मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नाडामा एकाधिकार तोड्न मेरो उम्मेदवारी : ध्रुव थापा

बुधबार, २२ मङ्सिर २०७८, ११ : २२
बुधबार, २२ मङ्सिर २०७८

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनीसँग अध्यक्षका अर्का दाबेदार व्यवसायी करण चौधरी भिड्दैछन् । अध्यक्षका बलिया दाबेदार मानिएका चौधरी र थापा दुवैले आफू नै विजयी हुने दाबी गर्दैछन् । निकै रस्साकस्सीबीच हुने यसपटकको निर्वाचनमा बाजी कसले मार्छ, त्यो भने मत परिणामसँगै टुङ्गो लाग्नेछ ।  नाडा चुनावका सन्दर्भमा अध्यक्षका प्रत्याशी व्यवसायी ध्रुव थापासँग गरिएको कुराकानी ::

चुनावी दौडधूप निकै चलेको छ है !

दौडधूप नै त नभनौँ, व्यवसायी साथीहरूबीच भेटघाट चलिरहेको छ । चुनावी अभियान अन्तिम चरणमा पुगेको अवस्था छ । अब हामी मङ्सिर २३ गतेको प्रतीक्षामा छौँ ।

नाडाको निर्वाचनलाई लिएर यसपटक धेरैको ध्यानाकर्षण भएको छ । तपाईंंहरू दुई पक्ष प्यानल नै बनाएर चुनावी मैदानमा होमिँदै हुनुहुन्छ । यस्तो बाध्यता कसरी आइलाग्यो ? 

बाध्यता भन्दा पनि परिस्थित बन्यो भन्नुपर्छ । नाडामा पहिलेदेखि नै जुन एकाधिकारको स्थिति बन्यो, अझ भनौँ एकखालको सिन्डिकेट जस्तो देखियो : यसलाई चिर्न पनि हामीले प्रतिस्पर्धा गर्नुपर्ने भयो । आजको दिनसम्म नाडाले सबै व्यवसायीहरूलाई समेटेर जान सकेन । एक पक्षलाई काखी च्याप्ने र अर्को समूहलाई बेवास्ता गर्ने काम भयो । जसले गर्दा वास्तविक व्यवसायी नेतृत्वमा कहिल्यै पनि आउन सकेनन् । यतिसम्म कि, अहिलेसम्म पनि एक समूहले मात्र नाडामा  हालीमुहाली गरिरहेको अवस्था छ । यस्तो प्रवृत्ति चिर्न पनि हामी समावेशी टीम बनाएर चुनावी अभियानमा होमिनुपरेको हो ।

अहिलेसम्मको नेतृत्वले सबै व्यवसायीहरूलाई समेट्न सकेन भन्नुभयो, कारण के हो ? 

नाडामा केही सीमित व्यवसायीहरूको राज भयो । यतिसम्म कि, केही अघिसम्म त सामान्य व्यवसायीहरूलाई नाडाको निर्वाचन प्रक्रिया के हो, कसरी नेतृत्व चुनिन्छ भन्ने समेत थाहा थिएन । निर्वाचन भइसकेपछि एकैपटक अधिवेशनमा मात्र निमन्त्रणा गरिन्थ्यो । व्यवसायीहरूलाई उम्मेदवारी दिने मौका समेत दिइन्थेन । यस्तो गलत गतिविधिबाट नाडालाई मुक्त गर्न आवश्यक थियो र हामीले पहल गर्‍यौँ । 

अहिले त्यस्तो परिस्थिति छैन । हामीले समावेशी तरिकाले सबै क्षेत्र, व्यवसाय र भूगोलबाट प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरेका छौँ । यसले कम्तीमा विशुद्ध अटोमोबाइल व्यवसायीहरूको संस्था (नाडा) लाई व्यवसायीमैत्री र समावेशी बनाउने हाम्रो विश्वास छ । 

चुनाव जित्नेमा विश्वस्त हुन्छ ?

अवश्य । कुनै शंकै छैन ।

तपाईंंले चुनाव जित्ने आधार के हो ?

आम अटो व्यवसायीहरूको साथ, सहयोग र हौसला नै मेरो जितको आधार हो । ६० प्रतिशतभन्दा बढी भोटिङ अधिकार बोक्ने साना तथा मध्यम वर्गका व्यवसायीहरूको सहयोग मलाई छ । म आफैँ सामान्य स्तरबाट व्यवसाय गरेर आएको व्यक्ति हुँ । मलाई सानाभन्दा साना व्यवसायीहरूको दुःख, समस्या र अप्ठेराहरू थाहा छ । कहाँनेर समस्या छ र कसरी समाधान गर्न सकिन्छ भन्नेमा पनि म जानकार छु । यसैले पनि सबै व्यवसायी साथीहरूले मलाई साथ दिनुहुनेछ । 

अर्को कुरा, हामीले ठूलादेखि साना र केन्द्रदेखि मोफसलसम्मका व्यवसायीहरूको समावेशी टीम बनाएका छौँ । जसमा गाडी आयातकर्ताहरूदेखि सामान्य पार्टस्, लुब्रिकेट तथा वर्कशपका व्यवसायीहरू समेत समेटिनुभएको छ । मेरो जितको आधार उहाँहरू नै हुनुहुन्छ ।

त्यसो भए, अहिलेको निर्वाचनलाई ठूला व्यवसायी अर्थात् गाडी आयातकर्ताहरू र साना पार्टस् व्यवसायीहरूबीचको लडाइँ हो भन्न मिल्छ ? 

त्यस्तो होइन । म आफैँ पनि आयातकर्ता हुँ र वितरक, पार्टस् र लुब्रिकेन्टको व्यवसायी पनि । हाम्रो टीममा कतिपय साथीहरू इन्र्पोटर (आयात) व्यवसायबाट हुनुहुन्छ त कतिपय पार्टस्, टायर र लुब्रिकेन्टबाट हुनुहुन्छ । 

उता, करण चौधरीको टीममा पनि ठूला र साना व्यवसायीहरू हुनुहुन्छ । तर, हामीले अझ माथि उठेर समावेशी टीम बनाएका छौँ । हाम्रोमा एकजना मात्र अध्यक्ष होइन, पुरै १८ जना अध्यक्ष हुनुहुन्छ । त्यस्तो वातावरण हामीले बनाएका छौँ । हामीले नाडामा समावेशी प्रतिनिधित्व चाहेका हौँ ।

उसो भए, केन्द्र र मोफसलबीचको लडाई चाहिँ हो ?

यस्तो पनि होइन । केन्द्र र मोफसल भन्ने पनि छैन । हामी सबै व्यवसायीहरू एकै हौँ । जो जहाँको भएपनि नाडाकै पक्षमा व्यवसायीहरूकै पक्षमा लड्ने हो । केही हदसम्म म मोफसलबाटै आएको र अहिले पनि मोफसल र केन्द्र दुवै क्षेत्रमा काम गरिरहेको नाताले यस्तो प्रश्न उठ्नु स्वाभाविक हो । यसलाई केन्द्र र मोफसलबीच भन्दा पनि समावेशी नेतृत्वका लागि उम्मेदवारी हो भनेर बुझ्नुपर्छ ।

तथापि, म आफैँ पश्चिमाञ्चल अटोमोबाल्स् डिलर्स एसोसिएसन (वाडा) को पूर्वअध्यक्ष हुँ । यसले पनि मोफसलका व्यवसायीहरूसँग नजिक हुनु स्वाभाविक हो । तर, मैले केन्द्र र मोफसल भनेर छुट्याएर हेरेको छैन । सबै व्यवसायीहरूलाई समेटेर जानेछु ।

समावेशी त भन्दै हुनुहुन्छ, तर किन आपसी सहमतिमा नै नेतृत्व चयन गर्न सक्नुभएन ? चौधरीलाई विश्वास गर्न नसक्नुभएको हो ?

सहमति भन्ने कुरा एक पक्षले गरेर र गर्छु भनेर मात्र नहुने रहेछ । अर्को पक्ष पनि सहमतिका लागि तयार हुनुपर्‍यो । तर, करण चौधरी सहमतिमा आउन चाहनु भएन र यो परिस्थिति बन्न पुग्यो ।

मैले उहाँलाई अहिले नेतृत्वमा म जान्छु पछि तपाईं जानुहोला भनी अनुरोध गरेको हुँ, तर उहाँले मान्नु नै भएन । उहाँलाई पनि लाग्यो होला : अहिले नै नेतृत्व लिऊँ ।

म आफैँ अटो क्षेत्रमा लागेको दुई दशकभन्दा बढी भइसकेको छ । नाडामा नै थुप्रै कार्यकाल कार्यसमितिमै रहेर बिताइसकेको छु । यस्तो अवस्थामा म कसरी पछि हट्न सक्छु ? त्यसमाथि अहिले नाडाको अवस्था सुधारनिम्ति, सबै व्यवसायीहरूको समावेशी प्रतिनिधित्वका लागि पनि मेरो नेतृत्व अपरिहार्य छ । त्यसैले, मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । 

यदि तपाईंंले निर्वाचन हार्नुभयो भने चौधरीको नेतृत्वलाई स्वीकार्नु हुन्छ ?

किन नस्वीकार्नु, सहर्ष स्वीकार्छु । यसमा मलाई कुनै समस्या हुनेछैन । हामी सबै व्यवसायीहरू हौँ । व्यवसायीहरूकै पक्षमा काम गर्नका लागि नेतृत्वमा जान लागेका हौँ । मैले जितेँ भने म गएर काम गर्छु र चौधरीले जिते उहाँले नेतृत्व गर्नुहुन्छ । समस्या छैन ।

तपाईंको पक्षमा कति मत आउला ? अनुमान गर्नुभएको छ ?

यति नै भन्ने छैन । तर, राम्रो मत ल्याएर चुनाव जित्नेमा म ढुक्क छु ।

अहिले नाडामा केके कमजोरीहरू देख्नुहुन्छ, जुन तपाईंंको नेतृत्वमा सुधार हुनेछ ?

अहिले नाडामा देखिएको प्रमुख समस्यामध्ये पहिलो त व्यक्तिवादी सोच र एकात्मक कार्यप्रणाली नै हो । यही समस्यालाई चिर्न मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । अहिलेसम्म पनि नाडाले सबै व्यवसायीहरूलाई समेट्न सकेको छैन । अर्कातर्फ, व्यवसायी र सरकारबीच आफ्नो दरिलो उपस्थिति देखाउन सकेको छैन । व्यवसायीहरूको हक, हित र मुद्दामा केन्द्रित हुन पनि सकिरहेको छैन । यसैकारण, नाडाको भूमिकामा प्रश्न उठ्दै आएको छ ।

मैले ध्यानाकर्षण गराउने प्रमुख विषय पनि यही हो । यदि मैले नाडाको नेतृत्व सम्हाल्न पाएँ भने, यही कमजोरी अन्त्य गर्ने लक्ष्यसाथ सुधारमा लाग्नेछु । मेरो कार्यकालभर सबैलाई समेटेर, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नाडाको संरचना विस्तार गर्दै व्यवसायीहरूको पक्षमा काम गर्नेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप