बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा चुनावी गठबन्धन सम्भव छैन : वीरबहादुर बलायर

'काँग्रेस एक नम्बर पार्टी बन्छ'
सोमबार, ०७ चैत २०७८, ०८ : ०८
सोमबार, ०७ चैत २०७८

 कैलाली । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा काँग्रेस एक नम्बर पार्टी बन्ने बताएका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा काँग्रेसलाई एक नम्बर पार्टी हुनबाट कसैले रोक्न नसक्ने उनको भनाइ छ ।

बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन हुने संकेत नदेखिएको पनि बताए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश सरकारमा काँग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको उनले प्रस्ट पारे ।

स्थानीय तहको निर्वाचन तयारी, सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसको अवस्था, चुनावमा गठबन्धनको सम्भावना लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायरसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएका कुराकानीको सम्पादित अंश–  
 
नेपाली काँग्रेस स्थानीय तह लक्षित चुनावी अभियानमा छ । सुदूरपश्चिम प्रदेशमा काँग्रेसको अवस्था कस्तो छ ?

स्थानीय तहको निर्वाचन नजिकिएसँगै सुदूरपश्चिम प्रदेशमा काँग्रेसको अवस्था उत्साहप्रद छ । संविधानले सूचीकृत गरेको समुदायलाई समेत कम्युनिस्टले ठगे । कम्युनिस्टबाट जनता आजित र प्रताडित छन् । त्यसको मुल रुप हाम्रो अभियानका क्रममा देखिएको छ । काँग्रेस पराजित भएका पालिकामा पनि अहिले जनताको अपार समर्थन काँग्रेसलाई रहेको हामीले देखेका छौं ।

काँग्रेसको पक्षमा जनलहर उर्लिएको रिपोर्टिङ मलाई आएको छ । यसलाई कायम राख्न पार्टी जिम्मेवार हुनुपर्ने संकेत आएको छ । हामी जिम्मेवारीका साथ आफ्नो कार्यक्रमलाई अगाडि बढाउँदै छौं । म आफै पनि चैत ८ गतेबाट सुदूरपश्चिमका ९ जिल्लाको भ्रमण गर्दैछु । चैत ८ गते दार्चुलाबाट मेरो भ्रमण सुरु हुनेछ । मैले सबै जिल्ला सभापतिलाई पनि भनिसकेको छु ।
 
केन्द्र र अन्य ६वटा प्रदेशमा सत्तामा रहेको काँग्रेस सुदूरपश्चिममा भने सत्ताविमुख छ, सुदूरपश्चिममा काँग्रेससँग जनताको अपेक्षा के छ ? काँग्रेसप्रतिको बुझाइ कस्तो छ ?
सुदूरपश्चिम प्रदेशमा हामी सत्तामा पनि छैनौं र प्रतिपक्षमा पनि छैनौं । केन्द्र र अन्य प्रदेशको गठबन्धन सुदूरपश्चिममा लागु भएको छैन । हिजो हामीले सरकारलाई समर्थन दियौँ । त्यसको बदलामा आज हामीमाथि एकदमै दमन र राज्यका स्रोत साधनको व्यापक दुरुपयोग भएको छ । हाम्रो पार्टीका वडा र टोल कमिटी गठन भएपछि हाम्रै मानिसलाई प्रलोभन देखाएर नागरिकता संकलन गर्ने काम भएको छ । त्यो हाम्रो विरुद्धको अभियान हो । यसबारे काठमाडौंमा गठबन्धनको बैठकमा उपस्थित भएर मैले कुरा राखेको थिएँ ।

हामी आगामी चुनावी गठबन्धनको परिकल्पना गरिराखेका छौं । तर वर्तमानको गठबन्धनलाई हामीले नजरअन्दाज गरिरहेका छौं । म सुदूरपश्चिम प्रदेशको पार्टी सभापतिका नाताले मौजुदा परिस्थितिमा सरकारको समर्थक भएर नेपाली काँग्रेस बस्न सक्दैन । हामीमाथिको व्यवहार र बर्बरता सहेर हामी सरकारलाई समर्थन दिएर बस्दैनौँ । हामी विपक्षमा बस्छौँ भनेर मैले गठबन्धनका नेता (प्रचण्ड र माधव नेपाल)लाई भनेको थिएँ ।
 
सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध तपाईं किन चुनावी अभियानका क्रममा आक्रामक देखिनु भएको हो ?

कम्युनिस्टको यो किसिमको व्यवहारलाई हामी सहन सक्दैनौं । अरुको पार्टी बनाउने कुरामा आफ्नो पार्टीमाथि पेट्रोल हाल्न सकिँदैन । माओवादी र एकीकृत समाजवादीले ‘गिभ एन्ड टेक’को समझदारी गर्दैनन् भने हामी प्रतिपक्षमा बस्छौँ ।

त्यही ढंगले हामीले अभियानमा रणनीति बनाएका छौं । सरकारविरुद्ध थप सशक्त अभियान थाल्छौं । उहाँहरुको अनियमितता र भ्रष्टाचारको फड्के किनाराको साक्षी हामी हुँदैनौँ ।
 
सुदूरपश्चिम प्रदेशमा काँग्रेसले एमाले, माओवादी र एकीकृत समाजवादीसँग कसरी भिड्ने तयारी छ ? के रणनीति बनाइराख्नु भएको छ ?

एमाले चुनावी अभियानमै छ । माओवादी र एकीकृत समाजवादीबीच तालमेल हुने देखिन्छ । प्रदेशका मन्त्रीहरुले सुदूरपश्चिम प्रदेशमा काँग्रेस सहभागी हुन आवश्यक छैन भन्नु भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यसमितिमा पनि काँग्रेसलाई सरकारमा ल्याउन हुन्न भन्ने रिपोर्टिङ भएको छ । त्यसले हामीलाई झस्काएको छ । हामी जबरजस्ती सरकारमा जाने पक्षमा पनि छैनौं । यसको कुनै अर्थ छैन ।
 
सुदूरपश्चिममा काँग्रेस सत्तारुढ हो कि विपक्षी भन्ने नै प्रस्ट नभएको अवस्थामा स्थानीय तहको चुनावमा जाँदा तपाईहरुलाई चुनौती त होला नि ?

पछिल्लो समय सरकार बनाउँदा मात्र हाम्रो समर्थन रहेको हो । करिब ४ वर्ष कम्युनिस्टकै शासन सत्ता थियो । हामी विपक्षी दलको सेन्टिमेन्ट लिएर जनतामाझ जान्छौं । यहाँ गठबन्धनको कुनै संकेत देखिँदैन । उहाँहरुले सरकारमा सहभागी हुनेबारे सहमति गर्नु भएन भने आ–आफ्नो बाटोमा लाग्छौं । उहाँहरुलाई सघाइराख्नुपर्ने कुनै कारण छैन ।
 
०७४को चुनावमा काँग्रेसले सुदूरपश्चिम प्रदेशमा अपेक्षाकृत जित हासिल गर्न सकेको थिएन । यसपटक गठबन्धन बिना चुनावमा जाँदा काँग्रेसले एमाले र माओवादी–समाजवादीको सहजै सामना गर्न सक्ला र ?

कम्युनिस्टहरुसँगको चुनौती स्वीकार गरेका छौं । परिस्थिति बदलिएको छ । कम्युनिस्टको दुई तिहाइले देशलाई टाँट पल्टायो । गरिबी र उत्पीडनलाई प्रश्रय दिएको छ । त्यो जनताले बुझेको छन् । काँग्रेसले धेरै भन्नुपर्ने केही छैन । जनता भुक्तभोगी छन् । हामीलाई जनताका बीचमा जानका लागि सहज र सजिलै छ ।
 
सुदूरपश्चिम त प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गृह प्रदेश पनि हो । यहाँ काँग्रेसको पक्षमा कस्तो परिणाम आउँछ ?

पार्टीमा आन्तरिक एकता गराएर चुनावमा जान्छौं । अहिलेको निर्वाचनलाई हामीले गम्भीर रुपमा लिएका छौं । हामी त्यागको भावनाबाट निर्वाचनमा जानुपर्छ । आकांक्षा राख्दै गर्दा पनि परिस्थिति नबिग्रिने गरी जानुपर्छ । उम्मेदवारबारे सम्भव भएसम्म वडा र पालिका तहबाट निर्णय लिनुपर्छ । त्यहाँबाट सम्भव नभए माथिबाट उम्मेदवार तय हुन्छ । त्यसलाई स्वीकार्नुपर्छ । त्यसमा विद्रोह गर्नुहुँदैन । हामी जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ भन्ने छ । आपसी समझदारीलाई वृहत रुपमा लैजानुपर्छ । सबैलाई साथमा लिएर जाने कोसिस गरेका छौं । भोलि उम्मेदवारी दिँदा ‘ब्याक फायर’ नहोस् भन्ने कुरामा हामी सचेत छौं । सुदूरपश्चिममा नेपाली काँग्रेसलाई नम्बर वान पार्टी बन्नबाट कसैले रोक्न सक्दैन । हामीले राम्रै परिणाम निकाल्छौँ । जसले प्रदेश र संघको निर्वाचनमा पनि राम्रो परिणाम निकाल्न सजिलो हुनेछ ।

कम्युनिस्टहरुले सुदूरपश्चिमा ब्रम्हलुट मच्चाएको अवस्था छ । उनीहरुले हामीले योजना ल्यायौं, खायौँ । तिमीहरु पनि लिएर आउ, खाउ भनिरहेका छन् । यो कुरा बुझेका जनताले काँग्रेसलाई एक नम्बर पार्टी बनाउँछन् । ८० प्रतिशत स्थानीय तह जित्ने गरी तयारी गरिरहेका छौं ।

०७४ को निर्वाचनमा हाम्रो तयारी पुगेको थिएन । हाम्रा विरुद्ध एमालेले युद्ध छेडेको थियो । काँग्रेसका उम्मेदवारले ४/५ दिनमात्र प्रचार प्रसारको समय पाए । हामीले प्रचारको मौका नै पाएनौं । यसपटक हामी सचेत भएर दुई महिनाअघि नै अभियानमा खटेका छौं ।
 
अन्य पार्टीको अवस्था र रणनीतिको पनि अध्ययन गर्नु भएको होला । सुदूरपश्चिममा काँग्रेसले मुख्य प्रतिस्पर्धी कसलाई ठानेको छ ?

मुख्य प्रतिस्पर्धा हाम्रो र एमालेको बीच नै हो । सत्ता र गठबन्धनको आडमा माओवादी र समाजवादी पार्टीका साथीहरु जित्छु भन्दै हुनुुहुन्छ । सत्ता भएरमात्र चुनाव जित्न सकिँदैन भन्ने कुरा उहाँहरुले बुझ्नुभएको छैन । उहाँहरु नेतामा देखिनुभयो तर जनतामा कति देखिनुहुन्छ, हेरौं । उहाँहरुको यस्तै रवैया हुने हो भने जनताले सबकचाहिँ सिकाउनुुहुन्छ ।
 
सुदूरपश्चिममा काँग्रेस र माओवादी–एकीकृत समाजवादीबीच चुनावी गठबन्धन हुने सम्भावना छ कि छैन ?

प्रदेश सरकारमा काँग्रेस सहभागी हुने सन्दर्भमा उहाँहरुको बुद्धिको बिर्को खुल्दैन भने आसन्न निर्वाचनमा गठबन्धनको परिकल्पना गरेर हिँड्नु बुद्धिमता होला र ? कुन किसिमको गठबन्धन भनिरहेका छौं, मैले बुझिराखेको छैन ।
हामीलाई काँग्रेसभित्रका अतिवादी भनिन्छ । हामीले गठबन्धन हुन नदिएको आरोप छ । तर उहाँहरु सरकारमा भएर हामीलाई किन पेलिराख्नु भएको छ ? सुदूरपश्चिमको मुख्यमन्त्री डोटीबाट हुनुहुन्छ । डोटीमा उहाँले काँग्रेसप्रति हेर्ने दृष्टिकोण के हो ? उहाँले आफ्नो दृष्टिकोण र व्यवहारलाई परिवर्तन नगर्ने अनि हामीले बोकिदिनुपर्ने ?
 
अहिलेकै अवस्थामा सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धन अनुसार चुनावी गठबन्धन हुँदैन भन्नेमा तपाई प्रस्ट हो ?

कसरी होला त ? गठबन्धन हुने भए त हामी सरकारमा हुन्थ्यौं । उहाँहरुले आफ्नो सहजता भएको ठाउँमा हामीलाई बन्देज लगाएपछि हामीले उहाँका लागि किन सहजता गरिदिनुपर्ने ? उहाँहरुको बहुमत हुँदा हुँदै समर्थन ग¥यौं । सत्ता पक्षमा बस्यौं । सबै कुरा भयो । तर उहाँ एकलौटी गरिराख्नु भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा उहाँहरुले नियुक्त गर्नुभयो । हामीलाई एक शब्द पनि सोध्नु भएन । उहाँले सरकार सञ्चालन गर्ने कुरामा हाम्रो सहभागिताको कहीँ गन्ध नआउने हो भने गठबन्धन कसरी हुन्छ ? खै मलाई थाहा छैन । उहाँहरुले कुन गठबन्धन चाहनु भएको हो, मैले बुझेको छैन ।
 
सरकारमा सहभागिताबारे माओवादी र एकीकृत समाजवादीका केन्द्रीय नेताको भनाइ कस्तो बुझ्नु भएको छ ?

केही दिन अघि प्रचण्ड र माधव नेपालसँग हाम्रो सभापति र उपसभापति (पूर्णबहादुर खड्का) बीच भएको छलफलमा म पनि सहभागी थिएँ । मैले त्यहाँ हामीलाई सत्तामा सहभागी गराउने हो कि विपक्षमा बस्न भन्ने हो ? यता न उता हुने परिस्थिति राम्रो भएन । सरकारमा आउनुस् भने सरकारमा बस्छौँ । सरकारमा नआउनुस् भन्नुहुन्छ भने प्रतिपक्षमा बस्न तयार छौं भनेर प्रस्ट भनियो । तर कुरा के हो भने देशमा काँग्रेस नेतृत्वको गठबन्धनको सरकार बन्छ । प्रधानमन्त्री पनि सुदूरपश्चिम प्रदेशकै हुनुहुन्छ । त्यतिमात्र होइन, सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसको उहाँ सभापति पनि हो । तर उहाँकै प्रदेशमा काँग्रेस गठबन्धनको रिफ्लेक्सन देखिँदैन । काँग्रेसलाई सरकारमा सहभागी गराउनका लागि उदार भइएन भने कुन किसिमको गठबन्धनको परिकल्पना गरेका छौं भनेर मैले प्रचण्ड र माधव नेपाललाई सोधेको थिएँ ।
 
उहाँहरुले के भन्नु भयो ?

माधव नेपालले मलाई दुई /तीन दिनको समय दिनुस् भन्नु भएको थियो । उहाँहरुको केन्द्रीय समिति बैठक थियो । उहाँको केन्द्रीय समितिमा सुदूरपश्चिमका नेताहरुले काँग्रेसलाई सरकारमा ल्याउनुहुन्न भन्नुभयो । त्यसैले हामी दुई वटै कुरालाई स्वीकार गर्न तयार छौं ।
 
त्यसो भए गठबन्धनको कुनै सम्भावना नै छैन ?

प्रदेशमा मैले त्यो सम्भावना देखेको छैन । तर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतलाई सहगोग गर्न सकिन्छ । यति प्रतिशत काँग्रेस, यति प्रतिशत माओवादी र समाजवादी भनेर गठबन्धन कुनै पनि ठाउँमा हुँदैन ।
 
सुदूरपश्चिममा माओवादी र एकीकृत समाजवादीले काँग्रेसलाई सरकारमा ल्याउन उदारता नदेखाएको बताउनुभयो । तर प्रचण्डले धनगढीमा काँग्रेसलाई सरकारमा सहभागी गराउने सहमति भइसकेको बताउनुभएको थियो । सहमति भएको छैन र ?

कुनै सहमति भएको छैन र थिएन । ४ वटा मन्त्रालय एकीकृत समाजवादी, माओवादी र काँग्रेसलाई दुई/दुई वटा मन्त्रालय र एक/ एक राज्यमन्त्री मिलाएर जाऊ भन्ने हाम्रो कुुरा हो । तर त्यहाँ कसले छोड्ने ? हामीले कसलाई छोड भन्ने ? त्यो त उहाँहरुले बुझ्ने कुरा हो । हामीलाई सरकारमा सहभागी गराउन तीन वटा महत्वपूर्ण मन्त्रालयमध्ये एउटा काँग्रेसले पाउनुपर्छ ।
 
काँग्रेसलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन माओवादी र समाजवादी तयार छन् त ?

यो कुुरा भएको दुई हप्ता भइसक्यो । निर्वाचन नजिक आउँदै छ । हामी त्योबाट टाढा जाँदैछौं । समझदारीमा हुने कुरालाई लम्ब्याएर समय खेर फाल्ने काम गर्नुहुँदैन भन्ने हाम्रो कुरा हो । भोलि आचारसंहिता लाग्छ । त्यसभित्र गठबन्धन खोजेर हुँदैन । सीमा पार गरिसकेपछि ब्याक भएर फेरि सरकारमा सहभागी हुने कुरामा हामी असहमत हुने छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप