मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव माओवादीको क्रान्तिकारी मुखौटो ?

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ४५
आइतबार, ०३ मङ्सिर २०७४

नेपाल कम्युनिस्ट माओवादी (विप्लव) सैद्धान्तिक वैचारिक र कार्यनीतिक, कार्यदिशा तथा साङ्गठनिक दृष्टिले अमाक्र्सवादी, अवस्तुवादी तथा चरम संदिग्ध पार्टीका रूपमा देखापरेको छ । माओवादी विप्लव पार्टीमा माक्र्सवादी मान्यताको सर्वाधिक अभाव देखिन्छ ।

यस पार्टीले समाज परिवर्तनको माक्र्सवादी वैज्ञानिक अवधारणा नै नमानेको देखिन्छ । माक्र्सवादी मान्यताअनुसार समाजको  परिवर्तन  मात्रात्मक हुँदै गुणात्मक रूपमा परिवर्तित हुन्छ । तर यस पार्टीले हाल लिएका नीति, विचार र दृष्टिकोणहरू बिलकुल विपरीत पाइन्छ । यस पार्टीले माओवादी कालको प्रारम्भिक चरणकै उग्र अराजक, अतिवादी तथा दुस्साहसवादी नीति ग्रहण गरेको देखिन्छ । यस पार्टीमा र यसका नेताहरूमा देश र जनताप्रति कुनै खास जिम्मेवादी र दायित्व बोध देखिन्न ।

 यस पार्टीले  देशमा आएका अनेक सकारात्मक परिवर्तनलाई निषेध गरिरहेको देखिन्छ । माओवादी केन्द्रले उहिल्यै एक्काइसौँ शताब्दीको जनवाद भनेर प्रतिस्पर्धाको कम्युनिस्ट मान्यता अघिसारेको थियो । यही पार्टीमा एकीकृत भएको एकता केन्द्र समेत सशस्त्र सङ्घर्षलाई कहिल्यै पनि निरपेक्ष रूपमा स्वीकार गर्दैनथ्यो । कार्ल माक्र्सले नै पनि सशस्त्र सङ्घर्षलाई रहर र लहडको विषय मानेका थिएनन् र उनले कम्युनिस्ट घोषणा पत्रमा समेत यसलाई उल्लेख गरेका छन् ।

माक्र्सले कम्युनिस्ट हुनु असल मान्छे हुनु हो भने । यसको विशेष महत्व यस मानेमा छ कि सबैभन्दा लोकतन्त्रवादी र जनप्रेमी कम्युनिस्ट हुन्छन् भनेको हो । माक्र्सले नै कम्युनिस्टहरूले सकेसम्म शान्तिपूर्ण रूपमा नसके कम क्षतिबाट समाज परिवर्तन गर्न चाहन्छन् भनेका छन् । यही कुरालाई माओले पनि आफ्ना शब्दावलीमा स्वीकार र समर्थन गरेका छन् । माओले रुसी क्रान्तिको हुबहु नक्कल गर्न कहिल्यै मानेनन् ।

उनले फेरिएको देश र त्यहाँको समग्र आन्दोलनको परिस्थितिअनुसार मौलिक क्रान्तिको कार्यनीति र कार्यदिशाको खोज गरे  तर माओवादी विप्लव पार्टी कम्युनिस्ट आन्दोलनका शिक्षाप्रद तमाम विरासदलाई बिर्संदै छ । मुलुकमा अहिले खुल्ला र वैधानिक अनेक राजनीतिक मार्गहरू छन् तर विप्लव माओवादी जोसिला नौ जवान नेपाली युवाहरूलाई कथित क्रान्तिकारिताको बिल्ला भिराएर तारेभिरबाट खसाल्न खोज्दैछ । यस पार्टीले मुलुकमा आएका सकारात्मक र सार्थक परिवर्तन पक्षहरूलाई समग्रमा निषेध गरिरहेको छ । के यस पार्टीले संविधान निर्माण, पारित र यसलाई लागू गराउने दिशाका यावत् सकारात्मक पक्षलाई साम्राज्यवादी, प्रभुत्ववादी र विस्तारवादीले झैँ समग्रमा निषेध गरकै हो ? आफूलाई  वैदेशिक थिचोमिचो विरोधी डङ्का पिटाउने माओवादी विप्लव पार्टी तिनकै स्वरमा स्वर मिलाउन लागेको हो  ? भारतीय वरिष्ठ पत्रकार आनन्द स्वरूप बर्माले भारतीय सत्ता र सरकारले नेपालको संविधानविरुद्ध अनेक षडयन्त्र स्वरूप गरेका गरेका गतिविधिलाई कडा रूपमा आलोचना गर्दे नेपालले एटम बम बनाएको त होइन, मात्र संविधान बनाएको त हो  ।

अनि किन भारतीय सरकार त्यसको विरोधमा उत्रिएको हो भनेका थिए । उनै बर्माले २०७४ साल असोज  २३ गते कान्तिपुर दैनिकको एक लेखमा भारतीय सरकार र सत्ता कहिल्यै पनि नेपालमा राजनीतिक स्थिरता र समृद्धि चाहँदैन भनेका छन् । उनले त्यसैले भारतले अहिलेको वाम तालमेललाई सकारात्मक ठानेको छैन ।

तर  आफूलाई क्रान्तिकारी भन्ने पार्टी विप्लवको  वाम तालमेल र भावी एकता विषयमा भारतीय शासकसित किन कुरा मिल्छ ? के यो कुनै अघोषित मिलन त होइन ? यही वाम तालमेल र भावी एकतालाई नेपाली काङ्ग्रेसले अराजनीतिक र सामान्य राजनीतिक संस्कार विपरीत  गरेको विरोधसित ठ्याम्मै मिल्ने विप्लव पार्टीको गरेको  विरोधको अर्थ के हुन्छ ? समाजवाद स्थापनाको रणनीतिक लक्ष बोकेर हिँडेको भन्ने माओवादी  विप्लव पार्टीले त्यही महान् उद्देश्यलाई शक्ति सन्तुलन फेरेर सहज रूपमा फड्को मार्ने वाम गठबन्धनको निरपेक्ष विरोध मात्र गरिरहेको छैन, यस पार्टीले त जनताको आशा र भरोसाको एउटै वाम तालमेलका सशक्त  उम्मेदवारहरूलाई साङ्घातिक रूपमा आक्रमण गर्ने काम गरिरहेको देखिन्छ ।

प्रदेश नं. एकका प्रदेश भावी  प्रमुख इमानदार, सङ्घर्षशील तथा देश, जनता र जनजीविकाका लागि दृढप्रतिज्ञ एमाले नेता शेरधन राई चढेको गाडीमा बम प्रहार गरियो । यो घटना राईले आफैँले भने अनुसार  उनको व्यक्तिगत र राजनीतिक जीवन समाप्त पार्न एक वर्षअघिदेखिको लाखौँ लगानीमा गर्न खोजिएको  अत्यन्त शङ्कास्पद र रहस्यपूर्ण अन्तिम कडी रहेको बताएका छन् ।  यसमा विप्लवको हात हैन भने त्यसलाई खुलस्त र प्रस्ट पार्नुपर्छ, मौन बसेर हुँदैन । के यस्तो आक्रमण कम्युनिस्ट नामको माओवादी विप्लव पार्टीलाई गर्न सुहाउँछ ? के यसो गर्दा देश, जनताको भलो र जनजीविकाको सुरक्षा हुन्छ ? के यसरी जनपक्षीय राजनीति अगाडि बढाउन सकिन्छ ? पुष्पकमल दाहाल वा के.पी. शर्मा ओलीका रिसमा आम जनताको एकीकृत र सशक्त आन्दोेलनका विरुद्ध सशस्त्र सङ्घर्ष गर्न कुन कम्युनिस्ट नैतिकताले दिन्छ ? माक्र्सवाद, लेनिनवाद, माओवाद केवल जप गर्ने विषय र माला हो ? के यो विष्णु सहस्रनामको स्तुति पाठ हो  ? माक्र्सवादको नाम लिएर र माओको नाम भजाएर  माओकै बदनाम गर्नेहरू दुनियाँमा नभएका होइनन् । डा. बाबुराम भट्टराई कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने एक अर्का विम्बात्मक अवतार हुन् । यिनलाई देखाइ देखाइ तमाम प्रतिक्रयावादीहरू अहिलेदेखि नै स्याल हुइयाँ गर्न थालेका छन् । अक्सर उग्रवाद चरम अवसरवादमा परिणत हुन्छ । घिउ कुहिएपछि असाध्य गनाउँछ । कार्ल माक्र्सले यसैत्यसै कम्युनिस्ट हुनु असल मान्छे भनेअनुसार  असल व्यहोरा सानैदेखि देखापर्नुपर्छ । समाज परिवर्तनमा बललाई नै सर्वोपरि ठान्दा सिद्धान्त र विचार पक्ष कमजोर हुन्छ । विचार नै  समाज परिवर्तनको महान् बल हो । यही बल निर्बल हुन थालेपछि पार्टी उपभोगवाद र अवसरवादमा चुर्लुम्म डुब्छ । यसैले माओवादी विप्लवको विशाल भेलाका अधिकांश वक्ता नेताहरूका मन्तव्यमा कुनै सैद्धान्तिक दम यस लेखकले देखेन । ती केवल केही राजनीतिक शब्दावली रटेर र भट्याएर उग्र र अराजक प्रस्तुति गरिरहेका थिए । 


सही माक्र्सवादी र माओवादीको पहिचान उसको व्यवहारबाट हुन्छ । विप्लव पार्टीले माओवादको पुच्छर झुण्ड्याउनुमा आम जनतामा विगत माओवादी विरासद् स्वरूप प्राप्त आश र त्रासको सञ्जाल फैलाएर राजनीति गर्नु रहेको देखिन्छ । यसरी आर्थिक, भौतिक र राजनीतिक हैसियत वृद्धि गर्नखोज्नु  दिउँसै  सपना देख्नु हो । राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर अहिले भएको वाम तालमेल र एकतालाई निरपेक्ष रूपमा विरोध गरेर विप्लव पार्टीले  कुन क्रान्ति, कसको क्रान्ति र कसको सेवा गर्न खोजेको हो ? एक मनको भारी बोक्न नसक्नेले प्विन्टल बोक्छु भन्दा कसले पत्याउँछ ? के विप्लव पार्टीका उसका मित्र शक्ति हुँदैनन् ? के उसले साझा सबालमा सहकार्य, समझदारी  गर्नुपर्दैन र हुँदैन ? उहिल्यै आफू मात्र र आफ्नो पार्टी मात्र सच्चा कम्युनिस्ट हौँ भन्ने अनि संसारमा समाजवाद छैन र आएको छैन, हामीले मात्र समाजवाद ल्याउन सक्छौँ, हामी मात्र वीर हौँ भन्ने के एक्लो वीर हुन खोज्ने मसान घाटे दुस्साहसवाद र अतिवादमा रमाएर मुलुकको अग्रगति सम्भव होला र ? माक्र्सवादले  समाज परिवर्तनको  सार्वभौम र सार्वकालिक नियमबारे स्पष्ट उल्लेख गरेको छ ।

सामान्यतया नौमहिना अवधिपछि बच्चा जन्मन्छ । अपवाद स्वरूप सात महिनामा पनि गर्भस्थ शिशु जन्मन्छ तर उग्रवाद आजको भोलि वा दुई वा तीन महिनामा बच्चा जन्माउने हतारोमा देखिन्छ । कसैको इच्छाले मात्र आजको भोलि समाजवाद आउँदैन । देशको राजनीतिक, आर्थिक र आन्दोलनको परिस्थिति परिपक्व नभईकन गुणात्मक बदलाब आउँदैन । क्रान्ति कुनै रोमान्टिक विषय वस्तु मात्र होइन । सोकल्ड कम्युनिस्ट र सही कम्युनिस्टमा आनका तानको फरकहुन्छ । द्वन्द्ववाद भनेको घाँटी रेट्नु होइन ।

जीवन जगत् र राजनीति तथा  राज्यका हर क्षेत्रमा द्वन्द्व हुन्छ र द्वन्द्वात्मकता हुन्छ ।  सही कम्युनिस्टहरू  सिद्धान्तको रट मात्र लगाउँदैनन्  । एक पैसा त पैसै होइन भनेर उपेक्षा गर्दा  सय पैसा हुँदैन । सही कम्युनिस्टहरू प्राप्त उपलब्धिमा टेकेर थप उपलब्धिको प्राप्तिको देशमा लागिपर्छन् । अहिले संविधानमा समाजवादोन्मुख लेखेर शान्तिपूर्ण र वैधानिक रूपबाट समाजवाद प्राप्त हुने अनुकूल स्थिति सिर्जना गरिएको छ । दृढइच्छा शक्ति हुँदा देश, जनता र जनजीविकाका सवालमा संसदीय क्षेत्रबाट पनि धेरै  काम गर्नसकिन्छ  र गर्नेले गरकै पनि छन् । लड्ने ठाउँ पनि  ठहर गर्न जान्नुपर्छ । यति जाबो कुरा पनि नदेखेर भौँतारिँदै अग्रगमनको मार्ग प्रशस्त गर्ने महान् चुनावी अभियानमा लागि परेका वाम गठबन्धनका नेताहरूलाई मार्ने गरी वम र बन्दुक प्रयोग गर्नु कारता, उग्रता, गैरक्रान्तिकारिता मात्र होइन प्रतिक्रियावादीको सेवा नै हो ।

अझ चुनावमा होमिएका लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई पनि चुनाव नै बिथोल्ने गरी अराजक गतिविधि गर्नु किमार्थ जाति होइन । यसरी हुनेमा बल नगर्ने र  नहुनेमा कल गरेर बालहठ प्रदर्शन गर्नु माओवादी विप्लवको बुद्धिमानी होइन । अहिले निर्वाचनलाई टार्न र सार्न उद्यत नेपालको स्थिरता र समृद्धि विपरीतको पार्टी नेपाली काङ्ग्रेसलाई बल पुग्ने गरी जुन आततायी काम माओवादी विप्लवबाट भइरहेको देखिन्छ र भनिन्छ । यस्ता काम त्यस पार्टीले तुरुन्त बन्द गर्नुपर्छ ।

सत्य, न्याय र समानताको जनआवाजलाई थुन्न र छेक्न  कत्राकत्रा महारथिहरूले त सकेनन् र सक्तैनन् भने आफूलाई जनपक्षीय भन्ने माओवादी विप्लव पार्टीले अहिले गरिरहेका गतिविधिहरू बन्द गर्नुपर्छ र आफ्ना काँधमा राखेर प्रतिक्रियावादीलाई बन्दुक पड्काउन दिनु हुँदैन । यस्ता विषयमा मौन बसेर केही आर्थिक भौतिक लाभ त होला तर त्यसले सर्वनाश निम्त्याउने निश्चित छ । यसो भयो भने मात्र जनपक्षीय शक्ति भइन्छ र मानिन्छ नत्र कसैको मुखौटो र मुखारीका भरमा जनताको आन्दोलन र अग्रगमनलाई धोका दिन सकिन्न र यसलाई थुन्न र छेक्न सकिन्न ।

एक दिन भ्रमको पर्दा च्यातिन्छ । यसै पनि खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन । वाम गठबन्धनका अमुक उम्मेदवारहरू मृत्युवरण गर्न तयार छन् तर जनताको आशा र भरोसाको एक जुगमा एकपल्ट र एक दिन आएको यो सुनौलो मौका गुमाउन किमार्थ चाहँदैनन् । त्यसैले होस गरौं, आवेश र उत्तेजनामा लागेर जनशक्तिलाई कमजोर पार्ने दुसाहस नगरौँ । 

लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप