आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : काठमाडौंका सीडीओलाई कारबाही गर्ने अदालतको चेतावनी

बिहीबार, ०८ वैशाख २०७९, २१ : २०
बिहीबार, ०८ वैशाख २०७९

आज मिति २०७९ साल वैशाख महिनाको ८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. एमाले बैठक

सरकार परिवर्तनको सम्भावनालाई ख्याल गर्दै नेकपा एमालेले गण्डकी र लुम्बिनीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले ती प्रदेशका सांसदलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउने रणनीति बनाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।   यस्तै एमालेले महानगर तथा उपमहानगरपालिकाको उम्मेदवार वैशाख १० गते छान्ने भएको छ ।

नेपाली काँग्रेसले महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बोलाएको छ । काँग्रेसले शुक्रबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।  पार्टी कार्यालयमा बस्न उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

​३. प्रचण्डले सम्झिए कटवाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउँदा पार्टीलाई धेरै ठूलो क्षति भएको बताएका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तीन महिनापछि आफै जाने प्रधानसेनापति कटवाल हटाउनु कमजोरी भएको स्वीकार गरे ।

‘रुक्माङ्गत कटवाल तीन महिनापछि त्यसै जानेवाला थियो । दायाँतिर बादल बायाँतिर बाबुराम ठोक भन्छन् जतिबेला पनि । एउटालाई रक्षामन्त्री बनाएको ठोक ठोक भन्छन् । अर्को अर्थमन्त्रीले पनि यसलाई ठोकिहाल्ने हो भन्छन्’ प्रचण्डले भने, ‘म अलि लाटो सोझो पनि छु क्या । यिनीहरु मात्रै के कम भनेर ठोक्दिहाले त्यसपछि के हुन्थ्यो मेरै प्रधानमन्त्री पद गयो ।’ जनयुद्धमा जस्तै बाबुराम बादलले भनेको जस्तै हुन्न भनेको भए देशको स्थिति अर्कै अवस्था पुग्ने प्रचण्डले दाबी गरे ।

४. भ्रष्टाचार बढेकामा लिङ्देनको चिन्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलका कारण जनताको आँखामा आँसु आउने अवस्था आएको बताएका छन् । उनले  देश बनाउनुभन्दा पनि भ्रष्टचार गर्नेहरु धेरै भएका कारणले मुलको विकास हुन नसकेको जिकिर गरे । 

राप्रपाले बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले ठूला भनिएका राजनीतिक दलहरुले नेपाललाई असफल बनाएर नागरिकमा चरम निराशा उत्पन्न गराएको कारणले अर्को शक्तिको रुपमा आफ्नो पार्टी आएको बताए ।

​५. अदालतको सीडीओलाई चेतावनी

अदालतले माग गरेको कागजात र विवरण नपठाएको भन्दै ललितपुर जिल्ला अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कारवाही गर्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले वैशाख ४ गते एक आदेश गर्दै सिडिओलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । दूषित नामसारी निर्णय दर्ता बदर सम्बन्धी परेको रिटमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रतिवादीको कागजातको प्रतिलिपि र अदालतले माग गरेको विवरण उपलब्ध नगराएको भन्दै अदालतले कारवाहीको चेतावनी दिएको हो ।

​६. बैंकबाट दुई दिनमा १२ अर्ब बाहिरियो

नयाँ वर्ष लागेसँगै अनपेक्षित रुपमा बैंकहरुबाट १२ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार गत चैत ३० गतेदेखि बैंशाख २ गते, २०७९ सम्ममा २७ वाणिज्य बैंकहरुबाट १२ अर्ब रुपैयाँ निक्षेप गुमाउँदै ४३ खर्ब ७७ अर्ब रुपैयाँ मात्र संकलन गर्न सफल भएका हुन् ।

​७.केकीले गरिन् बिहे

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहिबार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

रोहितसँगको विवाहको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै उनले आजबाट जीवनको नयाँ अध्याय सुरु भएको बताएकी छन् । उनले कलाकारको रुपमा आजको दिनसम्म माया, सद्भाव र समर्थन दिएको प्रति सबैमा हार्दिक आभार समेत प्रकट गरेकी छन् ।

​८. विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपालमा​

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस एड्हानोम घेब्रेयससबीच भेटवार्ता भएको छ । तीन दिने भ्रमणका क्रममा आजै काठमाडौं आइपुगेका डब्लुएचओका महानिर्देशक टेड्रोस र स्वास्थ्य मन्त्रीबीच खतिवडाबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा मन्त्री खतिवडाले डब्लुएचओका महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालको लागि पनि नेपालको तर्फ मनोनयनमा समर्थन गर्ने जानकारी दिएका थिए ।

९. सुवेदीले दिए राजीनामा

नेकपा एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित विजय सुवेदीले सांसद पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उनले सांसदबाट राजीनामा दिएका हुन् । सुवेदीलाई एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उठाउने तयारी गरेको छ ।

१०. ग्यास प्लान्ट विस्फोट

ललितपुर महानगरपालिकास्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन उद्योगमा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा २ जना कामदारको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

​यो पनि...

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप