शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा माओवादी केन्द्रको नेतृत्वका लागि तीन जना आकांक्षी

शनिबार, २५ मङ्सिर २०७८, ११ : ११
शनिबार, २५ मङ्सिर २०७८

प्रदेश १ मा नेकपा माओवादी केन्द्रको नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । माओवादी केन्द्रको प्रदेश कमिटी चयनका लागि आज अधिवेशन हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्ने जनाइएको छ ।

प्रदेशको नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष सुरेशकुमार राई (हिमाल), सचिव  हेमराज भण्डारी र प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) आकांक्षी देखिएका छन् । तीनै जनाले नयाँ नेतृत्वमा दाबी गरेका छन् ।

विशेष गरी स्थानीय तहको टिकट वितरणमा प्रदेश समितिको महत्वपूर्ण भूमिका हुने भएकोले प्रदेश कमिटीमा नेतृत्व गर्न नेताहरूको आकांक्षा बढेको हो । उनीहरू पार्टीभित्र आ–आफ्नो पक्षमा लविङ गर्न केन्द्रित छन् ।

माओवादीले एक व्यक्ति एक पदको नीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने भन्दै आएको छ । प्रदेश अध्यक्ष रहेका हिमाल राई उदयपुरबाट संघीय सांसद हुन् । उनी पार्टी अध्यक्ष प्रचण्डका निकट मानिन्छन् ।

त्यसैगरी अर्का आकांक्षी प्रदेश पार्टी सचिव रहेका भण्डारी संविधानसभा सदस्य हुन् । उनी वैचारिक बहसमा पनि खरो देखिने गरेका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेतासमेत रहेका आङ्बो पार्टी संगठनमा युवामाझ निकै लोकप्रिय नेताका रुपमा चिन्छिन् । पार्टी विभाजन हुँदा मोहन वैद्यतिर लागेका उनी रामबहादुर थापा ‘बादल’ निकट मानिन्थे । बादल एमालेमा गए पनि उनी भने माओवादीमै बसेका थिए । आङ्बो केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इञ्चार्जको जिम्मेवारीमा छन् ।

अध्यक्ष प्रचण्ड भने सर्वसम्मतरूपमा प्रदेशको नेतृत्व चुनिनुपर्ने पक्षमा छन् । तर, सहमतिको सम्भावना भने कमजोर देखिएको छ । प्रदेश १ का इन्चार्ज राम कार्कीले सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्छ भनेर दबाब नदिइएको दाबी गरे । उनका अनुसार प्रदेश १ को अधिवेशनमा १४ जिल्लाका १ हजार १५० प्रतिनिधि सहभागी हुनेछन् ।

प्रदेश कमिटीको नेतृत्वका लागि १ अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, एक सचिव, ३ सहसचिव र एक कोषध्यक्षसहित २५९ सदस्य चयन हुनेछन् । त्यसैगरी प्रदेश कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, प्रदेशको जनसंख्याको अनुपातका आधारमा थप दुई प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको सहभागिता सुनिश्चित गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप