शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा फागुनसम्म ७ अर्ब बढी राजश्व संकलन

सोमबार, १४ चैत २०७८, १७ : २७
सोमबार, १४ चैत २०७८

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको फागुनसम्ममा ७ अर्बभन्दा बढी राजश्व संकलन गरिसकेको जनाएको छ । मन्त्रालय स्थापना र मन्त्री घनश्याम दाहालको नियुक्तिको एकसय सदन पुरा गरेको अवसरमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले सरकारले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा यातायात क्षेत्रबाट मात्र ७ अर्ब १२ करोड ७३ लाख रुपैयाँ राजश्व संकलन गर्न सफल भएको बताए ।

सरकारले यस वर्ष यातायात क्षेत्रबाट कुल १० अर्व राजश्व संकलनको लक्ष्य लिएकोमा आगामी असार मसान्तसम्ममा लक्ष्यभन्दा बढी राजश्व संकलन हुने उनले बताए । मन्त्री दाहालले यातायात क्षेत्र प्रदेश सरकारको राजश्वको मुख्य श्रोत रहेको बताउँदै यस क्षेत्रको सेवा प्रवाहलाई सहज बनाउनुपर्ने बताए ।  

उनले बागमती प्रदेशबाट २ लाख १५ हजारभन्दा बढीले लाइसेन्सका लागि आवेदन प्राप्त भइसकेको र हालकै अवस्थाको सेवा प्रवाहले २०२४ सम्म पनि लाइसेन्स वितरण हुन नसक्ने बताए । लाइसेन्स वितरण सहज नभएको खण्डमा प्रदेश तहबाटै लाइसेन्स जारी गर्ने प्रक्रिया अगाडि बढाइने र यातायात क्षेत्रलाई विचौलिया मुक्त बनाएर सेवा प्रवाहलाई मर्यादित तथा व्यवस्थित बनाउने उनले बताए ।

उनले सिन्धुलीको खुर्कोटमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्न तथा चितवन र मकवानपुरमा रहेको यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नतिका लागि प्रक्रिया अगाडि बढाइएको बताए । यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरको कार्यालय भवन तथा ट्रायल सेन्टर निर्माणका लागि जग्गा प्राप्तिको प्रकृया अगाडि बढाइएको मन्त्री दाहालको भनाई छ ।

त्यस्तै प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सवारी साधनमा विद्युतीय माध्यमबाट भाडा भुक्तानी हुने व्यवस्था मिलाउन सेवाप्रदायक छनौटको प्रक्रिया कार्य भइरहेको उनले बताए । प्रदेशभित्र विद्युतीय सवारी सञ्चालनको लागि चार्जिङ स्टेशन निर्माणमा सरकार अघि बढेको उनले बताए । सरकारले चितवनको पारस बसपार्क, मकवानपुरको हेटौंडा बसपार्क र काठमाडौंको गोङ्गबु बसपार्कमा विद्युतिय सवारी सञ्चालनका लागि चार्जिङ स्टेशन निर्माणको सम्झौता अन्तिम तयारीमा रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप