शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

क्विन्टलको ढकले पनि गठबन्धन गर्ने अवस्था आइसक्यो : देवेन्द्र पौडेल

‘वामपन्थीभित्रको पहिलो शक्ति बन्छौँ’
आइतबार, ०४ वैशाख २०७९, ०९ : २५
आइतबार, ०४ वैशाख २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेट्न निवास पुग्दा उनी हस्याङ्फस्याङ गर्दै थिए । शनिबार सबैले छुट्टी मनाइरहँदा मन्त्री पौडेललाई भने विभिन्न कार्यक्रम भ्याउने चटारो थियो । ‘ल छोटै भए पनि कुरा गरौँ,’ मन्त्री पौडेलले भनेपछि कुराकानी अगाडि बढायौँ ।

कुराकानीमा मन्त्री पौडेल २०७४ सालको स्थानीय निर्वाचनको भन्दा माओवादीको अवस्था सुध्रिएको भन्दै आशावादी देखिए । ‘पहिले भन्दा बलियो भएका छौँ । पहिले भन्दा धेरै स्थानीय तह जित्छौँ,’ उनको भनाइ थियो । सानातिना विभाजनले गण्डकीमा माओवादीलाई असर नगर्ने उनको हिसाब छ । गठबन्धन भएपछि एमालेलाई सङ्कट परेको पनि उनको बुझाइ छ । प्रस्तुत छ आसन्न स्थानीय तहको निर्वाचनकै सेरोफेरोमा केन्द्रित रहेर मन्त्री पौडेलसँग वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंश :

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्येबाट माओवादीले कति जित्ने आँकलन छ?

हामीले यसअघिको निर्वाचनमा पाँच स्थानीय तह जितेका थियौँ । अहिले त्यो भन्दा बढी जित्छौँ । पहिला माओवादी पार्टीको जे जस्तो स्थितिमा थियो त्योभन्दा पर गएर सुदृढ भएको छ । त्यो बेला माओवादी पार्टी विभाजनको असर गोरखा लगायत समग्र गण्डकीका जिल्लामा परेको थियो । अहिले त्यो घाउ केही छैन ।  सबै पुरिएको छ । त्यसैले पहिले भन्दा बलियो भएका छौँ । पहिले भन्दा धेरै स्थानीय तह जित्छौँ । 

अर्को कुरा हामीले आफ्नै संगठनको बलमा चुनाव जित्ने भन्ने छ । यदि त्यसो हुन नसकेमा चुनावी तालमेल गरेर सहभागी हुने छौ । यदि तालमेल भयो भने एकल रूपमा जित्ने भन्दा बढी जित्छौँ ।

माओवादीले भित्री रूपमा आँकलन गरेको होला नि फेरि भनिदिनुस् कति सिट जित्नुहुन्छ?

अहिले नै भन्न सकिँदैन । किनकि गठबन्धनमा संवादहरू चलिरहेका छन् । पहिलेको भन्दा हामीले एक्लै पनि राम्रो गर्न सक्छौँ भन्ने रिपोर्ट छ । चुनावी तालमेल गर्दा वामपन्थीहरू पहिलो शक्ति माओवादी बन्छ र गठबन्धनमा भएका दलहरूले एकले अर्कोलाई भोट हाल्ने स्थिति बन्नु पर्छ ।

अघिल्लो चुनावमा चार जिल्लामा पाँच स्थानीय तह मात्रै जित्नु भयो । सात जिल्लामा निल भयो । हारेका अधिकांश स्थानीय तहमा तेस्रो हुनुहुन्छ । कसरी राम्रो नतिजा ल्याउनु हुन्छ

तेस्रो भएको शक्तिलाई पहिलो बनाउने सम्भव छ । राजनीतिमा सकिँदै नसकिने भन्ने हुँदैन । माओवादी मन वचनदेखि लाग्यो भने पहिलो हुन सक्छ । माओवादीमा त्यो आत्मविश्वास देखेको छु । तपाईंले भने जस्तो गण्डकीमा माओवादी कमजोर छैन ।  हामीले पछिल्लो समय संगठन बलियो बनाएका छौँ । कर्णाली र सुदूरपश्चिम क्षेत्रको तुलनामा गण्डकी कमजोर देख्नु स्वाभाविकै हो । यद्यपि तपाईंले भने जस्तो कमजोर भन्ने छैन । अस्ति भर्खरै पोखरामा प्रदेश स्तरीय प्रशिक्षण भयो । त्यहाँ उत्साहजनक सहभागिता भयो । 

प्रदेशका ८५ पालिका र वडाबाट माओवादीको कमिटी बनाएर सक्रिय बनाएको छ । सबै ठाउँमा पार्टीका संरचनाहरू बनेका छन् । सबै ठाउँमा माओवादीको बलियो भई प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको छ ।

माओवादीको पूर्वी क्षेत्रमा कमजोर भनिन्थ्यो तर सातै प्रदेशमध्ये गण्डकी नतिजामा सबैभन्दा कमजोर देखिएको हो नि?

कमजोरै जस्तो मलाई लाग्दैन । यस अघिको निर्वाचनलाई हेर्नुभयो भने पाँच स्थानीय तह जितेको छ । पार्टीको संगठन र सदस्यलाई हेर्दा कमजोर छैन । फेरि अरू पार्टीहरू पनि सक्रिय भएको हुनाले समस्या हुन सक्छ । तर माओवादी गण्डकीमा देशैभरका कमजोर भयो भन्ने साँचो होइन ।

एमाले फुटको असर तपाईंहरूले लिने सम्भावना छ कि छैन?

एमाले विभाजनको असर सबैतिर छ । गण्डकीको चित्र हेर्दा काँग्रेस पहिलो पार्टीको रूपमा छ । त्यसपछि एमाले र माओवादी छ । तेस्रो पनि पहिलो र दोस्रोको भन्दा थोरै मत अन्तरले छ । एमाले फुटको असर तुलनात्मक रूपमा कम धेरै परेको छ । मनोवैज्ञानिक रुपमा पनि त्यसको असर भयानक पर्नेवाला छ । 

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्नो संगठन बनाइरहेको छ । कहीँ न कहीँ एमाले हिजोको स्थितिमा रहँदैन । यसो गर्दा माओवादीको फुटको असर गर्छ कि गर्दैन भन्ने आउन सक्छ । माओवादी फुटको केही असर पर्ने देखिँदैन । माओवादीबाट एमालेमा एकाध नेताहरू गएका छन् । यस्ता सानातिना विभाजनले गण्डकीमा माओवादीलाई असर गर्दैन । त्यसले नेता कार्यकर्ता र जनतामा खासै असर पार्दैन ।

एमाले विभाजन हुँदा पनि गण्डकीमा काँग्रेस माओवादी भन्दा बलियो नै देखिन्छ । तपाईंहरूको एमालेले फेरि पनि ह्याकुलो मिच्ने भयो है?

उनीहरू आफ्नो ठाउँमा छन् । हामीहरू आफ्नो ठाउँमा बलियो छौँ । कसले ह्याकुला मिच्छ? किन ह्याकुला मिच्ने ? गठबन्धन भएपछि एमालेलाई सङ्कट छ । उहाँहरू आत्तिरहनु भएको छ । तत्कालीन एमाले माओवादी मिलेर चुनाव जितेको हो । चुनावमा म पनि प्रतिस्पर्धा गरेर जितेर आएको हुँ । एमाले र माओवादी मिलेर धौलागिरिमा काँग्रेसलाई निल पारेका हौँ । धौलागिरिमा काँग्रेसलाई शून्य भनेर अभियान चलाएर जितेका हौँ । वामपन्थीहरूले धौलागिरि जित्ने हो भनेर धौलागिरिबाट काँग्रेसलाई निल बनाउने मैले नै नारा बनाए ।  हुन पनि काँग्रेसलाई जिरो बनायौँ ।  तर अब जसरी अहिले अर्को अवस्थामा गएर गठबन्धन बनाएका छौँ । गठबन्धनमा पनि त्यहीँ प्रकारको एकता भयो भने एमालेलाई निक्कै गाह्रो छ ।

अहिले काँग्रेससँग तालमेल गरेर बलियो हुने कुरा भयो । माओवादी आफ्नै संगठनमा उभिएर कहिले बलियो बनाउने हो?

हामीले पालिकादेखि वडा र टोलसम्म संगठन बनाएका छौँ । हामीले सबै ठाउँमा प्रतिस्पर्धा गर्न सक्ने भएका छौँ । सबै वडादेखि पालिकासम्म साथीहरू चुनावमा उठ्नुहुन्छ । यद्यपि म त्यहाँको इन्चार्ज वा संगठनको जिम्मेवारीमा छैन । म अहिले अर्कै जिम्मामा छु । साथीहरूले जिम्मा लिनुभएको छ । मलाई पनि बेलाबेला बोलाउनुहुन्छ । हामीले छलफल चलाउँछौ । तपाईले भने जस्तो चाहिँ कमजोर भन्ने होइन । हामी पार्टीलाई सुदृढ बनाउन सांगठनिक जिम्मा नभएपनि सहयोग गरी रहेका छौँ ।

उम्मेदवारीको मिति आउन हप्ता जति समय छ । कहिलेसम्म गठबन्धनमा भागवण्डा गरेर टुङ्गो लगाउनुहुन्छ

तीव्र गतिमा कुराकानी चलेको छ । अबको यो हप्ताको अन्तिमतिर टुङ्गो लगाउँछौँ । अर्को कुरा फेरि एउटै दल हुँदा त अन्तिममा टुङ्गो लगाउने चलन छ । गठबन्धनमा भागबण्डा मिलाउँदा अवश्य पनि केही समय लिनु स्वाभाविक हो । 

महानगर र उपमहानगरमा माओवादीको कति दाबी गर्छ?

देशैभर ६ महानगर र ११ उपमहानगर पालिका छन् । त्यसमा सम्मानजनक हैसियतमा भागवण्डा माओवादीले दाबी गर्छ । पक्कै पनि काँग्रेसले धेरै भागबण्डा खोज्ने स्थिति बन्न सक्छ । त्यसपछि हामीले लिने अवस्था छ । त्यसपछि क्रमिक रूपमा गठबन्धनमा सहभागी दलहरूले लिने स्थिति बन्छ । हामीले महानगर र उपमहानगरमा मिलाएर सम्मानजनक रूपमा भागबण्डा लिन्छौँ ।

तपाईंलाई विपक्षीहरूले गठबन्धनभित्रै एक सय एक आकाङ्क्षीहरू छन् । गठबन्धनबाट एमालेले फाइदा लिन्छ भन्छन् नि?

चुनावमा आकाङ्क्षीहरू हुनु स्वाभाविक हो । एउटै पार्टी हुँदा त यति धेरै आकाङ्क्षीहरू हुन्छन् । मिलाउनै गाह्रो भइरहेको हुन्छ । गठबन्धनका पार्टीहरूमा धेरै आकाङ्क्षी हुनु ठूलो कुरा होइन । फेरि पनि गठबन्धनले गरेको निर्णय कार्यान्वयन गरेर गइन्छ । त्यस निर्णय गठबन्धनमा सहभागी दलहरूले मान्नुपर्ने हुन्छ । सुरुमा केही जिक–ज्याक भए पनि अन्तत्वगत्वा कार्यान्वयन हुन्छ । 

गठबन्धनको फाइदा एमालेले लिन स्थिति हुँदैन । यदि फाइदा हुने भए राप्रपा नेपालसँग किन चुनावी तालमेल गर्नुहुन्थ्यो र? गठबन्धनको डर भएरै होला नि तालमेल गरेको? उहाँहरूले गठबन्धन पाँच किलोको ढकभन्दा एमाले एक्लै क्विन्टल छ भन्नुहुन्थ्यो । किन खोज्दै हिँड्नु भयो ? को को छन्? चुनावी तालमेल गर्ने भनेर । गठबन्धनभन्दा बाहिरका दलहरू खोज्दै हस्ताक्षर गर्दै हिँड्नु भएको छ । एमालेको जो अभिव्यक्तिहरू आइरहेका छन् । त्यो हताश मनस्थितिमा आएका अभिव्यक्तिहरू हुन । एक्लै भिड्ने पार्टीका नेताहरूको यस्तो कुरा हुँदैन । आउँ सबै भिड्न तयार छु भनेर तयारी गर्न थाल्छन् । यस्ता अनेक थरी अभिव्यक्ति दिएर हिँड्दैनन् ।

एमालेले केन्द्रबाट गरेको चुनावी तालमेल होइन स्थानीय आवश्यकताका आधारमा गरिएको भनेको छ?

उहाँहरूले कहाँबाट कसरी तालमेल गर्नुभयो त्यो उहाँहरूको कुरा भयो । जे जस्तो भए पनि राजा चाहिन्छ भन्नेहरूसँग राजनीतिक रूपमा गठबन्धन गर्नुपर्छ भन्ने अवस्थामा पुग्नुभयो ।  त्यो नैतिक रूपमा पनि त्यति राम्रो सन्देश होइन ।  हिजो जसले राजतन्त्र चाहिन्छ भनेर हिँड्ने पार्टीसँग मिलेर जाऊँ भन्ने कुरा राजनीतिक मूल्य मान्यताभित्र पर्दैन । हामी कम्तीमा गठबन्धनमा भए पनि लोकतन्त्रको पक्षमा उभिएका पार्टी हौँ । त्यसले एमालेका नेताहरूमा हतासाको परिणामको रूपमा प्रकट भएको बुझिन्छ । 

देशैभरका ७५३ स्थानीय तहमा माओवादीले १०६ स्थानीय तह जितेको थियो । यो निर्वाचनमा कति जित्ने आँकलन छ?

हामीले कुल १०६ स्थानीय तह जितेका थियौ । देशैभर ९९ पालिकामा दोस्रो भएर हारेका थियौँ । त्यतिबेला माओवादी तीन फुटको कहरमा थियो । जस्तो मोहन वैद्य फुटेको बाबुराम भट्टराई फुटेको स्थिति थियो । अरू स साना टुक्रामा चोइटिएकाले माओवादी कमजोर थियो । अहिले त्यो अवस्था छैन । पार्टीमा भएका साथीहरू जतातिर लाग्नु पर्ने हो त्यतातिर लागि सक्नु भयो । त्यसैले माओवादीको हकमा पहिलाको भन्दा फरक स्थिति छ । धेरै साथीहरू एकतामा जोडिनु भएको छ । माओवादीमा जोडिने क्रम जारी छ । त्यसले गर्दा दोस्रो भएर हारेको माओवादीको पहिलो हुने सम्भावना छ । 

कति स्थानीय तह जित्छौ भन्न सकिँदैन । तपाईंले गणितीय रूपमा ज्योतिषले भनेको जस्तो जबाफ दिने विषय होइन । जे होस् हामीले धेरै ठाउँमा चुनाव जित्छौँ । गठबन्धन भयो भने अझ धेरै चुनाव जित्छौँ । गठबन्धन भएन भने पनि यसअघिको भन्दा पक्कै पनि बढी जित्छौँ । गठबन्धन भयो भने कम्युनिस्ट पार्टीभित्रको पहिलो शक्ति बन्छौँ । यदि गठबन्धन भएन भने एमाले र हाम्रो प्रतिस्पर्धा हुन्छ । एमाले विभाजन भएको माओवादीमा एकतामा जोडिएको स्थिति छ । त्यसले माओवादी वामपन्थीभित्रको पहिलो शक्ति हुने स्थिति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप