आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धनले धमाधम साझा उम्मेदवार टुंग्याउँदै, एमाले घोषणापत्रसहित चुनावी मैदानमा

शुक्रबार, ०९ वैशाख २०७९, २३ : १९
शुक्रबार, ०९ वैशाख २०७९

आज मिति २०७९ साल वैशाख महिनाको ९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. धमाधम गठबन्धनको साझा उम्मेदवार

महानगरपालिका र उपमहानगरपालिकामा साझा उम्मेदवार तय गर्ने निर्णय गरिसकेको सत्ता गठबन्धनले विभिन्न नगरपालिका र गाउँपालिकामा पनि तालमेलको सहमति गरेको छ । शुक्रबारसम्म विभिन्न जिल्लाका स्थानीय तहहरुमा साझा उम्मेदवार तय भएको खबर प्राप्त भएको छ । यस्तै शनिबार थप निर्णय आउने सत्ता गठबन्धनसँग आबद्ध दलहरुले बताएका छन् । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुँदैछ । यता सिन्धुपाल्चोकमा गठबन्धनमा खटपट भइ एमालेसँग तालमेलका लागि काँग्रेसले हात बढाएको खबर सार्वजनिक भएको छ ।

२. एमालेको घोषणापत्र सार्वजनिक

नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।  शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमका बीच पार्टी अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले चुनावमा जान पालिकास्तरमा पनि आजै घोषणापत्र सार्वजनिक गरेको छ ।

​३. डीआईजीहरुको सरुवा र पदस्थापना

नेपाल प्रहरीका हालै बढुवा भएका ४ डीआईजीहरूको पदस्थापना भएको छ । गृह मन्त्रालयले शुक्रबारको निर्णयानुसार ४ डीआईजीहरूको पदस्थापना गरेको हो ।  पदस्थापना भइ जिम्मेवारी पाउनेहरुमा डीआईजीहरू नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् । यस्तै नेपाल प्रहरीका ५ डीआईजीको सरुवा पनि भएको छ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरको बैठकअनुसार डीआईजीहरू मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा गरिएको जनाएको छ ।

​४. खेलकुद

जेठ २२ देखि २८ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल आयोजना गर्ने निर्णय गरेको छ ।

​५. माओवादीको माग

नेकपा माओवादी केन्द्रले उम्मेदवार नभएका स्थानीय तहमा मतपत्रमा चुनाव चिन्ह नराख्न माग गरेको छ। उम्मेदवारै नभएको स्थानीय तह प्रमुख र उपप्रमुखसहित वडाका मतपत्रमा चुनाव चित्त नराख्न शुक्रबार निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको हो।

स्थानीय चुनावमा सत्ता गठबन्धन भएपछि अधिकांश क्षेत्रमा उम्मेदवारै नहुने भएपछि माओवादीले मतपत्रमा समेत चुनाव चिन्ह हटाउन आग्रह गरेको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए।

​६. श्रृजना काठमाडौंको मेयर उम्मेदवार

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो । 

​७. भन्सार विभागको तथ्यांक

चालु आर्थिक वर्षको ९ महिनामा नै मुलुकको व्यापार घाटा १३ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म मात्र नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ३१.९७ प्रतिशतले बढी हो ।  अघिल्लो आर्थिक वर्ष २०७७–७८ को ९ महिनामा नेपालले कुल ११ खर्ब ११ अर्ब ३९ करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको मात्र माल वस्तु आयात गरेको थियो ।

​८. सेयर बजार

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ । चालू आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको छ ।

​९. गभर्नरमाथि प्रश्न

 राष्ट्र बैंकको नेतृत्वमा रहने व्यक्ति कतै न कतै स्वार्थबाट प्रेरित हुने गरेको घटना नेपालको मामिलामा नौलो भने होइन । नियामक निकायको प्रमुख पदमा रहेका व्यक्ति र उनको परिवारका सदस्यको नाममा विभिन्न बैंकका सेयर, विभिन्न स्थानमा घर–घडेरी जस्ता अचल सम्पत्ति पाइएका छन् ।

​१०. यो पनि...

अर्को कार्यकालका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा उठ्ने भएपछि राजीनामा दिएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बिदाइ गरिएको छ । कार्यवाहक प्रमुख  पार्वती शाह ठकुरीको उपस्थितिमा शुक्रबार महानगरपालिकाले दाहाललाई बिदाइ गरेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नराख्न सुझाव दिएका छन् । आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग आज भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न सुझाव दिएका हुन् ।

​चैत महिनामा विदेशबाट ४ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको पाइएको छ । यसअघिका महिनामा औसतमा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिदै आएको थियो । जुन, चैत महिनामै ४ अर्बको भित्रिएको भन्सार विभागले जानकारी दिएको हो ।

​दर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि सुविधा सम्पन्न ‘चिम्पान्जीको घर’ बनाइएको छ ।

​नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय १५ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

​आचारसंहिता उल्लंघन गरेको भन्दै सञ्चारकर्मी एवं मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले कक्षा लिन लगाएको छ । शुक्रबार धमलाले प्रेस काउन्सिलको कार्यालयमा पुगेर २ घण्टा पत्रकार आचार संहिताबारे कक्षा लिएका छन् । उनले अगामी दिनमा पत्रकार आचारसंहिता विपरितका काम नगर्ने प्रतिबद्धता समेत जनाएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुमध्ये कसैको प्रदेशसभा तथा प्रतिनिधिसभा तर्फको समानुपातिक सूचीमा नाम भए वैशाख १० गतेभित्र हटाउन सक्ने भएका छन् । आयोगले व्यक्तिले नभइ दलको तर्फबाट त्यस्तो नाम लेखि पठाउनुपर्ने बताएको छ ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप