आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको खाका बन्दै, कुलमानविरुद्ध खनिए व्यवसायी

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई
सोमबार, २१ चैत २०७८, २१ : ३८
सोमबार, २१ चैत २०७८

आज २०७८ चैत २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको खाका बन्दै, त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई, जब ओलीले भने– ‘...म कम्युनिस्ट होइन’, स्थानीय तहको निर्वाचनमा कुन दलका कस्ता नारा ?, भरतपुर महानगरको मेयरमा काँग्रेसको दाबी, कुलमानविरुद्ध खनिए विराटनगरका व्यवसायी लगायत छन् ।

१. सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको खाका बन्दै
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै सत्तारुढ गठबन्धनले चुनावी तालमेलको खाका तयार पार्ने कामलाई पनि तीव्रता दिन थालेको छ । गठबन्धनमा रहेका पाँच दलबीच स्थानीय तहको निर्वाचनमा तालमेल हुने भएको हो । विभिन्न जिल्लामा बसेको गठबन्धनको बैठकले तालमेलको खाका तयार पार्ने निर्णय गरेको छ । 

२. त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई
नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि हासिल गरेको छ । सोमबार घरेलु मैदानमा पपुवा न्युगिनीलाई पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित सिरिजमा नेपालका दीपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

३. जब ओलीले भने– ‘...म कम्युनिस्ट होइन’
नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट नभएको दाबी गरेका छन् । उनले ओली कम्युनिस्ट नभइ दक्षिणपन्थी भएको आरोप लगाए । खनालले यस्तो आरोप लगाएकै दिन अर्थात् सोमबार ओलीले पनि कम्युनिस्ट चरित्रबारे टिप्पणी गरेका छन् । उनले सोमबार आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट भए आफू कम्युनिस्ट नहुने बताए ।

स्थानीय तहको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले विभिन्न नारा तय गरी प्रचार प्रसार अभियान थालेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलले चुनावी नारा बनाएर प्रचार प्रसार थालेका हुन् । नेकपा एमालेले भने घोषणापत्रसँगै चुनावी नारा ल्याइने जनाएको छ । 

५. ठुला दलको नाममात्र फरक, विचार एउटै : लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका तीन ठुला दल नामले अलग भए पनि उनीहरुको विचार र व्यवहार एकै खालको भएको आरोप लगाएका छन् । वैदेशिक हस्तक्षेप भित्र्याउन तीनै दल उत्तिकै जिम्मेवार रहेको उनको भनाइ थियो । यता, राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने विगतमा ठुलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकार गरेका छन् ।

६. भरतपुर महानगरको मेयरमा काँग्रेसको दाबी
भरतपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसले दाबी गरेको छ । अघिल्लो निर्वाचनमा काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सो पालिकामा गठबन्धन भएको थियो । जसअनुसार मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी थिइन् । उपमेयरमा भने काँग्रेस विजयी भएको थियो ।

७. पशुपति धर्मशालाको सम्झौता रद्दपछि बतास समूहको यस्तो प्रतिक्रिया
विवादित पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दका सञ्चालक बतास समूहले सम्झौता रद्द गर्ने विषय व्यवसायीमाथि राज्य आतङ्क भएको आरोप लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको धर्मशालामा सञ्चालित होटल आनन्द सम्झौता बमोजिम सञ्चालनमा नरहेको निष्कर्षसहित सम्झौता रद्द गर्ने निर्णय गरेको छ । तर, यस्तो निर्णय ऐन, नियम तथा प्रचलन विपरित मात्र नभई व्यवसायीमाथि राज्य आतङ्क समेत भएको भन्दै बतास समूहले आक्रोश पोखेको छ ।

८. कुलमानविरुद्ध खनिए विराटनगरका व्यवसायी
देशकै पहिलो औद्योगिक नगरी विराटनगरका व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरूलाई ढाँटिरहेको आरोप लगाएका छन् । विराटनगरमा दैनिक १२ घण्टादेखि १६ घण्टासम्म लोडसेडिङ गराएर वीरगन्ज र भैरहवामा चाहिँ चार घण्टामात्र लोडसेडिङ गरेको विराटनगरका उद्योगीको आरोप छ ।

९. र यो पनि,
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेलको सम्भावना टर्दै गएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले “स्थानीय तह निवार्चन–२०७९ घोषणापत्र तयारी समिति“लाई पूर्णता दिएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप