गोल्डेन ह्यान्डसेक गर्दै बिदा भए चाँगुनारायणका ३७ शिक्षक
शुक्रबार, १६ पुस २०७८, १६ : ३९

चाँगुनारायण नगरपालिकाले गोल्डेन ह्यान्डसेक कार्यविधि अन्तरगत सेवा निवृत्त भएका शिक्षकहरुको सम्मान गरेको छ । शुक्रबार नगरपालिकाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा ३७ जना शिक्षक शिक्षिका गोल्डेन ह्यान्डसेक गर्दै बिदा भएका हुन् ।
नगरपालिकाले सेवा निवृत्त हुन बाँकी रहेकोको अवधिको मूल्याङ्कन गर्दै ५० हजारदेखि ४ लाख रुपैयाँसम्म दिएर बिदाइ र सम्मान गरेको हो । २०७८ साल पुससम्म अनिवार्य अवकाश हुनेलाई ५० हजारदेखि २०८१ सालपछि अवकाश हुनेलाई ४ लाख रुपैयाँ दिइने कार्यविधि बनाएको नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाको नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बीना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतले शिक्षकहरु उच्च मूल्याङ्कन गर्दै यो कार्यक्रमको सुरुवात गरिएको बताए ।