मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन विवादको प्रभाव नेपालसम्म, युद्ध नै भए कस्तो असर पर्ला ?

रुस र युक्रेनबाट के आउँछ, के जान्छ ?
बुधबार, १९ माघ २०७८, ०७ : ३६
बुधबार, १९ माघ २०७८

यूरोएसियाली दुई ठूला मुलुक रुस र युक्रेनबीचको विवाद असर नेपालसम्म आइपुगेको छ । पूर्वी यूरोपका दुई छिमेकी देश तथा पूर्व सोभियत संघका सदस्य मुलुक आपसमा सैन्य भिडन्तको स्थितिमा पुग्दा त्यसको बाछिटा नेपालसम्म आइपुगेको हो ।

रुस संसारकै ठूला तेल उत्पादकमध्ये एक राष्ट्र हो । खाडी मुलुकसँगै रुसले पनि दैनिक लाखौँ ब्यारेल कच्चा र ठूलो मात्रामा प्राकृतिक तेल उत्पादन गर्दै आएको छ । रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम तेल उत्पादक र दोस्रो ठूलो प्राकृतिक ग्यास उत्पादक राष्ट्रसमेत हो । रुसले दैनिक साढे १० मिलियन ब्यारेल तेल उत्पादन गर्दै आएको छ, जुन अमेरिका र साउदी अरबपछि सबैभन्दा धेरै हो ।

विश्वको तेस्रो ठूलो तेल उत्पादक देश लामो समयसम्म छिमेकी मुलुकसँगको सैन्य विवादमा फसिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्म आइपुगेको हो । दुई देशबीच विवाद चर्किँदै जाँदा विश्वका विभिन्न मुलुक दुई भागमा बाँडिने क्रम जारी छ । रुसले युक्रेनमाथि आक्रमण गरेमा आर्थिक नाकाबन्दी लगाउने अमेरिकाको चेतावनीलाई विश्वभरका देशहरूले समर्थन तथा विरोध गरिरहेका छन् ।

यही विवादबीच यतिखेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । यही वर्ष अर्थात् सन् २०२२ जनवरीको पहिलो साता प्रतिब्यारेल तेल ७९ अमेरिकी डलरमा कारोबार भएको थियो, जुन फेब्रुअरीको पहिलो सातासम्म आइपुग्दा प्रतिब्यारेल १२ डलरले वृद्धि भएर ९१ अमेरिकी डलर पुगेको तेलसम्बन्धी मूल्यको जानकारी दिने क्रुडओयल डटकमले जनाएको छ । 

यसअघि, सन् २०१९ मा कोरोना महामारी फैलिएपछि विश्वभर तेलको मूल्यमा निकै गिरावट आएको थियो । सन् २०२० मध्यतिर कच्चा तेलको मूल्य प्रतिब्यारेल २० अमेरिकी डलरसम्म झरेको थियो । यस्तै, विश्वमा कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन फैलनुअघि प्रतिब्यारेल ८६ डलरसम्म पुगेको कच्चा तेलको मूल्य ओमिक्रोन फैलिएसँगै घटेर ७० डलरभन्दा तल आइपुगेको थियो ।

यसपटक पनि सन् २०२० मा जस्तै तेलको मूल्य निरन्तर घटेर निकै तल आइपुग्ने अनुमान गरिएको थियो । ओमिक्रोन भेरियन्टका कारण विश्वभर हवाई तथा सडक यातायात प्रभावित बनेका छन् । जसले विश्वव्यापीरूपमा तेलको मागसँगै मूल्य समेत घटाउने आकलन गरिएको थियो । तर, रुस र युक्रेनबीच विवाद चलिरहँदा पूर्व अनुमानविपरीत कच्चा तेलको मूल्य ९० डलरभन्दा माथि पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा पेट्रोलियम पदार्थमा पूर्णतः परनिर्भर नेपाल प्रभावित नहुने कुरै भएन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दाको प्रभाव नेपालमा समेत देखिएको नेपाल आयल निगमले बताएको छ । निगमले प्रत्येक महिनाको १ र १५ तारिखमा इन्डियन आयल कर्पोरेशन –आइओसी) बाट तेलको मूल्यसूची प्राप्त गर्छ । सोहीअनुसार आज भारतीय आयल कर्पोरेशनले निगमलाई तेलको मूल्यसूची बढाएर पठाएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

भारतबाट बढेर मूल्यसूची आएपछि हाल प्रतिलिटर १३९ रुपैयाँमा बिक्री भइरहेको पेट्रोल र प्रतिलिटर १२२ रुपैयाँमा बिक्री भइरहेको डिजेलको मूल्य थप बढ्ने सम्भावना रहेको देखिन्छ ।

वैदेशिक व्यापारमा यस्तो असर

हाल सैन्य विवादको उत्कर्षमा पुगेको दुई वटै मुलुकसँग नेपालको कुटनीतिक सम्बन्ध कायम छ । यी मुलुकसँग नेपालको कुटनीतिकमात्र नभई व्यापारिक सम्बन्ध समेत छ । जसमध्ये रुससँग आयात÷निर्यात दुवै हुन्छ भने युक्रेनबाट आयातमात्रै हुने गरेको भन्सार विभागले जनाएको छ । यद्यपि, रुसबाटभन्दा युक्रेनबाट बढी आयात हुने गरेको तथ्यांक छ ।

युक्रेनबाट नेपालमा मूख्यगरी कच्चा खानेतेलको आयात हुने गर्छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमै ७९ करोडभन्दा बढीको कच्चा सोयाबिन तेल, तीन अर्ब ५४ करोडको तोरीका दाना, ८ अर्ब २२ करोडको कच्चा सूर्यमुखी र एक करोड ५१ लाख रुपैयाँको सूर्यमुखी दाना आयात भएको छ । यद्यपि, नेपालबाट युक्रेनतर्फको निर्यात भने एक करोड रुपैयाँको पनि नरहेको विभागले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यदी, रुसले युक्रेनमा सैन्य हमला गरिहाले त्यहाँबाट आउने कच्चा तेलको आपूर्ति ठप्पै हुनसक्छ वा मूल्य बढ्न सक्छ । जसकारण, नेपालमा खानेतेलको मूल्य झन उकालो लाग्न सक्ने व्यापारविद्हरूको विश्लेषण छ । युक्रेनबाट नेपालसहित विश्वका अधिकांश देशमा कच्चा तेल र प्रशोधित तेल निर्यात हुँदै आएको छ । युक्रेनमाथि हमला भएमा तेलको आपूर्ति बन्द हुने छ वा कम आपूर्ति हुने छ । परिणामस्वरूपः कोभिड महामारीले ढुवानी लागत बढाउँदा उकालो लागेको खानेतेलको मूल्य थप बढ्ने आकलन गर्न सकिन्छ ।

यस्तै, रुसबाट चालू वर्षको ६ महिनामा करिब एक अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । रुसले युक्रेनमाथि सैन्य हमला गरेमा नेपाल आउने सुकेको केराउ, धनियाँको बीउ, तोरीका दाना, चकलेट, पेपर रोल र अप्टिकल फाइबर केबलको आपूर्ति घट्न सक्छ । त्यसो भए उपभोक्ताले महँगी खप्नपर्ने सम्भावना बढ्ने व्यापारविद्हरू बताउँछन् ।

यस्तै, नेपालतर्फबाट निर्यात हुने कार्पेट र चिया लगायतको निर्यात समेत रोकिन सक्छ । जसबाट नेपालको वैदेशिक व्यापारमा करोडौं रुपैयाँको निर्यात घट्न सक्ने आकलन गर्न सकिन्छ । चालू आर्थिक वर्षको ६ महिना अवधिमा नेपालबाट ६ करोडको कार्पेट र ४ करोडको चिया निर्यात भएको विभागले जनाएको छ ।

अर्थविद् ज्ञानेन्द्र अधिकारीले युक्रेनलाई रुसले हमला गरेमा त्यताबाट आउने कच्चा खानेतेल आयात प्रभावित हुने र त्यसको प्रभाव निर्यातसम्म पुग्ने बताए । उनले भने, ‘युक्रेनबाट नेपालमा कच्चा खानेतेल आयात भइरहेको छ । दुई देशबीच युद्ध भएमा त्यसको प्रभाव नेपालको निर्यात वृद्धिमा देखिन्छ ।’ यद्यपि, युक्रेनबाट आउने कच्चा खानेतेल अर्जेन्टिना लगायत दक्षिण अमेरिकी मुलुकबाट समेत ल्याउन सकिने भएकाले प्रभात न्यून बन्न समेत सक्ने उनको भनाइ छ ।

यस्तै, वार्षिक करिब २÷३ अर्ब रुपैयाँको वैदेशिक व्यापार हुने रुस युद्धमा गए नेपाललाई खासै समस्या नहुने देखिन्छ । ‘उताबाट पनि धेरै आउँदैन । नेपालबाट पनि धेरै जाँदैन,’ अधिकारीले भने, ‘यसो हुँदा ठूलो समस्या नदेखिन सक्छ ।’ तर, पनि दुई देश युद्धमा होमिएमा नेपाल प्रभावित बन्ने स्थिति आउँदा उपभोक्ता मूल्य केही बढ्न सक्ने आकलन गरिएको छ । 

युक्रेन – के आउँछ, के जान्छ ?

यही अवधिमा नेपालबाट भने युक्रेनतर्फ ठूलो परिमाणमा निर्यात भएको छैन । नेपालबाट ७८ हजार रुपैयाँको ग्रीन टी, एक लाख ९३ हजार रुपैयाँको यार्सागुम्बा, दुई लाख ८१ हजारको जडिबुटी, एक लाख ३८ हजारको उनीफेल्ट, दुई लाख ८४ हजारको कार्पेट, एक लाख ६१ हजार रुपैयाँको गरगहना र एक लाख ७४ हजार रुपैयाँको साङ्गितिक वस्तु निर्यात भएको छ ।

‘कूटनीतिक दबाब पर्नसक्छ’

परराष्ट्रविद् खगनाथ अधिकारी यदी रुस र युक्रेन आपसमा सैन्य युद्धमा होमिए त्यसको प्रत्यक्ष प्रभाव नेपालमा नपर्ने बताउँछन् । उनका अनुसार नेपाल र ती दुई मुलुकबीच अर्बौं रुपैयाँ बराबर व्यापार भएपनि अत्यावश्यक वस्तुको व्यापार नभएकाले खासै ठूलो समस्या नपर्ने भएको हो । यद्यपि, रुस र युक्रेनबीच सैन्य भिडन्त भएमा त्यसको असर कूटनीतिक रूपमा पर्नसक्छ ।

युक्रेनमाथि हमला भएमा उसको पक्षमा रहेको अमेरिका र रुस दुई भागमा विभाजन हुन्छन् । यी दुवै मुलुकसँग नेपालको राम्रो कूटनीतिक सम्बन्ध छ । यी दुई मुलुक दुई भागमा बाँडिदा नेपालमाथि कूटनीतिक दबाब पर्नसक्ने अधिकारी बताउँछन् । 

‘अमेरिकाले आफ्नो साथ दिन र रुसले पनि आफ्नो साथ दिन भन्न सक्छन् । राष्ट्रसंघमा समेत दुई देशको तानातानमा नेपाल पर्नसक्छ,’ उनले भने, ‘कूटनीतिक प्रभाव पर्नसक्छ । तर, व्यापारिक प्रभाव खासै पर्नसक्ने सम्भावना नरहन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप