शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउण्ड झापा-२ : थापालाई महिला उमेदवार पवित्राको टक्कर

मङ्गलबार, १२ मङ्सिर २०७४, १२ : ३१
मङ्गलबार, १२ मङ्सिर २०७४

 झापा– झापा कम्युनिष्टहरुको उर्वर र आधार भूमि मानिन्छ । सिपि मैनाली,राधाकृष्ण मैनाली,केपी ओली,देवी ओझा,नरेश खरेल लगायतका कयौ कम्युनिष्ट नेता झापाले नै जन्माएको छ । 

जनताको मुक्तिका लागि जीवनको आहुति दिने धेरै कम्युनिष्ट नेताहरु पनि झापामै जन्मिए । रामनाथ दाहाल, कृष्ण कुइँकेल ,वीरेन राजवंशी,नेत्र घिमिरे,नारायण श्रेष्ठ सहिद भएको ठाउँ पनि झापा नै हो । उनीहरुकै पदचाप पछ्याउदै राजनीतिमा सक्रिय भएकी नेतृ हुन्–पवित्रा निरौला (खरेल) । 

निरौला झापा क्षेत्र नं २ बाट वामगठबन्धनका तर्फबाट चुनावी मैदानमा उत्रेकी छन् । झापा क्षेत्र नं २ शहर र गाउँ मिलेर बनेको छ । झापाको विर्तामोड शहर क्षेत्र नं २ मा नै पर्छ । केही दिनअघि एमालेको झापा जिल्ला पार्टी कार्यलयमा भेटिएकी पवित्राको दिनचर्या विगत १५ दिनदेखि चुनावी प्रचारप्रसारमा व्यस्त छिन् ।
गलामा सयपत्री फूलको माला लगाएकी पवित्रा बाहिरबाट हेर्दा जति सादा देखिन्छन् वैचारीक रुपमा भने त्यो भन्दा निकै कडा ।

कुराको मियो खोल्दै गर्दा पवित्रा पुन एक पटक त्यहि झापा आन्दोलनको पेरिफेरिमा पुगिन् । भन्छिन् ‘२०२० सालमा दमक नपा ३ मा जन्मे । १४ बर्षको उमेरमा नै पञ्चायतविरुद्ध लड्ने विद्यार्थी संगठन अनेरास्ववियूमा संगठित भएँ । त्यहिँबाट मैले राजनीति यात्रा सुरु गरेकि हुँ ।’ राजनीतिक यात्राका क्रममा दमक बहुमुखि क्याम्पसमा २०३६ सालतिर स्ववियू सदस्यमा निर्वाचित भइन उनी । समाजमा हुने विभेदविरुद्ध लड्नुपर्छ भनेर राजनीतिमा लागेको बताउने पवित्रा त्यसविरुद्ध लड्दा जेलसम्म पुगिन् । 

गिरफ्तार भएर जेल बस्दा उनी झापा जिल्लाको महिला संघको संयोजक थिइन् । २ बर्ष २६ दिनको जेल बसाईले उनलाई कमजोर होइन झन इस्पात बनायो । सत्ताले झुकाउन खोज्दा पनि नझुकेर दुश्मनको किल्लाबाट बाहिर आउँदा झन् खारिएर निस्किन् उनी  । 

त्यसपछि पुन राजनीतिमा सक्रिय भइन्, झापाका गाउँ टोल घुमिन् । उनले नटेकेको झापाको कुनै गाउँ टोल बाँकी छैन । 
भन्छिन्‘कम्युनिष्टहरुको आधार भूमि हो झापा । यहाँका मतदाताहरु कम्युनिष्टलाई माया गर्छन् । भोट दिनछन् । म जित्छु ।’ 

कम्युनिष्टहरु भुमिगत हुँदा सबैभन्दा बढी सेल्टर बसेको ठाउँ हो २ नं क्षेत्र । यहि आधारभूमिबाट चुनावी मैदानमा छन् पवित्रा । उनीसंग प्रतिस्पर्धी छन् नेपाली काँग्रेसका झापा जिल्ला सभापति उद्धव थापा । थापा घर दैलोमा व्यस्त थिए । उनले भने ‘आफुलाई वाम गठबन्धनले केहि फरक पार्दैन । मतदाताहरु धेरै चलायमान छन् । त्यसकारण मेरो जित निश्चित छ । ’

गठबन्धन भन्दा पनि जनताको मन कसले जितेको छ त्यसले चुनाव जित्ने बताउँछन् थापा । पवित्रा भने वाम गठबन्धनका कारण झापाका सबै क्षेत्र गठबन्धनले जित्ने बताउँछिन् । उनले भनिन –काग्रेससँग जनताका लागि के गर्ने भन्ने भिजन नै छैन । कांग्रेस अहिलेपनि २००७ साल भन्दा यता आउनैसकेको छैन । 

पवित्राले आफू चुनाव जितेपछि संविधानको कार्यन्वयन, समृद्ध शान्त नेपाल बनाउने पनि बताइन् । महिलाहरुलाई हरेक क्षेत्रमा ३३ प्रतिशत अनिर्वाय भनेपनि त्यो पूर्ण रुपमा कार्यन्वयन हुन नसकेकाले कार्यन्वयन गर्न पहल गर्ने उनको विश्वास छ ।

कृषि र पर्यटनलाई मुख्य योजना बनाएर कार्यन्वयन गर्ने मतदातालाई विश्वास दिलाएकी उनले झापाको चिया र सुपारीको व्यवस्थापन,बजारीकरण र कृषकलाई सहुलियतमा ऋण दिने आफ्नो योजना रहेको सुनाइन् । 

पछिल्लो मत परिणाम हेर्दा थापाले भने जस्तो जित्न सजिलो भने छैन । यहाँको मत परिणाम वामपन्थी गठबन्धनको पक्षमा बढी देखिन्छ । झापा क्षेत्र नं २ मा अर्जुनधारा नपा,बुद्धशान्ति गाउँपालिकाका १,२ र ३ नं वडा छन् । कन्काइ नपाका ८ र ९ नं वडा छन् ,विर्तामोड नपाका १ देखि ९ वडा सम्म मिलेर बनेको छ ।

यी सबै वडाहरुको मत जोड्ने हो भने वामपन्थीको पक्षमा ४० हजार भन्दा बढी मत पुग्छ । यसमा राप्रपाको मतपनि जोडिएको छ । काँग्रेको मत भने करिब करिब २२ हजार भन्दा अलि बढी छ । यो मतको आधारमा कांग्रेसले जित्न धेरे मेहनत गर्नु पर्नेदेखिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप