बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सीमामा तैनाथ सशस्त्र प्रहरी आफ्नै भवनमा

मङ्गलबार, २० पुस २०७८, १२ : ५९
मङ्गलबार, २० पुस २०७८

भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ ।  झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को आफ्नै भवन निर्माण भइसकेको छ ।  यस्तै पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण भवन कार्य जारी रहेको र  शिवनाथ गाउँपालिकाको कुस्मौत घाटमा भवन निर्माण हुने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ५१ गुल्मले जनाएको छ ।  

गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहका अनुसार विसं २०७७ चैत २३ गतदेखि  झुलाघाटस्थित आफ्नै भवनमा सशस्त्र प्रहरी बसिसकेको  छ ।  कूल रु ९९ लाख २३ हजार ४०० मा रोयल क्षमादेवी जेभीले उक्त बिओपी भवन निर्माण गरेको हो । एक ब्लक कार्यालय प्रयोजनका लागि र एक ब्यारेकका लागि झुलाघाटमा बिओपी भवन बनाइएको जानकारी दिँदै उनले भने, “यसअघि भाडाकै घरमा बिओपी भवन राखिएको थियो, आफ्नै भवन निर्माण भएपछि निकै सहज भएको छ ।”

रोलघाटमा पनि झुलाघाटको जस्तै बिओपी भवन निर्माण भइरहेको छ । विसं २०७८ असार मसान्तसम्म भवन निर्माण गर्ने गरी अग्रिम पिपी जेभीसँग सम्झौता भएकामा कोरोनाका कारण समयमै भवन निर्माण हुन नसकेपछि २०७८ साल चैत मसान्तसम्म म्याद थप गरिएको थियो । भवन निर्माणका लागि रु ९३ लाख ४९ हजार ३३७ मा ठेक्का सम्झौता गरिएको थियो ।  

यस्तै कुस्मौत घाटमा पनि २०७९ साल असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी बोलपत्र आह्वान गरिएको थियो । रू एक करोडको लागतमा बन्ने उक्त भवनका लागि दुई कम्पनीको बोलपत्र परेको छ । बोलपत्र परेकामध्ये मूल्याङ्कनका आधारमा उउटा छनोट हुने  उक्त गुल्मले जनाएको छ । 

भारतसँग सीमा जोडिएका झुलाघाट, रोलघाट र कुस्मौतघाटमा हाल बिओपी स्थापना भइसकेका छन् ।   यसका साथै जिल्लाका अन्य तीन स्थानमा पनि बिओपी स्थापनाको तयारी भएको छ । पञ्चेश्वरको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा पनि बिओपी स्थापना गर्ने तयारी भएको गुल्मका  प्रमुख, शाहले बताए । उनले भने, “बिओपी पनि स्थापना गर्ने र सँगसँगै भवन पनि बनाउने प्रक्रिया थालेका छौँ ।”  जग्गा खोजी प्रक्रियामा रहेको र अन्य ठाउँमा पनि जग्गा मिलेपछि बिओपी स्थापना हुनेछन् ।  

गुल्मसँग समेत आफ्नै भवन नरहेकाले र हाल डिभिजन सहकारी कार्यालयको भवनमा  बसिरहेको छ । सहकारी कार्यालय दशरथचन्द नगरपालिकालाई हस्तान्तरण भइसकेपछि गुल्म स्थापना भएकाले गुल्मलाई भवनको समस्या भएको हो  । यसका लागि नगरपालिकाले प्रशासनमार्फत  सहकारी विकास र सङ्घीय मामिला मन्त्रालयलाई सिफारिस गरिसकेकोे छ ।  सशस्त्र प्रहरीलाई उक्त भवन हस्तान्तरणका लागि सिफारिस गरी मन्त्रालयमा पठाइएको पत्र स्वीकृत भएर आएपछि भवन हस्तान्तरण हुने जनाइएको  छ ।  

सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार सबै स्थानमा गुल्म र बिओपी स्थापना गर्न लागिएका हुन् ।  यस्तै, सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधि, अवैध कारोबार र  मानव बेचबिखनजस्ता जघन्य अपराध रोक्न र  राजश्व चुहावट हुन नदिन पनि बिओपी स्थापना गरिएका हुन् ।   
बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ ।  उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएका र उनीहरुलाई सबै क्षेत्रमा परिचालन गर्ने गरिएको छ ।  

सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमा क्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो । गुल्ममा हाल सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा १६० र बिओपीहरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली  रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप