बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसी ठिक कि बेठीक भनेर भन्न नसक्ने एमाले कस्तो पार्टी : नारायणकाजी श्रेष्ठ

शुक्रबार, १३ फागुन २०७८, १७ : १४
शुक्रबार, १३ फागुन २०७८

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी ठिक कि बेठीक भनेर भन्न नसक्ने एमाले कस्तो पार्टी हो भनेर प्रश्न गरेका छन् । शुक्रबार राजधानीमा नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनले आयोजना गरेको एमसीसीबारेको खुला बहसमा श्रेष्ठले एमसीसीबारे धारणा सार्वजनिक गर्न पनि शर्त राखेको भन्दै आश्चर्य प्रकट गरे ।

संसद सूचारु भएपछि मात्र एमसीसीबारे धारणा बनाउने भनेर एमालेले शर्त राखेको उनले सुनाए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमसीसीबारे प्रस्ट हुन आग्रह गरेको उनको भनाइ छ ।

‘खासगरी एमसीसीको विरोधमा आउनुस् भनेर उहाँहरुलाई भनेको हो,’ उनले भने, ‘ओलीलाई प्रधानमन्त्री दिइयो भनेर प्रचार गरियो ।’ श्रेष्ठका अनुसार ‘तपाई पनि एमसीसीको विरोधमा आउनुस्, एमसीसीको विपक्षमा आउनु हुन्छ भने अरु कुरामा खुला छलफल गरौं भनेर छलफलमा भनिएको हो । तर सदन सुचारु भएपछि एमसीसीलाई के गर्ने भन्नेबारे भन्छौं भनेर एमालेका नेताहरुले जवाफ दिएको उनको भनाइ छ ।

उनले एमसीसी सम्झौता नेपालको घरेलु कानुनभन्दा माथि रहेको र नेपालको घरेलु कानुनसँग बाझिएमा सम्झौतामा उल्लेखित प्रावधान लागु हुने व्यवस्था भएकै कारण यसलाई संसदमा प्रवेश गराइएको दाबीसमेत गरे । एमसीसी सम्झौता संशोधन नगरी स्वीकार्य नहुने उनले बनाए ।

‘विकासका ठेकेदारहरु’ले एमसीसीको विरोधमा उत्रिनेलाई ‘विकास विरोधी’ भनेको चर्चा गर्दै श्रेष्ठले आफूहरु जनमुखी विकासको पक्षमा रहेको प्रस्ट पारे । आफूहरुले पनि अमेरिकासहित दातृ राष्ट्रलाई नेपालको विकासमा सघाउन भनेको तर त्यस्तो सहयोग राष्ट्रिय हितको विपरीत हुन नहुनेमा आफूहरु प्रस्ट रहेको उनले बताए ।

‘बजेटको दायराभित्र पर्ने गरी नेपाल सरकारलाई सहयोग रकम दिनुस्, तपाईले बनाउनेभन्दा तेब्बर क्षमताको ट्रान्समिसन लाइन त्यही पैसाले हामी बनाउँछौं,’ उनले भने, ‘विद्युत प्राधिकरणले बनाउने भन्दा चार गुणा बढी रकम खर्च हुन्छ एमसीसीमा ।’

एमसीसी अन्तर्गत सहयोग लिनुपर्छ भने पनि अहिलेको राष्ट्रिय हित विपरीतका प्रावधान सच्याएर आएमा आफूहरु स्वीकार गर्न तयार रहेको उनको भनाइ छ । उनले भने, ‘बलजफती गर्ने हो भने हामी अस्वीकार गर्छौं, त्यसलाई असफल बनाउँछौं ।’ विदेशी सहयोगमा मात्र आधारित भएरमात्र कुनै पनि देशको विकास नहुने उनले प्रस्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप