हुन्न : भीम रावल
बुधबार, ०८ मङ्सिर २०७८, १७ : २७
बुधबार, ०८ मङ्सिर २०७८

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवनमा हुने महाधिवेशनमा केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष पदमा केपी ओली वा अरु जोसुकै लडे पनि अब आफू ब्याक नहुने रावलको प्रतिवद्धता छ ।

आफ्नो उम्मेदवारी घोषणाको औचित्यबारे रातोपाटीसँग कुराकानी गर्दै रावलले एमालेको अध्यक्ष जितेर पार्टी र देशलाई हाँक्ने दाबीसमेत गरे । कुनै पनि प्यानल नबनाई एक्लै उम्मेदवारी घोषणा गरेका रावलले पार्टीमा प्यानल नबनाउने नीति रहेकाले एक्लै उम्मेदवारी घोषणा गरेको बताए ।

तर, अध्यक्ष ओलीका तर्फबाट प्यानल घोषणा भयो भने आफूले पनि प्यानल बनाउने रावलले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले हाम्रो पार्टीले प्यानल नबनाउने भनेको हुनाले नै तपाईंहरूले मलाई पत्रकार सम्मेलनमा एक्लै देख्नुभएको हो । प्यानल नबनाउने, समूहगत टोली नबनाउने भन्नेछ । उहाँले प्यानल बनाए त म पनि बनाइहाल्छु नि ।’

अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि बीचैमा फिर्ता लिनुहुन्छ कि भन्ने अर्को प्रश्नमा रावलले भने, ‘यति गम्भीर कुराहरू अगाडि सारेर उम्मेदवारी दिन्छु भनेको मान्छेलाई उम्मेदवारी फिर्ता लिन्छ कि भनिदिँदाखेरि अलि हल्का रुपमा लिइयो कि विश्लेषकहरूबाट ? मेरो उम्मेदवारी त्यस्तो हल्का होइन नि ।’

प्रस्तुत छ एमालेको अध्यक्षका दाबेदार रावलसँग रातोपाटीले गरेको कुराकानी–

तपाईंले नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी किन दिनुभएको ?

१२ वटा लक्ष्य तथा उद्देश्य र १५ वटा मान्यताका आधारमा उम्मेदवारी घोषणा गरेको छु ।

हामीले देशको अवस्थालाई एकदम नजिकबाट हेर्‍यौँ भने राजनीतिक दलले राष्ट्रलाई हाँक्नुपर्ने हो, दृढतापूर्वक उभिनुपर्ने हो । तर, राष्ट्रको स्वाधीनता, नेपाली जनताको हक अधिकारको पक्षमा र भष्ट्राचारका विरुद्धमा उभिएर आफ्नो देशको सुरक्षा गरेर जसरी जानुपर्ने हो, त्यसरी राजनीतिक घटनाक्रमहरू गएको देखिँदैन । राजनीतिक दलले त्यो स्तरमा गएर नेतृत्व गरेर जानुपर्ने हुन्छ । तर, हाम्रो पार्टी दुईतिहाइको सरकारबाट हट्यो । त्यसपछि ६ वटा प्रदेश सरकारबाट हट्यो । पार्टी विभाजन भयो ।

आज संसद अनिर्णयको बन्दी छ । न्यायपालिकामा बेथिति छ । कार्यपालिका अस्थिर छ । यस्तो स्थितिलाई परिवर्तन गर्नका लागि एउटा स्पष्ट दृष्टिका साथ म अगाडि बढ्छु । मैले यो पार्टीलाई नेतृत्व दिन्छु । यो पार्टीलाई नेतृत्व दिएर समग्र राष्ट्रिय राजनीतिलाई राष्ट्रको सर्वोपरी हिततर्फ डोहोर्याउँछु भन्ने आत्मविश्वासका साथ उम्मेदवारी घोषणा गरेको हुँ ।

उहाँले पत्रकार सम्मेलनमा मप्रति स्नेह रहन्छ भन्नुभएछ, त्यो ठीकै हो । त्यो जुन शब्द प्रयोग गर्नुभयो, त्यसका लागि उहाँलाई धन्यवाद ।

पार्टीभित्रको कुरा गर्दा हामीले विभिन्न सहमति गर्‍यौँ । त्यसको पनि कार्यान्वयन भएन । विधि, पद्दतिमा बसेर काम गर्ने कुरा अति नै फितलो भयो । अब पार्टी अध्यक्षले हामीमाथि विश्वास गर्नुस्, भरोसा गर्नुस् । तपाईंं ढुक्क हुनुस्, यो पार्टी विभाजन भएको चिन्ता पनि गर्नुस् । मसँग पार्टी चलाउने दृष्टिकोण, कार्यक्रम, नीति दूरदृष्टि सम्पूर्ण कुरा छ, तपाईंं ढुक्क हुनुस् । तपाईंंको वुद्धि विवेकबाट पार्टीले जो भोट प्राप्त गरेको छ, त्यसबाट हामी लाभान्वित भएर अगाडि बढ्छौँ भनेर मैले उहाँलाई आह्वान गरेँ ।

हिजोको स्थायी कमिटी बैठकमा पनि मैले सम्पूर्ण नेताहरूसँग बसेर उम्मेदवारी दिएको छु, यहाँहरूको सद्भाव, समर्थनका लागि अनुरोध गर्छु भनेर मैले त्यहाँ पनि आह्वान गरेँ । यी दृष्टिकोणका साथ मैले १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्षको उम्मेदवारी दिएको हुँ ।

हिजो स्थायी कमिटीको बैठक रोकेर अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग अन्तरक्रिया गर्नुभएको थियो । त्यहाँ उहाँले भीम रावलले मलाई सहयोग गर्नुस् भन्नुभएको छ भन्ने प्रसंग उल्लेख गर्नुभयो । तपाईंंलाई अध्यक्ष ओलीले कस्तो बचन दिनुभएको छ ?

स्थायी कमिटीको बैठकमा उहाँको केही प्रतिक्रिया थिएन । तर, उहाँले पत्रकार सम्मेलनमा मप्रति स्नेह रहन्छ भन्नुभएछ, त्यो ठीकै हो । त्यो जुन शब्द प्रयोग गर्नुभयो, त्यसका लागि उहाँलाई धन्यवाद । जनताको बहुदलीय जनवाद अन्तर्गत, लोकतान्त्रिक प्रणाली अनुसार १० औं राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण मतदान प्रक्रियादेखि लिएर सबै निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष, पारदर्शी किसिमले सम्पन्न हुनुपर्छ, जसले हामी नेपालको लोकतन्त्रलाई अगाडि बढाउने कुरा नमुना बन्न सकौँ ।

महाधिवेशनमा यसअघि सदस्यता र प्रतिनिधि चयनमा जस्तो धाँधली, मनपरी हुनुहुँदैन । जस्तै– कैलालीको निर्वाचन क्षेत्र नम्बर २ को लम्कीचुहामा निर्वाचन नै हुन नदिएर जसरी प्रतिनिधिको घोषणा गरियो, मैले स्थायी कमिटीमा पनि त्यसप्रति आपत्ति जनाएँ । यो सच्याउँ । यसरी पार्टी सदस्य र जनताको विश्वास बढ्दैन । यसले पार्टी एकतालाई नवीन बनाउँदैन भनेर कुरा राखेँ । मेरो त्यो कुराको सुनुवाइ नभएपछि मैले फरक मत दर्ज गरेको छु ।

म त्यसरी डराउदिनँ । मैले आजसम्म जनता र देशको पक्षमा बोल्दा म निर्भीक भएर बोल्छु । यो देशको नागरिक भएर राष्ट्रहितमा कसैले बोल्न पाइँदैन भन्ने कुरा मलाई कहीँ पनि स्वीकार्य छैन ।

यस्तो अनियमित र विधि विपरीतको कुुराहरू गर्नुहुँदैन भनेको छु । यसले पार्टीलाई क्षति पुर्‍याउँछ । यी कुरा पनि सच्याएर पार्टीलाई अहिलेको देशको आवश्यकता सामना गर्न सक्ने गरी अगाडि बढाऊँ । त्यसैले आउने निर्वाचनमा पार्टीलाई विजयी तुल्याउने उद्देश्यका साथ मैले उम्मेदवारी दिएको कुरा पनि भन्दै आएको छु ।

तपाईंंले पार्टी कार्यालयबाट उम्मेदवारी घोषणा गर्न दिइएन भन्नुभएको थियो । भोलि तपाईंंलाई चुनावी प्रक्रियामा पनि स्वच्छ तरिकाले अगाडि जान, प्रतिस्पर्धा गर्न वा भोट माग्न नदिने र सुरक्षाकै खतरा हुने डर छैन ?

म त्यसरी डराउदिनँ । मैले आजसम्म जनता र देशको पक्षमा बोल्दा म निर्भीक भएर बोल्छु । यो देशको नागरिक भएर राष्ट्रहितमा कसैले बोल्न पाइँदैन भन्ने कुरा मलाई कहीँ पनि स्वीकार्य छैन । म देशको संविधान, कानुन, पार्टीका विधान, पद्दति, हित र सिद्धान्तमा दृढ छु ।

तपाईंंले पार्टी कार्यालयको कुरा गर्नुभयो, पार्टी कार्यालयबाट मेरो उम्मेदवारी घोषणा गर्नु उपयुक्त हुन्छ भन्ने थियो । तर, महाधिवेशनको कारणले गर्दा त्यहाँका सबै कक्ष कही पनि खाली छैन भनेपछि मैले बाहिर गएर पत्रकारको बीचमा उम्मेदवारी घोषणा गरेको हुँ । तर, त्यसको अर्थ भोलि निर्वाचनमा तलमाथि, आदि इत्यादि भयो भने पार्टीलाई अकल्पनीय क्षति गर्छ । त्यस्तो मूर्खतापूर्ण काम कसैले नगर्ला भन्ने कुरामा म आशावादी छु ।

मैले धेरै साथीसँग कुरा गरेको थिएँ । अध्यक्षको उम्मेदवारका लागि वर्तमान पार्टी अध्यक्षजीसँग मैले सल्लाह गरिनँ, अन्य धेरै साथीसँग भनेको छु । हामी १० बुँदेमा संलग्न साथीहरूसँग कुरा नहुने कुरै भएन ।

पत्रकार सम्मेलन गरेर सार्वजनिकरुपमै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेपछि के कस्ता प्रतिक्रियाहरू आएका छन् ? कार्यकर्ताले के भनिरहेका छन् ?

 धेरैजस्तो प्रतिक्रिया तपाईंंले ठीक गर्नुभयो, पार्टीभित्रको विधि पद्दति र लोकतन्त्रको रक्षाका लागि तपाईंंको पाइला उपयोगी हुनेछ भन्ने आम प्रतिक्रिया छ । तर, केही साथीहरू माथि नेतृत्वसँग नजिक भएकाहरूले तपाईंंले अहिले उम्मेदवारी नदिएर सहमति खोजेको भए राम्रो हुन्थ्यो, पार्टी फुटेका बेला सहमति गर्दा राम्रो हुन्थ्यो भन्ने पवित्र आकांक्षा पनि पाएको छु ।

कतिपय साथीले सहमतिबाटै अगाडि बढेको भए हुन्थ्यो भनेका रहेछन् । यसभित्र पनि १० बुँदे लागू गर्नुपर्छ भन्ने पक्षधर तपाईंंहरू १० नेताकै बीचमा पनि सल्लाह नगरी अध्यक्षमा किन उम्मेदवारी घोषणा गर्नुभएको ?

त्यस्तो होइन । यो गलत प्रचार हो । मैले धेरै साथीसँग कुरा गरेको थिएँ । अध्यक्षको उम्मेदवारका लागि वर्तमान पार्टी अध्यक्षजीसँग मैले सल्लाह गरिनँ, अन्य धेरै साथीसँग भनेको छु । हामी १० बुँदेमा संलग्न साथीहरूसँग कुरा नहुने कुरै भएन ।

घनश्याम भुसालजीले पनि अध्यक्षमा उम्मेदवारी दिने सम्भावना छ भन्दाभन्दै तपाईंंले कम्तिमा उहाँसँग सल्लाह गरेर अध्यक्षमा उम्मेदवारी दिएको भए के हुन्थ्यो ? कि उहाँसँग पनि सल्लाहमै हो तपाईंंको उम्मेदवारी ?

सबैसँग कुरा गरेको छु । अध्यक्ष पदमा उठ्न कोही पनि ईच्छुक हुनुहुन्नथ्यो । अब वर्तमान अध्यक्ष के गर्नुहुन्थ्यो, मैले सोधिनँ ।

१० बुँदे कार्यदलका सदस्य सुवास नेम्वाङ, शंकर पोखरेलहरूसँग पनि छलफल गर्नुभयो ?

मैले शंकरजीसँग कुरा गरिनँ । तर, पार्टीका महासचिव, संगठन विभाग हेर्ने उपमहासचिव लगायत धेरै साथीहरूसँग कुरा गरेको छु । कुनै पनि साथीहरूले उम्मेदवार बन्नु हुन्न भन्नुभएको छैन ।

मैले यसअघिको स्थायी कमिटी बैठकमा उम्मेदवारी दिने प्रक्रिया के हो, कुरा गर्नुपर्यो भनेको थिएँ । मैले पार्टी अध्यक्षलाई भेटेर अध्यक्ष उठ्छु त भनेको थिइनँ तर के हो त प्रक्रिया ? अब त महाधिवेशन आइसक्यो भनेको थिएँ, आजभन्दा ८–१० दिनअघिको कुरा हो । यसमा उहाँले केही कुरा बोल्नुभएन । त्यसपछि मैले जनताको बहुदलीय जनवादले मार्गप्रशस्त गरेका प्रतिस्पर्धाको राजनीति, लोकतान्त्रिक विधिमा जान्छु भन्ने निर्णय लिएँ ।

नेकपा एमालेको नेतृत्व गरेर समग्र राष्ट्रिय राजनीतिलाई बामपन्थीका बीचमा सहकार्य गर्ने, राष्ट्रिय साझा विषयमा एक भएर जाने, हाम्रो परराष्ट्र नीति, हाम्रो राष्ट्रिय सुरक्षा, जलवायु परिवर्तनका प्रकोपहरू, भ्रष्टाचारविरोधी कामहरू, कोरोना महामारीबाट उत्पन्न आर्थिक कठिनाइमा राष्ट्रको राजनीतिले दिशाबोध नै गरेन । त्यो दिशाबोध गराउन सक्छु भन्ने विश्वासको साथ अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

अध्यक्षमा उम्मेदवारी दिइसकेपछि घनश्याम भुसालसँग छलफल गर्नुभएको छ कि छैन ?

हिजो स्थायी कमिटीमा हाम्रो भेटघाट भयो । त्यसपछि अब छलफल होला । छलफल त भइ नै हाल्छ । सबै साथीहरूसँग छलफल हुन्छ ।

तपाईंं अध्यक्ष, अनि घनश्याम भुसाल महासचिव भएर उठ्ने सम्भावना  छ ?

हैन, उहाँ महत्त्वपूर्ण पदमा अवश्य उठ्नुहुन्छ । अब उहाँ त्यसका लागि तयारी गर्दै हुनुहुन्छ, कुनै न कुनै पदमा उठ्नुहोला ।

तपाईंंहरू बीचमा सहकार्य अथवा प्यानल बन्छ कि बन्दैन ?

अहिले हाम्रो पार्टीले प्यानल नबनाउने भनेको हुनाले नै तपाईंहरूले मलाई पत्रकार सम्मेलनमा एक्लै देख्नुभएको हो । प्यानल नबनाउने, समूहगत टोली नबनाउने भन्ने छ ।

केपी शर्मा ओलीको तर्फबाट पनि प्यानल बन्दैन ?

कसैको पनि बन्दैन । उहाँले प्यानल बनाए त म पनि बनाइहाल्छु नि । उहाँ एउटा अध्यक्ष (उम्मेदवार) हुनुहुहन्छ, म अर्को हुन्छु । तर, प्यानल नबनाउने भन्ने छ ।

म  त पार्टीको अध्यक्षमा उठेर निर्वाचित भएर यो पार्टीलाई नेतृत्व गर्न र यो राष्ट्रलाई नेतृत्व गर्न अवसर दिनुहोस् भनेर अहिले भर्खरै निर्वाचित भएर आउनुभएका प्रतिनिधि कमरेडहरूलाई हार्दिक आह्वान गरिरहेको छु । मेरो त लक्ष्य, उद्देश्य स्पष्ट छ ।

भनेपछि, अध्यक्ष ओलीको टीम भनेर घोषणा भयो भने तपाईं पनि अर्को टीम घोषणा गर्नुहुन्छ ? महासचिव, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष.....।

निसन्देश गर्छु । तर, त्यो नगर्ने भन्ने निर्णय भएको हुनाले हिजोको स्थायी कमिटीको बैठकमा पनि अध्यक्ष स्वयंले हामी यसपटक यस्तो नगर्ने भन्ने कुरा दोहोर्याउनुभएको छ । त्यो भन्दा अगाडि पनि हाम्रो पार्टीबाट त्यहीअनुसारको निर्णय भएको छ ।

तपाईंलाई मानिसहरूले के आशंका गरिराखेका छन् भने भीम रावलले कुनै पनि बेला यो उम्मेदवारी फिर्ता लिन सक्नुहुन्छ । पार्टीको एकतालाई जोगाउन र केपी ओलीलाई सफल पार्न मैले उम्मेदवारी फिर्ता लिँए भनेर तपाईंले घोषणा गर्ने सम्भावना छ छि छैन ? अथवा, तपाईंलाई सोधौं– कस्तो अवस्थामा तपाईंको उम्मदेवारी फिर्ता हुन्छ ?

मलाई जुन विश्लेषक साथीहरूले यस्तो सोच्नुभएको छ नि, मैले पत्रकार सम्मेलनमा जुन १२ वटा लक्ष–उद्देश्य र १५ वटा मान्यताहरू अगाडि सारें, त्यसलाई उहाँहरूले अलि गम्भीररुपमा लिनुभएन जस्तो लाग्यो । त्यो मैले अगाडि सारेबाट हाम्रो अन्तरराष्ट्रिय, राष्ट्रिय परिवेश, हाम्रो परराष्ट्र नीतिमा आएका विचलनहरू, राजनीतिमा देखिएका विचलनहरू, पार्टी फुटका  श्रृंखलाहरू, बाह्य हस्तक्षेपका आयाम, मैले सम्पूर्ण कुरा अगाडि सारेको छु ।

त्यति गम्भीर रुपमा कुराहरू अगाडि सारेर मैले यस सन्दर्भमा उम्मदेवारी दिन्छु भनेको मान्छेलाई उम्मेदवारी फिर्ता लिन्छ कि भनिदिँदाखेरि अलि हल्का रुपमा लिइयो कि विश्लेषकहरूबाट भन्ने मलाई लागिराखेको छ । मेरो उम्मेदवारी त्यस्तो हल्का होइन नि ।

तपाईंले उम्मेदवारी फिर्ता लिने कुनै ‘कन्डिसन’ छ ?

हैन, म  त पार्टीको अध्यक्षमा उठेर निर्वाचित भएर यो पार्टीलाई नेतृत्व गर्न र यो राष्ट्रलाई नेतृत्व गर्न अवसर दिनुहोस् भनेर अहिले भर्खरै निर्वाचित भएर आउनुभएका प्रतिनिधि कमरेडहरूलाई हार्दिक आह्वान गरिरहेको छु । मेरो त लक्ष्य, उद्देश्य स्पष्ट छ ।

तपाईं अध्यक्षमा जित्नकै लागि उठ्नुभएको हो त ?

एकदम । जितेर यो राष्ट्रलाई नेतृत्व दिने । पार्टीमार्फत राष्ट्रिय राजनीतिलाई नै एउटा नयाँ दिशावोध गराउन सक्छु भन्ने विश्वासका साथ म मैदानमा उत्रिएको हो नि । यद्यपि अब प्रतिनिधिहरूले के निर्णय गर्नुहुन्छ, त्यो त उहाँहरूको हातमा छ ।

निर्वाचन लड्नुभन्दा पहिल्यै केपी ओलीसँग मलाई अध्यक्ष छाडिदिनोस् भन्नुहुन्न ?

मैले त बैठकमा भनिसकें यो कुरा । मैले अघि नै भर्खर भनें, हिजोको स्थायी कमिटीको बैठकमा भनेको छु, अब तपाईं भारी बिसाउनोस् कामरेड । अब मेरो मार्गप्रशस्त गर्नोस् । सबैले मप्रति सुभेच्छा व्यक्त गर्नोस्, मैले बैठकमै भनें नि ।

उसोभए, केपी ओली लड्नुभयो भने तपाईंले नछाड्ने ?

कुनै पनि व्यक्ति आउनुभयो भने पनि म अध्यक्षको पदमा मैदानमा आइसकें नि ।

भोलि अध्यक्षमा तीनजना पनि हुन सक्छन् ?

यो त सबैको अधिकार हो नि । अरुको अधिकारको म सम्मान गर्छु ।

मेरो व्यक्तिगत टकराव त हुँदै होइन । यो मेरो राजनीतिक उद्देश्य, लक्ष र गन्तव्यलाई कार्यान्वयन गर्नका लागि मैले चालेको राजनीतिक पाइला हो ।

भनेपछि, यहाँले रातोपाटीको स्टुडियोबाट तपाईंले स्पष्ट पार्दै हुनुहुन्छ कि यो उम्मेदवारी फिर्ता लिनका लागि घोषणा गरिएको होइन....

यस्तो महत्वपूर्ण पदमा सार्वजनिकरुपमा आइरहँदा मेरा समर्थक, सुभेच्छुक, सहृदयी सबैलाई म के हार्दिक आह्वान र अनुरोध गर्न चाहन्छु भने मैले राष्ट्र र जनताका लागि यो पार्टीमार्फत जुन काम गर्न चाहेको छु, पार्टी पङ्ती र पार्टी पङ्ती बाहिरका सबैले बरु मलाई मैले जुन लक्ष, उद्देश्य र मान्यता राखेको छु, त्यसमा कुनै कमी छन् भने त्यहाँ यो यो कमी छन्, यसमा पनि ध्यान दिनू भनेर मलाई सुझाव दिनोस् । र, नेकपा एमालेको अध्यक्ष भएर यो पार्टी र राष्ट्रको नेतृत्व गर्ने अवसरका लागि सबैले साथ, सहयोग, समर्थन र सुभेच्छा दिनोस् । अरु कुरा केही पनि नसोच्नोस् भनेर म हार्दिक आह्वान गर्न चाहन्छु ।

चुनाव कस्तो हुँदोरहेछ भने यो मान्छेले जित्छ कि जस्तो भयो भने अलि धेरै भोट आउँछ, अरुले पनि थप्छन् । तर, जित्ने त ओलीजीले नै हो, प्रतिस्पर्धा मात्रै हो भन्नेखालको भाष्य त छ नि हैन पार्टीभित्र ?

त्यो भाष्यलाई परित्याग गरौं । विगतमा पनि नेकपा एमालेका प्रतिनिधि कामरेडहरूले धेरै महत्वपूर्ण निर्णय गर्नुभएको छ । र, उहाँहरूले धेरै राम्रा राम्रा निर्णयहरू गरेर देशको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । हामीले जसरी जनतामा विश्वास गर्छौं, त्यस्तै पार्टी कार्यकर्तामाथि गरौं । उहाँहरूको विवेकमाथि भरोसा गरौं भन्ने पनि म आग्रह गर्न चाहन्छु ।

तपाईंले अध्यक्षमा जित्छु भन्ने के आधार देख्नुभएको छ ?

मैले अहिलेसम्म झण्डै ५० वर्ष यो पार्टीमा काम गरें । जहाँ जहाँ मैले जिम्मेवारी लिएँ, त्यहाँ पार्टीलाई सफल पारेको छु । यो मेरो पृष्ठभूमि, कार्यकर्ताले गरेको मायाले गर्दा जनताबाट जहिले पनि म चुनाब जितेरै आएको मान्छे हुँ । मेरो स्पष्ट दृष्टिकोण, नेकपा एमालेका कार्यकर्ता पङ्क्तिमा​ रहेको देशभक्ति, विवेक, पार्टीलाई विधि–पद्दतिबाट चलाउने आकांक्षा, यी धेरै महत्वपूर्ण आधारहरू हुन्, यसले नै अध्यक्ष पदमा अगाडि बढ्न मार्गप्रशस्त गर्छ ।

केपी ओलीसँग तपाईंको यो व्यक्तिगत टकराव मात्रै हो कि ? उहाँसँग तपाईंको भिन्नता के हो ?

होइन । मेरो व्यक्तिगत टकराव त हुँदै होइन । यो मेरो राजनीतिक उद्देश्य, लक्ष र गन्तव्यलाई कार्यान्वयन गर्नका लागि मैले चालेको राजनीतिक पाइला हो । यो देशको समग्र स्थितिलाई ध्यानमा राखेर, चिन्तित भएर अब नयाँ नेतृत्वको आवश्यकता पर्यो, यसमा म पनि एउटा उपयुक्त पात्र हुन सक्छु भनेर मैले चालेको पाइला हो । यसमा मेरो कोही पनि व्यक्तिप्रति आग्रह, पूर्वाग्रह, दूराग्रह केही पनि छैन ।  

केपी ओलीले म लड्दिनँ भनेर ईश्वर पोखरेल, शंकर पोखरेल वा सुवास नेम्वाङमध्ये कसैलाई अध्यक्षका रुपमा प्रस्ताव गर्नुभयो भने तपाईं के गर्नुहुन्छ ? ‘ब्याक’ हुनुहुन्न ?

जुनसुकैलाई अगाडि राख्नुभयो भने पनि म त अध्यक्षको उम्मेदवार भइसकेँ नि । अध्यक्षको उम्मेदवार घोषणा गरेर  अहिले म यहाँहरूको स्टुडियोमा उपस्थित छु । यत्रो दर्शक–स्रोताहरू माझ मैले आह्वान गरिराखेको छु । यो राष्ट्रको अस्मितालाई दीर्घकालसम्म चिरस्थायी र बलियो बनाउनका निम्ति अब नयाँ नेतृत्व, नयाँ दिशाका साथ दृढतापूर्वक अगाडि बढ्ने वातावरण बनाउनका लागि म आह्वान गरिराखेको छु ।

अध्यक्ष पदमा सहमतिको सम्भावनाचाहिँ कत्तिको देख्नुहुन्छ ? अध्यक्ष ओलीले नै लड्दिनँ भनेको स्थितिमा मात्र सहमति जुट्ने हो कि ?

त्यो के हुन्छ, कसो हुन्छ, मैले त्यता सोचेको छैन । मैले प्रतिस्पर्धामा जाने कुरा सोचेको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप