केही दिनदेखि एमसीसी विरोधी प्रदर्शनले राजधानीको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त हुँदै आएको छ । दैनिकजसो प्रदर्शनकारी र प्रहरीबीच झडप हुने गरेको छ । सो क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु भने यस प्रकारको आन्दोलनबाट दिक्क भएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म व्यापार चौपट भएको बताउने उनीहरु पछिल्लो समय एमसीसीका सम्बन्धमा भइरहेको प्रदर्शनले चिन्तित देखिन्छन् ।
दलहरुले राजनीतिक स्वार्थका आधारमा बेलाबखत यस्ता विवाद सिर्जना गर्ने गरेको उनीहरुको बुझाइ छ । एमसीसीका बारेमा सडक प्रदर्शन गर्नुभन्दा पनि राजनीतिक दलहरु नै छलफलमा बसेर समाधान खोज्नु उपयुक्त हुने व्यवसायीहरु बताउँछन् ।
राजनीतिक दलहरुको स्वार्थका आधारमा गरिने विवादमा जनतालाई आपसमा भिडाउनु उचित नहुने उनीहरुको भनाइ छ । सडकमा प्रदर्शन गर्दैमा एमसीसी रोक्न सम्भव नहुने भन्दै उनीहरु यसमा हानी हुने केही प्रावधान भएमा दलहरुबीचको छलफलबाटै सुधार गर्नुपर्ने बताए ।
दैनिक झडप झेल्दै आएका व्यवसायीहरु एमसीसी भनेको के हो भन्नेबारे आफूहरुलाई खासै जानकारी नभएको बताए । कतिपयले त एमसीसी लागु भए के हुन्छ र खारेज भए के हुन्छ भन्नेसम्म पनि आफूलाई जानकारी नभएको बताए । यद्यपि देशका लागि नराम्रो हुन्छ भने त्यसलाई स्वीकार गर्न नहुने उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया