मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा गठबन्धनका दलहरु आ-आफ्नै अडानमा

बुधबार, ३० चैत २०७८, २० : २८
बुधबार, ३० चैत २०७८

कैलालीमा आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीले प्रमुख पदमा दाबी गर्न समस्या देखिएको छ । केन्द्रीय पाँच दलीय गठबन्धनले तय गरेको गठबन्धनभित्र सिट बाँडफाँटका आधारमा एस पार्टीले प्रमुख पदमा दाबी गर्न नसक्ने देखिएको हो ।  

‘२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिहरूलाई दिने भन्ने आधार’ उल्लेख छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा अहिले एस पार्टीका प्रमुख तथा अध्यक्ष पदमा छैनन । २०७४ सालको निर्वाचनमा चार वटा स्थानीय तहमा नेपाली काँग्रेस, दुई वटामा नेकपा माओवादी केन्द्र र सात वटा स्थानीय तहमा नेकपा एमालेका उम्मेदवारहरू प्रमुखमा निर्वाचित भएका थिए । नेकपा एमाले दुई धारमा गएपछि माधव कुमार नेपालको नेतृत्वमा गठित एस पार्टीबाट कैलालीमा एक स्थानीय तहमा उपप्रमुख कायम रहेकी छन् । दल छनौट प्रक्रियामा गोदावरी नगरपालिकाकी प्रमुख रतना कठायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले सो पार्टीमा सनाखत गरेकी थिइन् । अहिले मोहन्याल गाउ“पालिकाकी उपाध्यक्ष माओवादी केन्द्र पार्टीमा प्रवेश गरिसकेकी छिन ।

जिल्लाको पाँच दलीय गठबन्धनको बैठकमा एस पार्टीले पाँच वटा स्थानीय तहमा आफनो दाबी निरन्तरता दिएको छ । बुधबार बसेको अनौपचारिक बैठकमा पनि सो पार्टीले कैलालीको गोदावरी, गौरीगंगा, घोडाघोडी र लम्कीचुहा नगरपालिका तथा चुरे गाउँपालिकामा दाबी जारी राखेको थियो । बैठकले भने कुनै निर्णय नलिई वैशाख ३ गते बस्ने गरी स्थगित गरेको थियो ।

काँग्रेस र माओवादीको दाबी बढ्ने
२०७४ सालको निर्वाचनको मतभारका आधारमा काँग्रेस र माओवादी केन्द्रको स्थानीय तहमा दाबी बढ्ने देखिएको छ । चार स्थानीय तहमा प्रमुख तथा अध्यक्ष रहेको नेपाली काँग्रेस र दुई स्थानीय तहमा बलियो रहेको माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा दोस्रो स्थानमा रहेका स्थानीय तहमा पनि दाबी गर्ने तयारी गरेको छ ।

२०७४ को निर्वाचनका आधारमा नेपाली काँग्रेसले कैलालीको गोदावरी, लम्की, टीकापुर नगरपालिका तथा चुरेमा दाबी गर्ने  काँग्रेस कैलाली सचिव केशव मिश्रले बताए । उनका अनुसार हाल धनगढी उपमहानगरपालिका, बर्दगोरिया, जानकी र जोशीपुर गाउँपालिकाको प्रमुख पदमा काँग्रेसबाट निर्वाचित प्रतिनिधी रहेका छन । उनले २०७४ को निर्वाचनमा दोस्रो स्थानमा रहेका स्थानीय तहमा पनि काँग्रेसले आगामी निर्वाचनमा गठबन्धनभित्र दाबी गरिरहेको बताए । गठबन्धनभित्रको दल नेकपा माओवादी केन्द्रबाट अहिले भजनी नगरपालिका र कैलारी गाउँपालिकामा प्रमुख पदमा रहेका छन् । माओवादी केन्द्रले घोडाघोडी, गौरीगंगा र मोहन्याल गाउँपालिकामा दाबी गरिरहेको छ ।

जसपाको तीन स्थानीय तहमा दाबी
पाँच दलीय गठबन्धनभित्र असन्तुष्ट जनता समाजवादी पार्टीले कैलालीका तीन स्थानीय तहमा दाबी गरिरहेको छ । काँग्रेसको नेतृत्वमा प्रदेश सरकार पुर्नगठन हुँदा आफनो पार्टीलाई सहभागि नगराएपछि गठबन्धनभित्र असन्तुष्ट व्यक्त गर्दै आएको सो पार्टीले तीन वटा स्थानीय तहमा प्रमुख पद पाउनुपर्ने अडान कायम गरेको छ ।

जसपाले कैलालीको जानकी गाउँपालिका, जोशीपुर र भजनी नगरपालिकामा प्रमुख पद दाबी गरिरहेको छ । जसपाले थारु बाहुल्य क्षेत्र रहेको स्थानीय तहमा दाबी गरिरहेको छ । कैलाली अध्यक्ष ग्याप्रसाद कुश्मीले गठबन्धनका नाममा आफूलाई स्थानीय तहमा निर्वाचित हुनमात्र प्रयोग गरेको जस्तो व्यवहार गरिरहेको बताए । उनले अहिले पनि छलफल जारी रहेकाले गठबन्धनबाट प्रदेश सरकारमा सहभागिता गराउने र दाबी गरेका स्थानीय तहमा जसपाले पाउनुपर्ने बताए । ‘गठबन्धन हामी कायम राख्ने पक्षमा छौ’ उनले भने –‘तर, हाम्रा कुरा र माग पनि त गठबन्धनका ठुला दलहरुले सम्बोधन गर्नुपर्ने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप