आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिज्ञा पत्र सार्वजनिक गर्दै विवेकशील साझाले भन्यो–‘परिपक्व दुई महिलालाई काठमाडौँ महानगरको जिम्मा लगाऔँ’

शनिबार, ०३ वैशाख २०७९, १६ : ०९
शनिबार, ०३ वैशाख २०७९

विवेकशील साझाले काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरका उम्मेदवार सहित प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले विवेकशील साझाले उमेरका हिसाबले र महिला सशक्तीकरणका हिसाबले ४० वर्षमुनिको युवा महिला र ६० वर्षमाथिको अर्को महिलालाई उम्मेदवारको रूपमा अघि सारेको बताइन् । उनले महानगरका लागि दुवै जना महिला उम्मेदवार उठाएर एउटा उपलब्धि हासिल गरिसकेको दाबी गरिन् । 

कार्यक्रममा बोल्दै उनले भनिन्–‘काठमाडौँ महानगरमा समस्याका चाङ छन् । व्यक्तिगत समस्या समाधान गर्न सङ्घर्ष गरेजस्तै हामी महानगरको समस्या पनि झेल्दै जुझ्दै समाधान गर्छौँ । काठमाडौँ महानगरमा समस्याको जड कहाँ छ त्यसलाई पत्ता लगाउनुपर्छ । हामीले बनाएको घरको जग बलियो छैन भने त्यो घर भत्किन्छ । अरू पार्टीको जग के हो र उनीहरूको बारेमा महानगरवासीलाई सचेत गराउँछौँ । इन्मान्दारिता, पारदर्शीताका आधारमा काठमाडौँ महानगरका लागि काम गर्ने प्रतिबद्धता जनाउँछु ।’ विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी ३८ वर्षीय उम्मेदवार बास्कोटा कानुनको विद्यार्थी रहेको जानकारी दिइएको छ । 

यस्तै उपमेयरकी उम्मेदवार ६२ वर्षीय कृति तुलाधारले आफू उपमेयरमा सफल भएमा काठमाडौँ महानगरलाई सफा, सुन्दर र संस्कृतिको संरक्षण गर्ने प्रतिज्ञा जनाइन् । पार्टीले बनाएको प्रतिज्ञा पत्रमा उल्लेख भए अनुसार शिक्षा स्वास्थ्यदेखि हरेक विकासका काम अघि बढाउन आफू प्रतिबद्ध रहेको बताइन् । तुलाधरले स्नातक तहसम्मको अध्ययन गरेकी छिन् । 

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले जे गर्न सकिन्छ त्यो मात्रै प्रतिज्ञा पत्रमा उल्लेख गरिएको बताए । अघिल्लो स्थानीय तहमा काठमाडौँ महानगरका जनताले सम्मानजनक मत दिएको तर पर्याप्त मत नभएका कारण काम गरेर देखाउन नसकेको बताए । 

५ वर्षमा ७३ अरबको बजेट हुँदा लगभग ४० अरब मात्र खर्च भएको र त्यसमा पनि त्यसमा पनि ३३ प्रतिशत मात्र विकास बजेट खर्च गर्न भएको उनले बताए । पैसा भएर पनि महानगरमा काम नभएको उनले बताए । काठमाडौँमा नेवाःहरुको बस्ती भए पनि नेवाःको वास्तुकला हराउँदै गएको, सम्पदाहरु, नदीनालाको संरक्षण नभएको बताए । बजेट भएर पनि काम गर्न नसकेको, खर्च भएको पनि धेरै बेरुजु रहेको बताए । उनले रुख र सूर्य हेरेर मात्र सक्षम उम्मेदवार हेरेर मात्र भोट दिन उनले आग्रह गरे । 

उनले क्षमता नभएका नेताहरूका कारणले हैन नेताहरू इमान्दार नभएका कारण विकास हुन नसकेको बताउँदै विवेकशील साझाले काठमाडौँ महानगरका लागि उठाएका उम्मेदवारहरू इमान्दार रहेको दाबी गरे । उनले दुवै महिला उम्मेदवार काम गर्नका परिपक्व भएकोले काठमाडौँ महानगरको जिम्मा लगाउन आग्रह गरे । 

उनले आफ्नो दलले गर्न सकिने काम मात्र प्रतिबद्धता गरेको बताउँदै भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि काम गर्ने बताए । 

यस्ता छन् विवेकशील साझाका मुख्य केही प्रतिबद्धताहरू : 

भ्रष्टाचार नियन्त्रण, सफा र व्यवस्थित काठमाडौँ बनाइनेछ ।  भ्रष्टाचार र सुशासन प्रवर्द्धन, डिजिटल काठमाडौँ अन्तर्गत प्रशासनिक काम घरबाटै गर्न सकिने व्यवस्था गरिने, योग तथा ध्यानको व्यवस्था गरिने, अपाङ्गमैत्री संरचना बनाइनेछ । 

सुलभ सार्वजनिक यातायात, विद्युतीय सवारी साधन सञ्चालन, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात निःशुल्क गरिनेछ । विद्युतीय यातायात व्यवस्था गरिनेछ । ३ वटा मेट्रो रेल स्थापनाको लागि व्यवस्था गरिनेछ । 

महानगरपालिकाका लागि विद्युतीय सवारी साधन मात्र खरिद गरिनेछ । महानगरका विभिन्न क्षेत्रमा बहुतलीय पार्किङ क्षेत्रको व्यवस्था गरिनेछ । नेवारहरूको घरलाई परम्परागत वास्तुकलामा रूपान्तरण गर्न नगरपालिकाबाट सहयोग गरिनेछ । परम्परागत सांस्कृतिक सम्पदाहरूको सम्पदाको संरक्षण गरिनेछ । 

महानगर अन्तर्गतका सार्वजनिक जग्गा पहिचान गरी सार्वजनिक पार्क बनाइनेछ । काठमाडौँका निश्चित क्षेत्रमा सवारी साधन निषेध गरी पर्यटकहरूका लागि छुट्याइनेछ । घर घरमा आकाशे पानी सङ्कलनको काम गरिनेछ । 

काठमाडौँ उपत्यकामा वायु प्रदूषण रोक्न योजना बनाई कार्यान्वयन गरिनेछ । फोहोर व्यवस्थापनका लागि पुन प्रयोग गर्न मिल्ने र नमिल्ने फोहोर छुट्याई फोहोर व्यवस्थापन गरिनेछ । महानगरको विभिन्न क्षेत्रमा खेलकुद क्षेत्रको विकास गरिनेछ । कौसी खेतीलाई प्रवर्द्धन गरिनेछ । 

सडकमा व्यवसाय गर्नेहरूका लागि वैकल्पिक व्यवस्था गरिनेछ । सामुदायिक विद्यालयमा १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप