सांसदको देश दौडाहा : बजेट छलफल नै रोकियो

सांसदहरू उपस्थित नहुँदा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ । सोमबार बिहान १०:३० देखि बस्नेगरी समिति बैठक डाकिएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल तय भएको थियो ।
अर्थ समितिका २३ सांसद सदस्यमध्ये बैठकमा सहभागी हुन जम्मा २ सांसदमात्रै सिंहदरबारस्थित संघीय संसद सचिवालय, अर्थ समिति बैठक कक्षमा पुगेका थिए । नेकपा (एमाले) का सांसद घनश्याम भुसाल र नेकपा (समाजवादी) का सांसद मेटमणि चौधरीमात्रै बैठक कक्षमा पुगेका हुन्। समिति सभापति कृष्णप्रसाद दाहाल सांसदहरूलाई कुरेर बसिरहे ।
बजेट छलफलमा जुट्नुपर्ने सांसदहरू नै नआएपछि राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी बाहिरिए । उनले मन्त्रिपरिषद् बैठकमा जानुपर्ने भएकाले बाहिरिएको बताएपनि सांसद नै संसदीय समिति बैठकमा उपस्थित नहुनु मुख्य कारण थियो ।
सांसदहरु चुनावी अभियानमा केन्द्रीत भएकाले बैठकमा अनुपस्थित रहेको बताइएको छ । अर्थ समिति सचिव सुरेन्द्र भण्डारीले अब अर्थ समिति बैठक नै अनिश्चित भएको बताए । `माननीयज्यूहरु उपस्थित नहुँदा समिति बैठक नै अनिश्चित भएको छ, अब स्थानीय तह निर्वाचनपछि मात्रै बस्न सक्ने देखियो,´ उनले भने, `शुक्रबार र आइतबार पनि बैठकमा सबै माननीयज्यूहरू उपस्थित हुनुभएन, तर पनि पूर्वबजेट छलफल चलायौं । आज त पूर्ण बैठक नै डाकिएको हो, तर बैठक सञ्चालन निम्ति कोरम नै पुगेन ।´
योजना आयोग र अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि प्रकृया अघि बढाएसँगै अर्थ समितिले पूर्व बजेट छलफल थालेको हो । आज बस्ने भनिएको पूर्ण बैठकमार्फत समितिले अर्थ र आयोगलाई आगामी बजेटमा समावेश गर्नुपर्ने विषयबारे निर्देश गर्ने भनिएको थियो ।
तर, सांसद नै उपस्थित नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सैनिक प्रवक्ता फेरिए, सहायक रथी राजाराम बस्नेतलाई जिम्मेवारी
-
माओवादीको पदाधिकारी र केन्द्रीय समितिको आकार बढ्यो, १० प्रतिशतसम्म समायोजन हुने प्रावधान निष्क्रिय
-
नेप्से परिसूचकमा उच्च अङ्ककाे गिरावट
-
पर्वतारोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री
-
टाउको दुखेका बिरामीलाई आइरन चक्की दिइएपछि...
-
प्रतिनिधि सभा बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित