शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विकासमा सहयोगी बन्न निजी क्षेत्रलाई मुख्यमन्त्री राईको आग्रह

सोमबार, ०९ फागुन २०७८, १७ : २९
सोमबार, ०९ फागुन २०७८

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको हालको पूँजीगत खर्चले प्रदेशको समृद्धि र विकासमा अपेक्षित उपलब्धी हासिल गर्न नसक्ने भएकोले सहयोग गर्न नीजि क्षेत्रसँग आग्रह गरेका छन् । 
प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार गरिएको कार्यक्रममा मुख्यमन्त्री राईले लगानीकर्ताले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारको हालको पूँजीगत खर्च १२ अर्ब रहेको र अत्याधिक बढ्दा पनि २० अर्ब भन्दा माथि पुग्न नसक्ने बताउँदै एक कार्यकाल (५ वर्ष)मा पनि १४ जिल्लामा सडक निर्माण गर्नै नसक्ने खालको रहेको बताए । 

‘अहिलेको पूँजीगत खर्च भनेको १२ देखि २० अर्बसम्मको हुन्छ, त्यसले १४ जिल्लाको सदरमुकामसँग जोड्ने २ सय किलोमिटर लामो र गुणस्तरीय सडक निर्माण गर्न ५ वर्षमा पनि सकिँदैन,’ राईले भने, ‘त्यसो भएको कारण अब नीजि क्षेत्रले हामीलाई सघाउनु पर्छ ।’

मुख्यमन्त्री राईले छिमेकी भारत र चीनले तीब्र गतिमा गरिरहेको विकास र समृद्धिबाट लाभ लिन नसके नेपालको उत्पादन प्रणाली अझै ध्वस्त हुनसक्ने बताए । उत्पादनको क्षेत्र, लगानीकर्ता, युवा जनशक्तिलाई देशमै रोकेर तीब्र गतिमा काम गर्नुपर्ने उनले बताए । ‘लगानी गर्नका लागि भएको अल्झनहरु कानूनी या व्यवहारिक पक्षलाई हल गर्न हामी सहयोग गर्छौं,’ मुख्यमन्त्री राईले भने, ‘तपाईहरुले देश निर्माणमा सहयोग गर्नुपर्यो, लगानी बढाउनु पर्यो ।’
प्रदेश सरकार अन्तर्गतको प्रदेश लगानी प्राधिकरणले लगानीका क्षेत्रहरू अध्ययन गरेर अन्तिम चरणमा पु¥याएको जानकारी दिँदै राईले आगामि दिनमा कुन पालिकामा कुन वस्तुको उत्पादन र विकास गर्ने भन्ने विषय प्रष्ट पारिने बताए । 

कार्यक्रममा प्रदेशको सम्भाव्यताको विषयमा आफ्नो प्रस्तुतीकरण दिँदै अमेरिकन मिलिट्री युनिभर्सिटी अमेरिकाका प्राध्यापक प्रोफेसर मेदिनी अधिकारीले देशमा थुप्रै सम्भावना रहेकोतर्फ सहभागीलाई जानकारी गराए । 
उनले नीजि क्षेत्र लगानी गर्न चाहेको भएपनि देशमा लगानीको वातावरण निर्माणको लागि अहिलेको सिस्टममै परिवर्तन हुनुपर्नेमा जोड दिए । ‘हामी लगानी गर्न चाहन्छौं, तर सिस्टम परिवर्तन हुनुप¥यो, अब वस्तुको स्पेलाईजेसन तिर जाउँ, पूर्वपश्चिम रेल ल्याउनुभन्दा जल यातायातको विकास गरौं,’ उनले भने । 

कार्यक्रममा प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशक सरोज कोइरालाले विराटनगरबाट ढाका, कलकत्ता, दिल्लीमा उडान गर्नुपर्ने, प्रदेशमा विदेशी लगानी भित्र्याउन फाष्ट ट्र्याकमा काम हुनुपर्नेमा जोड दिए । उनले प्रदेश १ को लगानी बोर्डले विदेशबाट आएका लगानीकर्तालाई स्वीकृति प्रदान गर्न पनि संघीय लगानी बोर्डकै ढोका ढक्ढक्याउनु परेको भन्दै प्रक्रिया छोट्याउनु पर्ने बताए । 

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अहिले पनि लगानीको वातावरण नभएको बताए । ‘स्पष्ट औद्योगिक नीतिको अभाव छ, तजवीजिमा काम गर्ने परिपाटी छ, सरकार परिवर्तन हुने वित्तीकै नीति परिवर्तन हुने, कमिसन मिलाएर खाने खालको नीति छ, कर प्रणाली पनि अस्थिर छ,’ घिमिरेले भने, ‘उद्योगीलाई अहिले पनि कच्चा पदार्थको अभाव छ । प्रदेश बनाउने हो भने टुप्पामा होईन फेदमा पानी हालौं ।’

उनले ४०–५० को दशकमा ३५/४० प्रतिशत खाद्यान्न निर्यात गर्ने नेपाल हाल ९० प्रतिशत आयात गर्ने अवस्थामा पुगेको भन्दै कृषि उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिए । उनले बैंकहरुको मनपरी ब्याजदर नियन्त्रण गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराम ढकालले कमिसनको खेलले लगानी नआउने भन्दै देशमा उत्पादन हुने वस्तुको ब्राण्डिङमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले कृषि र पर्यटनलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए । 

उद्योगी पवनकुमार सारडाले उद्योगीलाई लगानी गर भन्ने तर, वातावरण बिथोल्ने काम स्थानीय सरकारले गरिरहेको बताउँदै प्रदेश सरकारले यसको समन्वय गरिदिनु पर्ने बताए । उनले कृषकलाई सहुलियत दिनुपर्ने र एक जिल्ला एक उत्पादनको कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्ने बताए । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यसचिव, सांसदहरु, सचिव तथा कर्मचारी र प्रदेश १ का उद्योगी व्यवसायीको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप