शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : गठबन्धन घटकबीच कतै तालमेल, कतै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति

गठबन्धन बाहिरका दलसँग तालमेल गर्न नपाइने
बुधबार, ०७ वैशाख २०७९, १७ : ०३
बुधबार, ०७ वैशाख २०७९

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले कतै आपसमा तालमेल गर्ने, कतै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । सोमबारदेखि जारी पाँच दलीय गठबन्धनको बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।

बैठकपछि जारी चार बुँदे सहमतिपत्र अनुसार सत्ता गठबन्धन घटकबीच चुनावी तालमेल हुन नसकेका पालिकामा आपसमै मित्रवत् प्रतिस्पर्धा हुनेछ । गठबन्धनमा आवद्ध सबै दलबीच सहमति हुन नसकेका पालिकामा दुई वा दुईभन्दा बढी दलबीच तालमेल गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग भने गठबन्धनमा आवद्ध कुनै पनि दलले चुनावी तालमेल गर्न नपाउने सहमति भएको छ ।

तत्कालीन राजपा नेपाल र नेकपा एमालेले जितेको ३४ पालिकामा गठबन्धन घटक दलबीच बाँडफाँटको विषयमा रौतहटका केही पालिकाबाहेक अन्य पालिकाका लागि संवाद जारी राख्ने गरी गठबन्धनको बैठक टुङ्गिएको हो ।

रौतहटको मौलापुर नगरपालिकालगायतमा सहमति नजिक पुगे पनि अन्य पालिकाको विषयमा दलहरु आ–आफ्नै अडानमा छन् । ती पालिकाको सवालमा संवादलाई निरन्तरता दिने गरी बैठक सम्पन्न भएको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका ईन्चार्ज गणेश साहले जानकारी दिए ।

उनले ३४ पालिकासहित अन्य पालिकामा पनि काँग्रेसलगायतका दलले छोड्न नचाहेपछि वार्ता संवादलाई अघि बढाउने गरी पाँच दलभित्रै रहेर तालमेल वा गठबन्धन गर्दै मित्रवत प्रतिस्पर्धाका लागि गृहकार्य हुने बताए ।

नेपाली काँग्रेस मधेस प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवले पाँच वटै दलका शीर्ष नेताले एकअर्कासँग निरन्तर समन्वय र सहकार्यका लागि संवाद जारी राख्ने जानकारी दिए ।

यता काँग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादीबीचको बैठक सकिए लगत्तै जनता समाजवादी पार्टी नेपालको कार्यालयमा माओवादी र एकीकृत समाजवादीको बैठक समेत बसेको छ ।

काँग्रेसले विभिन्न पालिकामा मेयर÷उपमेयर र अध्यक्ष÷उपाध्यक्षमा अडान नछाडेपछि यी दलबीच सहमतिका लागि गृहकार्य थालिएको हो ।

पाँच दलभित्रकै दलमा तालमेल वा गठबन्धन गरेर अघि बढ्न सक्ने गरी मित्रवत प्रतिस्पर्धाको निर्णय भएकाले गठबन्धनभित्रकै दुई वा दुईभन्दा बढी दलबीच तालमेलका लागि समेत पहल थालिएको माओवादी प्रदेश ईन्चार्ज साहले बताए ।

गठबन्धन आवद्ध घटक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीले ०७४ को स्थानीय तहको निर्वाचन अनुसार निर्वाचितभन्दा बढी पालिकामा दाबी गर्दै आएका छन् ।

नेपाली काँग्रेस मधेस प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकमा काँग्रेसका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेस प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेस प्रदेश समितिका इन्चार्ज धर्मनाथ साहलगायत प्रदेश प्रतिनिधिहरुसमेतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप