आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनमा ट्राफिक जाम : पद्‍मोदय मोडबाट सवारी डाइभर्ट, खुल्लामञ्चमा पार्किङ गरिने

शुक्रबार, २४ मङ्सिर २०७८, ०८ : ३७
शुक्रबार, २४ मङ्सिर २०७८

तपाईं आज दिउँसो जरुरी कामले काठमाडौंको सडकमा निस्कँदै हुनुहुन्छ ? ख्याल गर्नुहोला, भृमुटीमण्डपमा नेपाली काँग्रेसको महाधिवेहन उदघाटनका कारण तपाई सवारी जाममा पर्ने खतरा छ । काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शुक्रवार दिउँसो १ बजे धृकुटी मण्डपमा हुँदैछ ।

महाधिवेशन उद्घाटनका बेला काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने प्रहरीको आकलन छ । तर, नेपाली काँग्रेसले उद्घाटनअघि जुलुस ननिकाल्ने निर्णय गरेको हुनाले सवारी जाम तुलनात्मक रुपमा कम हुने ट्राफिक प्रहरी महाशाखाको दाबी छ ।

तर, दिउँसो महाधिवेशन उद्घाटनको समयमा प्रदर्शनीमार्ग, टुँडीखेल, सुन्धारा, पुतलीसडक र माइतीघरमा सवारी जाम हुने महाशाखाले जनाएको छ । 

महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डपतर्फ जाने सड्कमा ट्राफिक महाशाखाले सवारी–साधन डाइभर्ट गर्ने निर्णय गरेको छ । पद्मोदय मोडबाट पर्यटनबोर्डतिर जाने सवारीलाई विहान १० बजेपछि डाइभर्ट गरेर पुतलीसडकतर्फ पठाउने ट्राफिक महाशाखाका एसपी सञ्जिव शर्माले रातोपाटीलाई बताए । रत्नपार्कबाट आएका गाडी र मोटरसाइकल पनि राष्ट्रिय सभागृहतर्फ छिर्न पाउने छैनन् ।

महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । महाधिवेशनमा जाने गाडी र मोटरसाइकललाई खुल्लामञ्चमा पार्किङ गरिने छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा पार्किङ गर्न अनुमति दिएको एसपी शर्माले बताए । महानगरले खुल्लामञ्चसँगै यसअघि संचालित बसपार्कमा पनि पार्किङ अनुमति दिएको छ ।

पद्मोदय–सभागृह सडक खण्ड बाहेक अन्यत्र सवारी डाइभर्ट गरिएको छैन । भीआईपीका सवारी साधन भृकुटीमण्डपभित्रै पार्किङ गरिने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप