बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिस्पर्धीको नजरमा कस्तो रह्यो हेटौँडाका मेयरको कार्यकाल ?

मेयरकै भाइ भन्छन्– नगरवासीको अपेक्षा अनुसार काम भएन
मङ्गलबार, २९ चैत २०७८, २३ : ००
मङ्गलबार, २९ चैत २०७८

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनका बाबजुद नेकपा एमाले विजयी भएको थियो । एमालेले उपमहानगर प्रमुख र उपप्रमुखका अतिरिक्त हेटौँडाका १२ वटा वडाका अध्यक्ष पदमा समेत जित हासिल गरेको थियो ।

हेटौँडामा एमालेका हरिबहादुर महतले काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार मेयरमा गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई पराजित गरेका हुन् । महतले २३ हजार १२४ मतका साथ जित हासिल गर्दा काँग्रेसका पराजुलीले २२ हजार ७०९ मत पाएका थिए । पराजुलीको पक्षमा खसेको ७ हजार २०४ मत बदर भएको थियो ।

यता उपमेयरमा पनि एमालेकी मिनाकुमारी लामाले जित हासिल गरिन् । लामाले गठबन्धनका उम्मेदवार बलराम बललाई पराजित गरेकी हुन् । लामाले २३ हजार ४३७ मत पाउँदा बलले १७ हजार ११ मत पाएका थिए ।

मेयर हरिबहादुर महत ५ वर्षे कार्यकालको अन्तिम समयमा छन् । उनले आफ्नो कार्यकालमा उपमहानगरभित्र विकासका काम प्रभावकारी ढङ्गले सञ्चालन भएको दाबी गरेका छन् । तर अघिल्लो निर्वाचनमा उनका प्रतिस्पर्धी रहेका नेताहरू भने सो दाबीलाई ‘झुट’ भन्दछन् ।

जनतामा भ्रम फैलाउने काम भएको छ : पराजुली

२०७४ सालको निर्वाचनमा हेटौँडाको मेयर पदमा महसँग पराजित भएका काँग्रेस नेता आनन्दराम पराजुलीले पाँच वर्षको अवधिमा हेटौँडा उपमहानरमा खासै उल्लेख्य कुनै काम हुन नसकेको बताए । मेयर महतले २५ मिटर सडक विस्तारको मुद्दालाई लिएर जनतामा भ्रम फैलाउने काम गरेको पराजुलीको आरोप छ ।

‘संघीय सरकारले गर्न नसकेको काम गर्छु भन्ने अनि नगर्ने ! जनतामा भ्रम फैलाउने काम मेयरबाट भएको छ । हेटौँडामा २५ मिटर सडक विस्तार गर्छु भन्नेर भ्रम फैलाउने तर गर्न नसक्ने,’ उनले भने, ‘उपमहानगरपालिकाको त्यो क्षमता नै छैन । यो संघीय सरकारले गर्ने काम हो । त्यसको सहजीकरण गर्ने अधिकार उपमहानगरपालिकालाई छ ।’

मेयर महतले चुनावमा सार्वजनिक गरेको घोषणापत्र अनुसार कुनै पनि काम गर्न नसकेको पराजुलीको भनाइ छ । उनले भने, ‘मेयरले उपमहानगरको विकासका लागि कुनै पनि पहल गरेका छैनन् । बजारमा फूल रोपेर, ढलान गरेर उपमहानगरपालिकाको विकास गरेको भन्ने देखाउन खोजेका छन् । मलाई लाग्छ, त्यो विकासको काम होइन । त्यो सामान्य प्रक्रियामा हुने कुरा हो । त्यसैले मलाई लाग्छ– यी ५ वर्षको अवधिमा मेयर महत सफल छैनन् ।’

उनका अनुसार मेयर महतले कर्रा खोलाको कोरिडोरलाई बेवास्ता गरे । खानेपानीका योजनाहरू, उद्योग व्यवसायको व्यवस्थापन, पार्किङ्ग, निःशुल्क स्वास्थ्य, शिक्षाका योजनाहरू ल्याउनुपर्ने भए पनि यो पाँच वर्षको अवधिमा त्यस प्रकारको काम हुन नसकेको उनको भनाइ छ ।

मेयर महतले आफ्नो स्वार्थका आधारमा तीन वर्षसम्म जग्गा प्लानिङ रोकेको तर स्वार्थ पूरा भएपछि त्यसलाई फुकुवा गरेको पराजुलीले बताए ।

मेयरकै भाइ भन्छन्– नगरवासीको अपेक्षा अनुसार काम भएन

मेयर महतका सहोदर भाइ तथा २०७४ को निर्वाचनमा नेकपा मालेबाट मेयर पदमा उम्मेदवार भिमसेन महतले हेटौँडाका मेयरले आफ्नो कार्यकालमा जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको आरोप लगाए ।

राज्यबाट छुट्याएको सामान्य प्रकारको विकास पूर्वाधारको काम भने मेयर महतले राम्रोसँग गरेको उनको भनाइ छ । ‘राज्यबाट छुट्याएको बजेट अनुसारको काम गर्नु ठूलो कुरा होइन । उहाँले पूर्वाधारतर्फको विकासमा गर्नु भएको काम राम्रो छ,’ उनले भने, ‘तर, नगरवासीको अपेक्षा अनुसारको काम उहाँले गर्न सकेको देखिँदैन । समग्र रूपमा भन्नुपर्दा विकास नगरेको होइन तर पूर्वाधार विकासमात्र विकास होइन र विकासको गति पनि देखिएको छैन ।’

मेयर महतले ५ वर्षको अवधिमा ३२ प्रतिशत काममात्र काम गर्न सकेको उनी बताउँछन् । मेयर महतको कार्यकालमा ट्याक्स बढाउने काम गरेको उनले बताए । ‘ट्याक्स बढाइएको छ तर, अन्यमा भने जहाँको त्यहीँ छ,’ उनले भने, ‘प्रविधिको प्रयोग गरेर जनताको काम सहज र छिट्टो बनाउनु पर्ने हो । त्यसो हुन सकेको छैन । अझै पनि नगरवासीहरुको काम झन्झटिलो नै छ ।’

उनका अनुसार मेयर महतले गौरवका योजनाहरुमा काम गर्न सकेका छैनन् भने नगरवासीको लगानीमा हुप्रा चौरमा बनाइएको सभागृहलाई बिना योजना भत्काएर जनताको कर मास्ने काम गरेका छन् ।

उपमहानगरमा विकासका खासै काम भएनन् : मधुकर प्रसाद अधिकारी

अघिल्लो निर्वाचनमा राप्रपाबाट हेटौँडाको मेयर पदका उम्मेदवार रहेका मधुकर प्रसाद अधिकारी पनि यो पाँच वर्षको अवधिमा उपमहानगरमा खासै उपलब्धिमूलक कुनै काम हुन नसकेको बताउँछन् ।

उनका अनुसार मेयर महतको कार्यकालमा जनताले अनुभूति गर्ने प्रकृतिको काम हुन नसकेको हो । हेटौँडाको वासुदेव सभागृह भत्काएकोमा पनि उनले मेयरको आलोचना गरे । ‘हेटौँडामा सरकारी कार्यक्रम गर्ने हल नै छैन । सरकारी कार्यालयको कार्यक्रम होटलहरुमा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘मेयर महतले वासुदेव सभागृहलाई व्यवस्थित गरेर सञ्चालन गर्न सक्नु हुन्थ्यो तर, त्यसो हुन सकेन । अहिले त्यो सभाहल भत्काइएको छ ।’

हेटौँडा बजार क्षेत्रको सडक विस्तार नहुँदा समस्या भएको भन्दै उनले मेयर महतले सडक फराकिलो गर्ने दिशामा काम नै अघि बढाउन नसकेको आरोप लगाए । १९ वटै वडाका जनताको पहुँचमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत सेवा पुग्न नसकेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप