बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शंकर र कृष्णबहादुरको राजनीतिक क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

शुक्रबार, २५ चैत २०७८, २३ : ०५
शुक्रबार, २५ चैत २०७८

एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चुनाव लड्ने जिल्ला हो । अघिल्लो संघीय चुनावमा महरा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए भने शंकर चाहिँ प्रदेशसभामा विजयी भएका थिए ।

दुई प्रभावशाली नेताको राजनीतिक क्षेत्र भएकाले आगामी स्थानीय तह निर्वाचनमा दाङको नतिजा कस्तो होला भन्ने धेरैमा चासो हुन सक्छ । अन्य जिल्लामा जस्तै दाङमा पनि सत्ता गठबन्धनबीच तालमेलका लागि छलफल चलिरहेको छ भने गठबन्धन बिनै लड्ने तयारीमा छ ।

१० वटा स्थानीय तह मध्ये गत निर्वाचनमा एमालेले दुई उपमहानगरपालिका सहित ६ वटा पालिका प्रमुख जितेको थियो । यस्तै ३ वटा काँग्रेसले जितको थियो भने एउटामा माओवादी केन्द्रले जितेको थियो । एमालेले जितको सबै पालिकामा निकटतम प्रतिद्वन्द्वी र तेश्रो ठुलो मत ल्याउने अहिलेका गठबन्धन दल काँग्रेस र माओवादी केन्द्र भएकोले एमालेलाई अघिल्लो विरासत जोगाउन निकै मुस्किल देखिन्छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको अघिल्लो निर्वाचनका मत परिणामको विश्लेषण गर्दा बढी चासोका साथ हेरिएको दुई उपमहानगरपालिका मै एमालेका लागि खतरा देखिन्छ ।   घोराही उपमहानगरपालिकामा २२ हजार ३० मत ल्याएर विजयी भएको थियो एमाले ।

उसको निकटतम प्रतिद्वन्द्वी काँग्रेसले १७ हजार ४८४ मत ल्याएको थियो । जसअनुसार एमाले भन्दा ४ हजार ५४६ फराकिलो मतान्तरले पछाडि रहेको काँग्रेसलाई यतिबेला ऊ सँग टक्कर गर्न कुुनै डर छैन । किनकी त्यतिबेला माओवादी केन्द्रले १२ हजार ८२ मत ल्याएको थियो ।

अथवा माओवादी केन्द्रले प्रमुख पद पाए पनि एमालेसँग भिड्न सक्छ । हुन त एमाले अध्यक्ष केपी ओलीले पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव तथा नेकपा माओवादी केन्द्र घोराही नगर कमिटीका अध्यक्षलाई एमालेमा भित्र्याएका छन् ।   तर उनी एमाले परेर खासै असर नगर्ने माओवादी नेताहरुको जिकिर छ ।

तुल्सीपुर उपमहानगरपालिकामा २२ हजार ८५७ मत ल्याएर एमाले विजयी भएको थियो । उसको निकटतम प्रतिद्वन्द्वी काँग्रेसले १८ हजार ९०३ मत ल्याएको थियो । जहाँ एमाले भन्दा काँग्रेस ३ हजार ६८४ मतान्तरले पछाडि थियो । तर त्यतिबेला माओवादीले ८ हजार ६९३ मत ल्याएको थियो । त्यसमाथि एकीकृत समाजवादी र राम्रै मत भएको जनमोर्चा, जनता समाजवादी समेत गठबन्धनको साथमा रहेकोले गठबन्धनबाट जो उठेपनि एमालेसँग भिड्न सहज रहेको गठबन्धनको निष्कर्ष छ ।

 अन्य पालिकाको अंकगणित

गढवा गाउँपालिका

गढवामा नेकपा एमालेले ३ हजार ६७७ मत ल्याई जित हाँसिल गरेको थियो । निकटतम प्रतिद्वन्द्वी काँग्रेसले ३ हजार ३०४ मत ल्याएको थियो । एमाले र माओवादी केन्द्रबीच त्यति बेला ३७३ मतको अन्तर देखिन्छ ।  त्यतिबेला काँग्रेसले ३ हजार ३१ मत प्राप्त गरेको थियो ।

  दङ्गीशरण गाउँपालिका

यस पालिकामा पनि ३ हजार १६१ मत ल्याई एमालेले जित हाँसिल गरेको थियो । निकटतम प्रतिद्वन्द्वी काँग्रेसले २ हजार ८४१ मत ल्याएको थियो । जहाँ ३२० मतको अन्तर देखिन्छ । जबकी त्यतिबेला माओवादी केन्द्रले २ हजार ४८५ मत ल्याएको थियो ।

बंगलाचुली गाउँपालिका

 यो स्थानीय तहमा ३ हजार ३५२ मत ल्याई माओवादी केन्द्र विजयी भएको थियो । निकटतम प्रतिद्वन्द्वी काँग्रेसले २ हजार ५१५ ल्याएको थियो । एमालेले १ हजार ६३४ मत ल्याएको थियो । अघिल्लो चुनावमा जितेको र निकटतम प्रतिद्वन्द्वी दुबै काँग्रेस, माओवादी केन्द्र रहेकोले त्यहाँ पनि गठबन्धनलाई सहज देखिन्छ ।

बबई गाउँपालिका

बबई गाउँपालिकामा ४ हजार २७९ मत ल्याई एमाले विजयी भएको थियो । निकटतम प्रतिद्वन्द्वी काँग्रेसले ३ हजार ९५९ मत ल्याएको थियो । यी दुई दलबीच विगतमा ३१२ मतको अन्तर थियो । जबकी अहिले गठबन्धन मै रहेको माओवादी केन्द्रले त्यति बेला २ हजार ५४३ मत ल्याएको थियो ।

राजपुर गाउँपालिका

 यस पालिकामा काँग्रेसले २ हजार ३९५ मत ल्याएर विजय प्राप्त गरेको थियो । निकटतम प्रतिद्वन्द्वी माओवादीले १ हजार ८५८ मत ल्याएको थियो । १ हजार ७८१ मत ल्याएको एमाले तेश्रो बनेकोले अहिले थप सकस देखिन्छ ।

राप्ती गाउँपालिका

 ४ हजार ७९७ मत ल्याएर त्यस पालिकामा काँग्रेसले जितेको थियो । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रले ३ हजार ९४२ मत ल्याएको थियो । तेश्रो बनेको एमालेले ३ हजार ५५७ मत ल्याएको थियो ।

लमही नगरपालिका

 यस पालिकामा ५ हजार १५२ मत लिएर एमालेले प्रमुख पद जितेको थियो । निकटतम प्रतिद्वन्द्वी काँग्रेसले ५ हजार ६९ मत ल्याएको थियो । त्यतिबेला एमालेको भन्दा काँग्रेसको जम्मा ८३ मतको अन्तर थियो ।  जबकी त्यतिबेला अहिले गठबन्धनमा रहेको माओवादी केन्द्रले ४ हजार ८१ मत ल्याएको थियो ।

  शान्तिनगर नगरपालिका

शान्तिनगरमा ३ हजार ८५२ मत ल्याएर काँग्रेस विजयी भएको थियो । निकटतम प्रतिद्वन्द्वी एमालेले २ हजार ९२४ मत ल्याएको थियो । फलतः एमाले ९२८ मतले पराजित भएको थियो । जबकी उतिबेला माओवादीले २ हजार ८३७ मत ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप