शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘विदेशबाटै माओवादीलाई भोट मागिदिनुहाेस्, यो हतियारबिनाको ब्याटल हो’

माओवादी फुटाउने प्रयास असफल भयो, हामी नै राजनीतिको केन्द्रमा : प्रचण्ड
बुधबार, ०९ चैत २०७८, २१ : २३
बुधबार, ०९ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा आगामी स्थानीयसहित तीनै तहको चुनावमा माओवादी बलियो शक्तिको रुपमा स्थापित हुनपर्ने बताएका छन् । परिवर्तन विरोधी शक्ति सल्बलाएकाले उनीहरुको षडयन्त्रलाई रोक्न माओवादी बलियो शक्तिका रुपमा स्थापित हुनुपर्ने प्रचण्डको भनाइ छ । 

माओवादी केन्द्रको बुधबार सम्पन्न प्रवास समन्वय समितिको विशेष राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई जिताउन प्रवासका रहेका नेता कार्यकर्ताको पनि महत्वपूर्ण भूमिका रहेको बताए । उनले सम्भव भए नेपाल फर्किएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे । त्यस्तो सम्भावना नभए अहिले भएकै स्थानबाट प्रविधिको प्रयोग गरेर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे । ‘सम्भव भए १० दिन १५ दिन बिदा मिलाएर आफ्नो भूगोलमा आएर चुनावी कार्यक्रममा खटिनुस् । सम्भव छैन भने प्रविधिको प्रयोगमार्फत परिवार, आफन्त र नजिककासँग पार्टीलाई भोट मागेर माहोल बनाउनुस्’, प्रचण्डले भने, ‘अहिलेको प्रविधिको प्रयोग गरेर तपाईँहरुले विदेशबाटै पनि भोट माग्न सक्नुहुन्छ । लाखौँ जनमत पार्टीको पक्षमा पार्न सक्नुहुन्छ ।’

उनले पार्टीका लागि आगामी चुनाव एक खालको ब्याटल भएको प्रचण्डले बताए । ब्याटलमा हतियारमात्रै नचलेको उल्लेख गर्दै प्रचण्डले  यो हतियारबिनाको राजनीतिक ब्याटल भएको बताए । उनले पार्टीलाई देशी विदेशी शक्तिको घेराबन्दी भएको उल्लेख गर्दै त्यो घेराबन्दी तोड्न पनि पार्टीले जित्नैपर्ने बताए । 

माओवादी फुटाउने प्रयास असफल भयो 
प्रचण्डले एमसीसीमा गरिएको सुझबुझपूर्ण निर्णयले माओवादीलाई फुटाउने प्रयास असफल भएको पनि बताए ।  देशी विदेशी शक्तिले माओवादीलाई फुटाउन तथा कमजोर बनाउन अनेक षड्यन्त्र गरेको बताउँदै प्रचण्डले त्यसकै लागि एमसीसीमा दाउ हेरेपनि त्यो सम्भव नभएको बताए । ‘अहिलेपनि पार्टीभित्र कुनै फाटो सिर्जना गर्न सकिन्छ कि भनेर निकै प्रयास भयो । तर एमसीसीबारेको व्याख्यात्मक घोषणाले त्यो षड्यन्त्र असफल भएको  छ’, उनले भने । एमसीसी पास भएपछि पार्टीभित्र फाटो ल्याउन प्रयास भएपनि सबै फरक मतलाई सम्बोधन गरिने भएपछि पार्टी एकढिक्का भएको बताए । केन्द्रीय समिति बैठकमा फरक मतलाई समेटेर अघि बढ्ने र आवश्यक परे सबै फरक मतबारे पार्टीमा उपयुक्त समयमा हुने प्रचण्डले बताए । 

हरेक संकटमा देशलाई निकास दिने माओवादी नै 
अध्यक्ष प्रचण्डले हरेक संकटमा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताए ।  युद्धलाई शान्तिमा रुपान्तरणदेखि संविधानसभाबाट संविधान जारी गर्ने होस् वा प्रतिगमनबाट देशलाई बचाउन कार्यमा नै किन नहोस् हरेक समस्यामा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताए । ‘हरेक समस्यामा संकट मोचनको भूका माओवादीले खेल्नुपरेको छ । शान्तिप्रक्रियालाई सफलताको बिन्दुमा लैजान गरिएको जोखिमपूर्ण निर्णय गरियो ।  संविधान बनाउने विषयमा कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाएर पनि पहलकदमी लिएको हो’, प्रचण्डले भने, ‘निर्वाचनतिर देशलाई  लैजाने कुरा होस् वा राजनीतिक स्थायित्वबारे होस् हाम्रै पार्टी र नेतृत्वले लिएका ऐतिहासिक पहलकदमी हुन् ।’

एमसीसी पास गर्नुअघि पनि प्रतिगमनका अनेक तानाबाना बुन्ने काम भएको भन्दै प्रचण्डले त्यसबाट देशलाई पार लगाउन पनि आफ्नै पार्टीले पहलकदमी लिएको प्रचण्डले बताए । एमसीसीबारेको व्याख्यात्मक घोषणाले एउटा निकास निस्किएको भन्दै यो सही कदम भएको पनि बताए । प्रचण्डले पार्टीमा पुनः आकर्षण बढेको पनि बताएका छन् । पार्टीलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताउँदै प्रचण्डले त्यसलाई चिर्दै आगामी चुनावमा पार्टी बलियो अवस्थामा खडा हुनुपर्ने बताए । प्रचण्डले प्रतिक्रियावादीहरुो चाहना विपरीत पार्टीमा देशभर आकर्षण देखिएको दावी गरे । ‘आउने निर्वाचनलाई माध्यम बनाएर बाहिरी र भित्री प्रतिक्रियावादी कसरी माओवादीलाई कमजोर बनाउन सकिन्छ वा फुटाउन सकिन्छ भनेर लागेका छन् । तर, माओवादीप्रति आकर्षण बढेको छ’, प्रचण्डले भने, ‘मधेसमा हजारौँको संख्यामा नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । यो देशभर नै देखिएको छ ।’उनले  संसारभरीका प्रतिक्रियावादीहरुले माओवादीलाई कमजोर पार्न षड्यन्त्रहरु जारी राखेको भन्दै यसबारे सबै सचेत हुनुपर्ने बताए । 

अझै माओवादी नै राजनीतिको केन्द्रमा 
प्रचण्डले आफ्नो पाटीलाई देशी विदेशी प्रतिक्रियावादीहरुले अपमानित गर्ने प्रयास गरेपनि राजनीतिको केन्द्रविन्दुमा भने माओवादी नै रहेको बताए ।े बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नेहरुले पार्टी सिद्धियो भनेपनि लड्दै उड्दै पार्टी नै राजनीतिको केन्द्रमा रहेको बताए । ‘अवसरवादीहरुबाट निरन्तर हामीलाई अपमानित गर्ने  प्रयास भएको छ । तर राजनीतिको केन्द्रबिन्दु माओवादी नै  हो’, प्रचण्डले दोहोर्याए, ‘माओवादी हजारौँ पटक सिद्धियो भनेका छन् तर केन्द्रमा हामी नै छौँ । यसबाट उनीहरुलाई सहिसक्नु भएको छैन’, प्रचण्डले भने, ‘पार्टी फुटाउने र कमजोर पार्ने षड्यन्त्रहरु चलिनै रहेका छन् । अरुहरुका लागि यो सामान्य चुनावमात्रै हो, माओवादीको लागि सामान्य चुनावमात्रै होइन । एउटा ब्याटल हो ।’

उनले आगामी चुनाव प्रतिगमन र क्रान्ति कसले जित्ने भन्ने भन्नेबीचको भएको पनि बताए । ‘हामीले यो ब्याटल जित्नु छ । एउटा चुनावमा कसैले जित्ने र हार्ने जस्तो होइन । हजारौँ सहिदको त्याग र बलिदानको जगमा खडा भएको संविधान हो यो । यसको रक्षाको दायित्व हाम्रो काँधमा छ ।’, प्रचण्डले भने।   कार्यक्रममा प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले वैचारिक राजनीतिक कार्यदिशालाई थप संश्लेषण गर्न जरुरी रहेको बताए ।  उनले पार्टी र जनताबीचको सम्बन्ध कमजोर भएको औंल्याउँदै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताए । प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रवास समन्वय समितिका सहइन्चार्ज, सचिवलगायत विदेशमा रहेका जनप्रगतिशील मञ्चका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप