मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीमा सत्तारुढ दलको दोहोरो चरित्र : पोखरेल

बुधबार, ११ फागुन २०७८, १५ : ३३
बुधबार, ११ फागुन २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उनको भनाइ छ । एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा टेबुल गर्ने भनेर भित्र सहमति गर्ने तर, सडकमा गाईजात्रा देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेको बताए ।

‘सरकारको दृष्टिकोण एउटै हुनुपर्छ, एउटै दृष्टिकोण नहुने हो भने सरकारमा बस्ने नैतिकता रहँदैन’ उनले भने । महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला एमसीसीका अहिलेका प्रावधानमा सम्झौता गरिएको र देउवा नेतृत्वको माओवादी सम्मिलित सरकारले सम्झौतामा हस्ताक्षर गरेको उनको भनाइ छ । आफैँले गरेको सम्झौतालाई लिएर जनतामा भ्रम सिर्जन गर्ने र सडकमा गाईजात्रा देखाउने काम भएको पोखरेलले बताए ।

संसद नचलेसम्म एमाले संसदमा हुने कुनै पनि काम कारवाहीमा सहभागी नहुने भन्दै उनले संसदमा छलफल गर्ने वातावरण तयार भएपछि एमालेले एमसीसीप्रतिको आफ्नो धारणा राख्ने बताए । ‘हाम्रा मुद्दा सम्बोधन भएपछि संसदका हरेक विषयमा दृष्टिकोण दिन्छौं’ पोखरेलले भने ।

एमाले कारवाही गरेका १४ जना गैरसांसदलाई राखेर संसद चल्न नसक्ने पनि उनले बताए । उनले सभामुखले गल्ती नसच्याएसम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने बताए । एमाले अब निर्वाचनतर्फ केन्द्रित भएको भन्दै जनताको विश्वास जित्ने बलियो शक्तिको रुपमा एमाले स्थापित भएको उनले दावी गरे ।  

दुई दिनसम्म चल्ने प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता सहभागी छन् । सहभागीलाई विभिन्न विषयमा केन्द्रित रहेर समूहगत छलफल गराइने एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप