शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
सारांश
- नेपाल सरकारले विदेशी तथा उच्च जोखिमयुक्त शत्रुजीवहरूबाट कृषि क्षेत्र, जैविक सुरक्षा र खाद्य प्रणालीलाई जोगाउन नाकामा कडा सर्तहरू लागू गरेको छ ।
- प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले चीनबाट आयात हुने ताजा आँपमा २७ भन्दा बढी खतरनाक शत्रुजीवहरूको जोखिम औँल्याउँदै नयाँ र कडा प्रवेश सर्तहरू कार्यान्वयनमा ल्याएको छ ।
- यस कदमले आयातमा पूर्ण प्रतिबन्ध नभई सुरक्षित र व्यवस्थित व्यापार प्रणाली स्थापित गर्ने तथा देशको कृषि भविष्य सुरक्षित पार्ने उद्देश्य राखेको छ ।
काठमाडौंँ । पछिल्लो समय नेपाल सरकारले देशको कृषि क्षेत्र, जैविक सुरक्षा र खाद्य प्रणालीलाई विदेशी तथा उच्च जोखिमयुक्त शत्रुजीवहरूको आक्रमणबाट सुरक्षित राख्न नाकामा विभिन्न कडा सर्तहरू लागु गर्दै आएको छ ।
यसैक्रममा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जोखिम विश्लेषणका आधारमा चीनबाट आयात हुने ताजा आँपमा नयाँ र कडा प्रवेश सर्तहरू कार्यान्वयनमा ल्याएको छ । यसअघि नेपालमा केरा, आँप, खरबुजा, बदाम, धनियाँ, एभोकाडोलगायत विभिन्न खाद्यान्न तथा फलफूलहरूको आयातमा समेत यसरी नै नियमन तथा कडाइ गरिसकिएको छ । सरकारको यो कदमले आयातमा पूर्ण प्रतिबन्ध लगाएको भन्दा पनि सुरक्षित र व्यवस्थित व्यापार प्रणाली स्थापित गर्न खोजेको अधिकारीहरूको स्पष्टोक्ति छ ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार चीनबाट आयात हुने ताजा आँपमा नयाँ सर्तहरू गत मंगलबारदेखि औपचारिक रूपमा लागु गरिएको छ ।
नेपालमा हालसम्म नभएका र यहाँका रैथाने बालीनालीमा गम्भीर असर पुर्याउन सक्ने उच्च जोखिमयुक्त शत्रुजीवहरू देशभित्र प्रवेश गर्न नदिन यो कदम चालिएको हो । नयाँ मापदण्ड अनुसार चीनबाट आउने आँपमा विशेषगरी २७ भन्दा बढी खतरनाक शत्रुजीवहरूको जोखिम औँल्याइएको छ । यसरी पहिचान गरिएका जोखिमहरूमध्ये ८ वटा किरा तथा रोगलाई नेपाल राजपत्रमै प्रतिबन्धित सूचीमा राखिएको छ भने बाँकी नयाँ सम्भावित जोखिमका रूपमा पहिचान गरिएका छन् ।

पौडेलका अनुसार नेपालको आफ्नै विशिष्ट पारिस्थितिक प्रणाली रहेको छ र जब विदेशी किराहरू यहाँको नयाँ तथा अनुकूल वातावरणमा आइपुग्छन् । यस्ता हानिकारक किराहरू सर्वहारी प्रकृतिका हुने भएकाले एउटा बालीमा आश्रित किराले त्यो बाली नपाउँदा अन्य बालीहरू समेत सखाप पार्न सक्छन् । धनियाँ, एभोकाडो, बदाम वा आँपको माध्यमबाट भित्रिने यस्ता जीवहरूले किसानको खेतमा रहेका अन्य तरकारी, फलफूल तथा भण्डारण गरिएका अन्नबालीलाई समेत पूर्ण रूपमा नष्ट गर्न सक्ने खतरा रहन्छ ।
के के हुन नेपालका शत्रुजीवहरू ?
प्लान्ट क्वारेन्टिनले नियमन तथा निगरानीको सूचीमा राखेका नयाँ १९ वटा शत्रुजीवहरूमा कृषि प्रणालीका लागि अत्यन्त हानिकारक मानिने जीवहरू समेटिएका छन् । यी नयाँ जोखिमहरूमा हेमिस्फेरिकल स्केल, ज्याक बियर्डस्ले मिलिबग, प्यासनभाइन मिलिबग, पोमेग्रानेट स्केल, म्याङ्गो स्केल, क्याङ्कर अफ द आल्मन्ड, ब्राउन स्पट म्याङ्गो, निओफुसिकोकम म्याङ्गीफेरी, निओफुसिकोकम पार्भम, पेस्टालोटिओप्सिस क्ल्याभिस्पोरा, लासियोडिप्लोडिया ब्रासिलियन्सिस, लासियोडिप्लोडिया इरानियन्सिस, लासियोडिप्लोडिया स्युडोथियोब्रोमी, कोलेटोट्राइकम सियामेन्स, कोलेटोट्राइकम ट्रोपिकाले, कोलेटोट्राइकम एसियानम, कोलेटोट्राइकम कार्स्टी, कोलेटोट्राइकम क्विन्सल्यान्डिकम र म्याङ्गो ब्ल्याक स्पट रहेका छन् । यी सूक्ष्म जीवहरूको प्रवेशले निम्त्याउने खतरालाई ध्यानमा राख्दै सीमानाकामा विशेष सतर्कता अपनाइएको छ ।
क्वारेन्टिनका अनुसार नेपालको कृषि, जैविक सुरक्षा तथा खाद्य प्रणालीलाई विदेशी शत्रुजीवबाट सुरक्षित राख्न यो नयाँ व्यवस्था जीवनमरणको सवाल बनेको कृषि विज्ञहरूको ठहर छ । एकपटक प्रतिबन्धित शत्रुजीव देशभित्र प्रवेश गरी स्थापित भएमा त्यसको नियन्त्रणमा ठुलो आर्थिक खर्च लाग्नुका साथै फलफूल उत्पादन र समग्र जैविक विविधतामा गम्भीर असर पर्नेछ ।
यसअघि प्लान्ट क्वारेन्टिनले चीनबाट ल्याइएको धनियाँ र युगान्डाबाट ल्याइएको एभोकाडोमा बजार अनुगमनका क्रममा गम्भीर प्रकृतिका रोगकिरा भेटेपछि यस्तै प्रकृतिका कडा सर्तहरू लागु गरेको थियो । त्यस्तै, भारतबाट आयात हुने केरामा देखिने पानामा रोग (टीआर–४) र आँपमा भेटिने हानिकारक विषादी तथा किराको जोखिमका कारण त्यसमा पनि नियमन कडा पारिएको छ ।
के छ कानुनी व्यवस्था ?
नेपालको कृषि क्षेत्र र जैविक विविधतालाई बाह्य शत्रुजीवबाट जोगाउन देशमा बलियो कानुनी व्यवस्थाहरू क्रियाशील रहेका छन् । यस सन्दर्भमा बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ र बिरुवा क्वारेन्टाइन तथा संरक्षण नियमावली, २०६६ ले प्रमुख आधारको रूपमा काम गरेका छन् ।
यी कानुनहरूले नेपालभित्र प्रवेश गर्ने बिरुवा, बिरुवाजन्य उपज तथा कृषि सामग्रीहरूको आयातलाई व्यवस्थित, सुरक्षित र वैज्ञानिक बनाउने जिम्मेवारी प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई प्रदान गरेका छन् । ऐनको दफा ७ मा प्रवेश अनुमतिपत्र सम्बन्धी विशेष व्यवस्था गरिएको छ, जसअनुसार कुनै पनि विदेशी मुलुकबाट कृषि उपज आयात गर्नुअघि अनिवार्य रूपमा प्रवेश अनुमतिपत्र लिनुपर्ने कानुनी बाध्यता छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीका अनुसार कुनै पनि नयाँ कृषि सामग्री आयात गर्दा अपनाइने सबैभन्दा महत्त्वपूर्ण प्राविधिक प्रक्रिया शत्रुजीव जोखिम विश्लेषण हो । यो विश्लेषण पूर्ण रूपमा वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सञ्चालन गरिन्छ । जब कुनै आयातकर्ताले नयाँ वस्तु ल्याउन आवेदन दिन्छ, तब केन्द्रका प्राविधिकहरूले उत्पादित मुलुकका शत्रुजीवहरू र नेपालको जैविक वातावरणबीच तुलनात्मक अध्ययन गर्छन् । यस जटिल प्रक्रियामा आयात गरिने सामग्रीसँगै आउन सक्ने ब्याक्टेरिया, भाइरस, ढुसी वा किराहरूको गम्भीरतापूर्वक लेखाजोखा गरी तिनले स्थानीय बालीमा पार्ने प्रभावको आकलन गर्ने गरिन्छ ।
जोखिम विश्लेषण कसरी हुन्छ ?
जोखिम विश्लेषणको वैज्ञानिक कार्य मुख्यतया तीनवटा पक्षमा आधारित हुन्छ । पहिलो पक्षमा शत्रुजीवको पहिचान र वर्गीकरण गरिन्छ । जसअनुसार उत्पादित मुलुकमा सक्रिय रोगकिराहरू नेपालमा पहिलेदेखि छन् वा छैनन् भनी पत्ता लगाइन्छ । दोस्रो पक्षमा ती सम्भावित शत्रुजीवहरू नेपालको हावापानीमा अनुकूल भई स्थापित हुन सक्ने र फैलिन सक्ने सम्भाव्यताको मूल्यांकन हुन्छ ।
तेस्रो तथा सबैभन्दा संवेदनशील पक्षमा यदि ती जीवहरू नेपाल प्रवेश गरेमा कृषि प्रणाली, जैविक विविधता र ग्रामीण अर्थतन्त्रमा पर्न जाने आर्थिक तथा वातावरणीय क्षतिको गहिरो अध्ययन गरिन्छ । यी सबै पक्षहरूको स्कोरिङ र अध्ययनपश्चात् मात्र वस्तु आयात गर्ने वा नदिने भन्ने निर्णय लिइन्छ ।
जोखिम विश्लेषणपछि यदि जोखिम उच्च देखिएमा त्यस्ता जीवहरूलाई क्वारेन्टाइन शत्रुजीवको सूचीमा राखिन्छ र आयात गरिने सामग्रीमा ती जीवहरू पूर्ण रूपमा अनुपस्थित हुनुपर्ने सर्त राखिन्छ । वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीका अनुसार यो सर्त निर्यातकर्ता मुलुकको राष्ट्रिय बिरुवा संरक्षण संगठन (एनपीपीओ) ले अनिवार्य रूपमा प्रमाणित गर्नुपर्छ । निर्यातकर्ता देशले सामग्री पठाउँदा नेपालले तोकेका विशिष्ट सर्तहरू र शत्रुजीवहरूबाट मुक्त रहेको व्यहोरासहितको ‘बिरुवा स्वच्छता प्रमाणपत्र’ (फाइटोसेनिटरी सर्टिफिकेट) जारी गर्नुपर्ने हुन्छ । यसको अर्थ नेपालले आयातमा पूर्ण रोक लगाएको नभई आवश्यक न्यूनतम गुणस्तर र सुरक्षा मापदण्ड पालना गराउन खोजेको मात्र हो ।

बीउबिजन र बिरुवा जस्ता रोपण वा उमार्न योग्य सामग्रीहरूको आयातमा केन्द्रले विशेष सावधानी अपनाउने गरेको छ । माटोमा प्रत्यक्ष रोपिने वा उम्रिने सामग्रीमा शत्रुजीव सँगै आएर फैलिने सम्भावना अत्यधिक हुने भएकाले यस्ता प्रसारक सामग्रीको जोखिम विश्लेषण अति कडा हुन्छ । यद्यपि, उपभोगका लागि मात्र ल्याइने फलफूल वा तरकारीका हकमा पनि जोखिम शून्य भने हुँदैन, किनकि यस्ता सामग्रीहरू खेती हुने क्षेत्र वा माटोको सम्पर्कमा पुगेर स्थानीय बालीमा रोग सार्न सक्छन् । औद्योगिक कच्चਾ पदार्थका रूपमा ल्याइने सामग्रीहरू पनि बजारमा चुहिएर वा खेतबारीमा पुगेर महामारी निम्त्याउन सक्ने हुँदा क्वारेन्टाइन कार्यालयले त्यसको समेत सूक्ष्म आकलन गर्नुपर्ने हुन्छ ।
५ सय बढी उपजको जोखिम विश्लेषण, सीमा नाकामा भौतिक निरीक्षण
नेपालमा हाल करिब १० हजारभन्दा बढी प्रकारका कृषि तथा बिरुवाजन्य सामग्रीहरू विभिन्न मुलुकबाट आयात हुने गरेका छन् । यी सबै सामग्रीहरूको एकैपटक र रातारात शत्रुजीव जोखिम विश्लेषण गर्न प्राविधिक तथा व्यवस्थापकीय रूपमा असम्भव प्रायः हुन्छ । यसैले केन्द्रले क्रमशः र प्राथमिकताका आधारमा वस्तुहरूको विश्लेषण गर्ने नीति अपनाएको छ । अधिकारीका अनुसार केन्द्रले करिब चारदेखि पाँच सय वस्तुहरूको जोखिम विश्लेषण सम्पन्न गरी आवश्यक सर्तहरू निर्धारण गरिसकेको छ भने बजारको माग र अनलाइन आवेदनका आधारमा यो सूची निरन्तर विस्तार भइरहेको छ । आयातकर्ताहरूको मागलाई वैज्ञानिक तवरले सम्बोधन गर्न यो चरणबद्ध प्रणाली अति आवश्यक छ ।
अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउँदै जैविक सुरक्षालाई बलियो पार्न नेपालले ‘राष्ट्रिय एकद्वार प्रणाली’को प्रभावकारी प्रयोग गरिरहेको छ । आयातकर्ताहरूले कुनै पनि कृषिजन्य सामग्री ल्याउनुअघि यसै डिजिटल प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्छ । आवेदन प्राप्त भएपछि प्राविधिकहरूले जोखिम स्तर र सर्तहरूको पुनरावलोकन गरी उपयुक्त देखिए अनलाइनबाटै प्रवेश अनुमतिपत्र जारी गर्छन् । सामग्री सीमा नाकामा आइपुगेपतबल आयातकर्ताले पुनः जाँचबुझका लागि अनुरोध गर्नुपर्ने हुन्छ र नाकामा खटिएका क्वारेन्टाइन अधिकृतहरूले प्रत्यक्ष रूपमा चलान गरिएका सामग्रीहरूको भौतिक निरीक्षण तथा परीक्षणको प्रक्रिया अगाडि बढाउँछन् ।
नाकामा गरिने निरीक्षणका क्रममा क्वारेन्टाइन निरीक्षकहरूले आयातित कन्टेनर वा गाडीबाट तोकिएको मापदण्ड अनुसार नमुना संकलन (स्याम्पलिङ) गर्छन् । संकलित नमुनाहरूलाई नाकाका प्रयोगशालामा प्राथमिक परीक्षण गरिने र शंकास्पद लक्षण देखिएमा विस्तृत परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइने गरिन्छ । प्रयोगशालाको आधिकारिक प्रतिवेदन नआउन्जेलसम्म उक्त खेपलाई नाकामै सुरक्षित रूपमा होल्ड गरी राखिन्छ । परीक्षणको नतिजा सकारात्मक आएमा र तोकिएका सर्तहरू पूरा भएको पाइएमा मात्र सामग्रीलाई नेपाल भित्रिन अनुमति दिइन्छ । यदि हानिकारक वा प्रतिबन्धित शत्रुजीवको उपस्थिति भेटिएमा त्यस्तो सामग्री भन्सार बिन्दुबाटै फिर्ता पठाइन्छ वा कानुन बमोजिम नष्ट गरिन्छ ।
पूर्णप्रतिबन्ध होइन
एउटै वस्तुको जोखिम विश्लेषण गर्न वैज्ञानिक अनुसन्धानका सयौँ पाना र अन्तर्राष्ट्रिय डाटाबेस अध्ययन गर्नुपर्ने हुन्छ । हतारमा बिनाविश्लेषण अनुमति पत्र जारी गर्दा देशको समग्र कृषि उत्पादन ध्वस्त हुन सक्ने खतरा रहन्छ । क्वारेन्टिनका अनुसार विगतमा नेपाल भित्रिएका फौजी किरा (फल आर्मीवर्म) वा टमाटरको पात खन्ने किरा (टुटा एब्सोल्युटा) जस्ता महामारीले पुर्याएको ठूलो क्षति यसको उदाहरण हो । लाखौँ कृषकहरूको जीविकोपार्जन जोडिएको क्षेत्रमा नयाँ रोगकिरा भित्रिन नदिन अपनाइएको यो कडाइ अपरिहार्य छ ।
आयात प्रक्रियामा देखिने प्राविधिक कडाइ वा नाकामा हुने जाँचबुझको ढिलाइलाई गलत अर्थमा ‘पूर्ण प्रतिबन्ध’ का रूपमा बुझ्न नहुने स्पष्ट पारिएको छ । यो नेपालको कृषि प्रणालीलाई बाह्य संक्रामक रोगबाट बचाउन चालिने एक नियमित र अनिवार्य प्राविधिक कदम मात्र हो । विश्व व्यापार संगठनको सेनिटरी एण्ड फाइटोसेनिटरी सम्झौता अन्तर्गत कुनै पनि मुलुकले आफ्नो जैविक विविधताको रक्षाका लागि यस्ता वैध उपायहरू अपनाउने अधिकार राख्दछ ।
नेपालले पनि अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र राष्ट्रिय कानुनको परिधिभित्र रही देशको कृषि भविष्य सुरक्षित पार्न यो नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
-
५० को उमेरमा पनि ३० को देखिन खानुस् यी सुपरफुड
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
मोदीले गरे मध्यरातमा यस्तो घोषणा, राहुल गान्धीले भने- विद्यार्थीहरूसँग माफी माग्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण