पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पाँचथर । पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकालाई आवश्यक खोप लगाएको सुनिश्चितता गरी पाँचथरलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
जिल्ला खोप समन्वय समितिले फिदिममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो ।
जिल्लाभित्रका १५ महिना मुनि उमेरका सबै बालबालिकाले उमेरअनुसारका सबै खोप लगाएको र १६ महिनादेखि ५९ महिनासम्ममा सबै बालबालिकामा १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएको सुनिश्चित गरी यस्तो घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति प्रमुख रामराज आङ्देम्बेका अनुसार १५ महिनाभन्दा कम उमेरका दुई हजार २९५ जना बालबालिकाले उमेरअनुसारका खोप लगाउँदै आएका छन् ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणका लागि जिल्लाका ३७ हजार ४४५ घरधुरीको घरधुरी सर्वेक्षण गरिएको थियो । जसमा छ हजार ९३३ घरधुरीमा ५९ महिनाभन्दा कम उमेरका बालबालिका रहेको पहिचान गरी खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइएको थियो ।
कोशी प्रदेशस्तरीय खोप समन्वय समितिका सदस्य भरतराज भण्डारीले प्रत्येक वर्ष सबै घरधुरी सर्वेक्षण भएको निश्चित गर्न स्वास्थ्यकर्मीले विशेष योगदान दिनुपर्ने बताए । “बच्चा खोज र खोप लगाउ भन्ने सरकारको नीति हो”, भण्डारीले भने, “यसमा स्थानीय सरकारले नै आर्थिक दायित्व निर्वाह गरेमात्रै कार्यक्रम निरन्तर र प्रभावकारी हुनसक्छ ।”
स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले खोपबाट कुनै पनि बालबालिका छुट्न नदिन स्वास्थ्यकर्मी र जनप्रतिनिधिले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
घोषणा कार्यक्रममा अभियान सफल बनाउन मद्दत गर्ने उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । स्थानीय तहतर्फ हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चन्द्रप्रसाद शर्मा घिमिरे पुरस्कृत भए ।
स्थानीय तहका स्वास्थ्यकर्मीमा हिलिहाङका तारा योङहाङ, फिदिमका टङ्क धमला, फालेलुङका हरिप्रसाद बाँस्कोटा, तुम्बेवाका सविना कुँवर, मिक्लाजुङका हरिकुमार शेर्मा, याङवरकका इन्द्रकुमार बेघा, फाल्गुनन्दका तीर्थराज नेम्बाङ र कुम्मायकका रोहन घिमिरेलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट स्वास्थ्यकर्मीलाई फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमार आङ्बोले प्रमाणपत्र वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?
-
राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना हुने
-
विद्यालय शिक्षा विधेयक अन्योल : किन भइरहेको छ ढिलाइ ?
-
दिल्लीबाट काठमाडौँ चल्ने बस प्रयोग गरेर तस्करी, ६ जनाविरूद्ध मुद्दा दायर