आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पटक–पटक सर्भरमा समस्या हुँदा ई–पासपोर्ट लिन सास्ती

बुधबार, ०२ चैत २०७८, १३ : २३
बुधबार, ०२ चैत २०७८

सर्भरमा बारम्बार समस्या देखिँदा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । राहदानी विभागको ई–पासपोर्ट प्रणालीको सर्भरमा पटक पटक समस्या देखिँदा सेवाग्राहीले सास्ती भोग्न बाध्य भएका हुन् । यस्तै समस्या सिन्धुपाल्चोक, काभ्रे, भक्तपुरलगायतका जिल्ला प्रशासनमा पनि देखिने गरेको छ । 

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले ई–पासपोर्टसमबन्धी सर्भरमा समस्या देखिने गरेको बताए । उनले भने, ‘राहदानी विभागको प्रणाली चले नचलेको अफिस आएर खोलेपछि थाहा हुन्छ, नचलेपछि सेवाग्राहीलाई मर्का पर्छ ।’ 

विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउन व्यक्तिको विभिन्न रेकर्ड आवश्यक हुन्छ । कार्यालयले सहज रुपमा प्रणाली चलेको अवस्थामा ७० जनासम्मको औठा छाप, आँखाको नानीको रेकर्ड (बायोमेट्रिक) गर्ने गरेको प्रमुख जिल्ला अधिकारी खनालले बताए । 

‘सामान्य रुपमा हामीले ४० जनासम्मको काम गर्दै आएका थियौं तर, प्रणालीमा समस्या आउँदा ५ जनाको पनि काम हुँदैन’ उनले भने ।  नयाँ सिस्टम भएकाले दक्ष कर्मचारीको खाँचो रहेको पनि उनले बताए । काभ्रेपलाञ्चोक जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि यो राहदानी बनाउने प्रणालीमा बेला–बेलामा समस्या हुने गरेको बताइन् । 

ई–पासपोर्ट बनाउनेको संख्या अत्यधिक भएकाले कार्यालयमा धेरै भिड पनि हुने गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक ५० जना सेवाग्राहीको बायोमेट्रिक गर्दै आइरहेको छ । 
यता भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रणालीमा समस्या आउँदा सेवाग्राहीले गुनासो गर्ने गरेको बताइन् । 

सहज रुपमा काम गर्न सके ४० जनासम्मको बायोमेट्रिक गर्न सकिने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । 

पहाडी जिल्लाका सेवाग्राहीलाई समस्या 

दक्ष जनशक्ति र प्रविधिको अभावका बीच सरकारले यो कार्य सुरु गरेकाले पनि समस्या आउने गरको छ । काभ्रे, सिन्धुपाल्चोक जस्ता पहाडी जिल्लामा सरकारी सेवा लिन सदरमुकाम आएकाहरुको काम नभएपछि सेवाग्राहीले बास र गाँसको व्यवस्थापन गर्नु पर्ने हुन्छ । त्यसले गर्दा खर्च समेत बढ्ने गरेको धेरै सेवाग्राहीहरुको गुनासो रहेको छ । 

राज्यले डिजिटल दुनियाँमा सर्वसाधारणको पहुँच बढाउनु सकारात्मक भएपनि त्यसबारे चुस्त ढंगले काम गर्न नसक्दा सेवाग्राही समस्या पर्ने गरेका छन् ।  यातायात, मालपोत, नापी कार्यालय जस्तै जिल्ला प्रशासन कार्यालयमा पनि राहदानी विभागको प्रणाली नचल्दा आफूहरुले सास्ती भोग्नुपरेको सेवाग्राहीको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप