बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संस्थापन टीमबाट निधि ‘आउट’, बोलाएनन् देउवाले

बुधबार, २२ मङ्सिर २०७८, १० : ५२
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका विमलेन्द्र निधि संस्थापन टीमबाट औपचारिकरुपमै ‘आउट’ भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो पक्षको प्यानल तय गर्न बोलाएको बैठकमा उपासभापति विमलेन्द्र निधिलाई नबोलाएका हुन् । 

निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेपनि यसअघि देउवाले आफ्नो पक्षको बैठकमा उनलाई बोलाउने गरेका थिए । आजको बैठकमा भने उनलाई निमन्त्रणा गरिएको छैन । ‘मलाई आजको बैठकमा बोलाइएको छैन । म घरमा नै बसिरहेको छु,’ निधिले रातोपाटीसँग भने ।

देउवाले पार्टीको महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् ।  निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन्। आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप