शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली राजनीतिमा नयाँ तरंग : कति सम्भव छ पार्टी एकता ?

आइतबार, २६ कात्तिक २०७४, १४ : ३२
आइतबार, २६ कात्तिक २०७४

 काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठनबन्धन हुँदै पार्टी एकता गर्ने दुबै पार्टीका अध्यक्ष र नेताहरुले भनिसकेका छन् ।  दशैंको बेला भएको गठबन्धनको अभ्यासले त्यसवेला सबैलाई आश्चर्यमा पारेको थियो । 

त्यसपछि गठबन्धनबारे बहस र टिकाटिप्पणी लगातार भइरहेका छन् । संविधान लेखनबाट एक भएका राजनीतिक दलहरु पुन संविधान जारीपछि टाढिए पनि दुबै पार्टीले सरकार समेत चलाएका थिए । सरकार चलाउँदा ९ महिनापछि आएको खटपटले माओवादी केन्द्र काँग्रेससंग मिलेर सरकारको नेतृत्व गर्न पुग्यो भने एमाले प्रतिपक्षमा रह्यो । 

एमाले सरकारबाट बाहिरिएपछि सत्तापक्ष र प्रतिपक्षबीच राष्ट्रबादका नाममा जुहारी नै चल्यो । त्यसक्रममा प्रतिपक्ष एमालेले सरकारलाई लम्पसारवादको संज्ञा दियो भने सरकारले एमालेलाई खोक्रो राष्ट्रवादको नारा उचालेको आरोप लगायो । तर, स्थानीय तहको चुनाव सकिएको केहि दिनमै दुबै दल नजिकमात्र भएनन् चुनावी गठनबन्धनको लगनगाँठो नै कसे जसले धेरैलाई आश्चर्यमा पारो भने कांग्रेसको सातो नै गएजस्तो भयो । 

चुनावी गठनबन्धनसंगै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने कुराले नेपाली राजनीतिमा नयाँ तरङ नै ल्यायो । विक्रम सम्बत २०१९ बाट तुलसीलाल र पुष्पलाल बीच बहस सुरु भयो ।  रुसलाई हेर्ने बिषयमा बहस भएपनि पहिलो बिभाजन २०२९ सालमा तेस्रो महाधिवेशनबाट भएको थियो । त्यसपछि जुट्दै फुट्दै यहाँ सम्म आएका नेपालका कम्युनिष्टहरु अहिलेपनि जुट र फुटबाटै गुर्जदै आएका छन् । 

तर, सत्ताको हस्तक्षेप गर्ने  ठूला दुई दलहरु भने पहिलो पटक मिल्दैछन् । गणतन्त्रपछि पहिलो संविधानसभाको निर्वाचनमा सबै भन्दा ठूलो भएको माओवादी केन्द्र  दोस्रो संविधान सभा र त्यसपछि भएको स्थानीय तहको निर्वाचनमा तेस्रो हुन पुग्यो । एमाले  दोस्रो संविधान सभाको निर्वाचनमा दोस्रो र स्थानीय तहको निर्वाचनमा पहिलो दल भयो । 

नेपालमा जति चुनाव भएपनि कम्युनिष्टहरु नमिल्दा काँग्रेसलाई फाइदा हुँदै आएको थियो । यहि कुरा बुझेर दुई कम्युनिष्ट पार्टीका अध्यक्षहरुले चुनावी गठबन्धन हुदै पार्टी एकतासम्मको तयारी गरेपनि एकता कहिले हुन्छ भन्ने कुराका ग्यारेन्टी भने नेताहरुले गरेका छैनन् । 

आइतबार एकएक पुनः पहिलो चरणको चुनाव भन्दा पहिला नै पार्टी एकता हुने हल्ला चलेपछि एमाले अध्यक्ष केपी ओलीले गृहनगर झापामा चुनावअघि पार्टी एकता नहुने स्पष्ट पारेका छन् ।

चुनावपछि दुई कम्युनिष्ट पार्टी एक हुने कुराले जति कम्युनिष्टहरु खुशी भएका छन् त्यो भन्दा कयौ गुणा गैर कम्युनिष्टहरु डराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसले त यो बिषयमा लगातार आरोप समेत लगाउदै आएको छ । ‘दुई कम्युनिष्ट एक भए साम्यवाद आउँछ । अधिनायकवाद आउँछ । रुन पाइदैन । लोकतन्त्र मासिन्छ’ कांग्रेस नेताहरुले यस्तै अभिव्यक्ति दिँदै आएका  छन् । 

भिन्न पृष्ठभूमिबाट आएका दुई कम्युनिष्ट पार्टीबीच एकताका लागि कति सहज र असहज छ भन्नेबारे पनि बहस भैरहेको छ । जनयुद्धबाट आएको माओवादी केन्द्र यहाँ सम्म आउँदा टुटफुट विभाजन र एकता हुदै आएको छ । झापा आन्दोलन हुँदै २०४९ सालबाट खुल्ला राजनीतिबाट नै समाज परिवर्तन गर्न सम्भव छ भन्दै मदन भण्डारीको जवज मान्दै आएको एमालेबीच एकता हुन सहज नभएको कतिपयको विश्लेषण छ । 

यहि २१ गते गठबन्धनको घोषणपत्र सार्वजनिक गदै अध्यक्ष ओलीले घुमाउरो पाराले जनयुद्धको समर्थन गरेका थिए । उनले भनेका थिए ‘हामी अहिलेसम्म यहाँ देश र जनताको लागि लडेर आएका पार्टी एकता गर्दैछौ ।’उनको आशय थियो –झापा आन्दोलन र जनयुद्ध लडेका पार्टीबीच एकता हुनु भनेको गणतन्त्र संस्थागत गर्ने र देशको सम्बृद्धि खोज्नु हो । 

ओलीको उक्त भनाईलाई आधार मान्ने हो भने अब यी दुई पार्टीबीच एकता हुन कुनै समस्या छैन । शान्तिपूर्ण रुपमा समाज परिवर्तन गर्ने र समाजवाद भित्रयाउने दुबैको प्रमुख ध्यय हो भने अबको यात्रा आवधिक निर्वाचन हुँदै  राज्यलाई शान्तिपूर्ण रुपमा समाजवादमा पुग्न कठिन हुने देखिदैन । 

जति सजिलो तरिकाले पार्टी एकता हुन्छ ,  तलसम्म एकता गर्न भने दबै दललाई चुनौतिपूर्णनै छ । 

चुनावी परिणामले पार्टी एकतामा कुनै असर नपर्ने भनेपनि यसको असर तल तलसम्म पर्ने देखिन्छ । यदि एक दलले बढी सिट अर्कोले कम सिट ल्याएमा अन्तरघातका आरोप प्रत्यारोप पनि सुनिन सक्ने खतरा छ । एकता नेताहरुको मात्र हुने या विचारसहितका आम कार्यकर्तातहमा नै हुने ? यसबारे नेताहरु प्रश्ट हुन जरुरी छ । 

राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्‘अहिलेको खटाई हेर्ने हो भने दुबै दलका कार्यकर्ताहरु इमान्दार देखिएका छन् । यसले परिणाम पनि सहि ल्याउँछ र पार्टी एकता पनि सहज रुपमा हुन्छ ।’

सुवेदीको बिश्लेषणमा निर्वाचनमा एक दुई ठाउँमा केहि तलमाथि भएपनि नेतृत्वको निर्णय तहमा कुनै असर पर्दैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप