आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : दिल्लीमा देउवा–भाजपा अध्यक्ष भेट्न पार्टी कार्यालय गए

काठमाडौंका पेट्रोल पम्पमा लाइन, ढुवानी ठप्प
शुक्रबार, १८ चैत २०७८, २२ : ११
शुक्रबार, १८ चैत २०७८

आज मिति २०७८ साल चैत महिनाको १८ गते शुक्रबार । आज दिनभरका मुख्य-मुख्य घटनाक्रमसहित रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौँ ।

१. दिल्लीमा देउवा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिल्ली पुगेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार दिउँसो नेपाल वायुसेवा निगमको विमानमार्फत् दिल्ली उडेका थिए ।

​नेपाल र भारतबीच स्वास्थ्यसम्बन्धी तीन एजेन्डामा छलफल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको  तीन दिने भ्रमणका क्रममा सहमति हुन लागेको हो ।   भ्रमणका दौरानमा स्वास्थ्यसँग सम्वन्धित केही विषयमा समझदारी गर्ने गरी छलफल हुने स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम विडारीले जानकारी दिए ।

भ्रमणमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका विषयमा सहमति हुने भएकाले मन्त्री र सचिव सो टोलीमा सहभागी भएको उनले बताए ।

​प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् ।

भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।

​२. पार्टी कार्यालयमै पुगेर देउवाले भेटे भाजपा अध्यक्ष

भारत भ्रमणमा रहेका देउवा सत्तारुढ दल भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् ।  तीन दिनको भ्रमणका लागि आज भारत पुगेका देउवा विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग भेटपछि भाजपाको मुख्यालय पुगेका हुन् । पार्टी कार्यालयमा देउवालाई भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले स्वागत गरेका थिए । प्रधानमन्त्री जस्तो व्यक्ति भाजपाको पार्टी कार्यालय पुगेको भन्दै आलोचना भएको छ । उता देउवाले प्रतिपक्षी दलका नेता भेट्न कुनै कार्यक्रम तय भएको छैन ।

​देउवाले शनिबार भने आफ्नो समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । भेटपछि जनकपुर जयनगर रेल उद्घाटन गर्नेछन् ।

३. प्रवासी नेपालीको गुनासो

नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा दूतावासमा दिवाभोजसहितको औपचारिक कार्यक्रमै राखेर प्रवासी नेपालीहरुको गुनासो सुन्ने पुरानै प्रचलन हो । तर, प्रधानमन्त्री देउवाको यो भ्रमणमा उक्त परम्परा तोडिएको प्रवासी नेपालीले गुनासो गरेका छन् ।

दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपाली संगठनका प्रमुखहरुसँग प्रधानमन्त्रीले भेटघाट गर्ने र औपचारिक कार्यक्रमकै आयोजना गर्ने प्रचलन रहँदै आएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले रातोपाटीसँग भने, ‘हाम्रा प्रधानमन्त्री भारत आउँदा हामीले संयुक्त रुपमा ज्ञापनपत्रमार्फत मागहरु राख्ने गरेका थियौं । तर, दूतावासले यसपालि औपचारिक कार्यक्रम राखेन । यसमा हाम्रो गुनासो प्रधानमन्त्रीज्युसँग होइन, नेपाली दूतावास र प्रधान कार्यालयसँग छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्रीप्रति हाम्रो सम्मान छ ।’

​४. पेट्रोल पम्पमा लाइन

व्यवसायीले शुक्रबारदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन् । सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।

पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ । व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्णरुपमा रोकेको एलपी ग्यास उत्पादक एसोसिएसनका अध्यक्ष कुस मल्लीले रातोपाटीलाई बताए ।

हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ । व्यवसायीले बिक्री वितरण रोकेसँगै देश भरका पेट्रोलपम्पमा लाइन सुरु भइसकेको छ ।

​५. कोरोनाबारे जानकारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै १८ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको बताएको छ । खोप अभियान सुरु भएको १४ महिना वितिसक्दा पनि अझै १८ प्रतिशतले खोप लगाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार १८ वर्ष माथिका ८२.४ प्रतिशत र ९३.५ प्रतिशतले  कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

​६. मन्त्री नपुग्दै भवन उद्घाटन !

धनकुटा नगरपालिका २ स्थित भिरगाउँमा आठ कोठे पक्की स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा १ करोड ९७ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन शनिबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने तय भएको थियो ।

यसका लागि झाँक्री शुक्रबार नै विराटनगर हुँदै धनकुटातिर उक्लेकी छन् । तर, मन्त्री झाँक्री धनकुटा पुग्नुअगावै धनकुटाका एमाले सांसद राजेन्द्र राईले भिरगाउँ पुगेर भवन उद्घाटन गरि भ्याएका छन् ।

७. भारतबाट आयो नयाँ मूल्यसूची

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । जसअनुसार पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।

पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार अन्य इन्धनको मूल्य भने बढेको छ । डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले मूल्य बढेर आएको छ  ।

८. मन्त्रिपरिषद् निर्णय

सरकारले आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार जानकारी दिए ।

यस्तै बैठकले अरुण ३ जलविद्युत परियोजनाका लागि चाहिने जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ।   यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय बैठक गरेको छ ।

​९. पत्रकार रिहा गर्न माग

दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि संयुक्त अरब इमिरेट्सको आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो ।

पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

१०. र, यो पनि...

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा थप सदस्य मनोनयन गरेका छन् । काँग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले यही चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार सदस्य थप नियुक्त गरेका हुन् ।

​एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको दुई स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।  शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले ४ जनालाई पक्राउ गरेको एक प्रहरी अधिकारीले बताए ।

​पपुवा न्युगिनी (पीएनजी) ले त्रिकोणत्मक टी–ट्वान्टी सिरिजमा मलेसियालाई पराजित गरेको छ । शुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा मलेसियालाई ८ विकेटको फराकिलो जित निकालेको हो ।  त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको १९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर १९९ रन बनायो ।

​नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार १४ अंकको गिरावट आएको छ । आइतबारदेखि नै घट्न थालेको नेप्सेमा आजसहित लगातार तेस्रो दिन  गिरावट आएको हो । नेप्सेमा आइतबार ४१ अंकको र हिजो सोमबार २९ अंकको गिरावट आएको थियो । लगातार दुई दिनदेखि घट्दै आएको नेप्से आज फेरि १४ अंकले घटेको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप