मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विराटनगरको प्रमुखमा १६ र उपप्रमुखमा १७ जनाको उम्मेदवारी, गठबन्धनमा बागी

मङ्गलबार, १३ वैशाख २०७९, ०८ : १०
मङ्गलबार, १३ वैशाख २०७९

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा १७ जनाले उम्मेदवारी दिएका छन् । विराटनगरका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार वडाध्यक्षमा मात्रै १७२ जनाको उम्मेदवारी परेको छ । विराटनगरमा १९ वटा वडा छन् । 

ती वडाहरूको खुल्ला सदस्यमा १७१, महिला सदस्यमा १४३, खुल्ला सदस्यमा २९१ जना र दलित महिला सदस्यका लागि ११५ जनाले उम्मेदवारी दिएका छन् । सोमबारसम्ममा सत्तारुढ गठबन्धन, नेकपा एमालेसहित सोमबार १३ र पहिलो दिन आइतबार ३ जना गरी १६ जनाले प्रमुखमा मनोनयन दर्ता गराएका हुन् । 

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा नेपाली काङ्ग्रेसबाट नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा, राप्रपाबाट प्रह्लाद साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युन्जय मिश्र, नेपाली काँग्रेस बिपी पार्टीबाट रामचन्द्र गौतम, जनमत पार्टीबाट अशोककुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डा. नागेश्वरप्रसाद सिंहलगायत छन् । 

आइतबार मात्रै स्वतन्त्र तर्फबाट उमेश यादव, सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा भने जसपाबाट उपेन्द्र यादवको छोरा अमरेन्द्र यादव, एमालेबाट शिल्पा कार्की, राप्रपाबाट बिन्दा लुइँटेल आचार्य, लोसपाबाट सहनाज खातुन, माओवादी केन्द्रबाट नमिता न्यौपाने लगायतले उम्मेदवारी दर्ता गराएका छन् । 

विराटनगरको उपप्रमुखमा गठबन्धनमा बागी

विराटनगर महानरपालिकाको उपप्रमुखमा जनता समाजवादी पार्टी निकट महिलाहरूको संगठन समाजवादी महिला संघकी अध्यक्ष सदिना खातुनले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनको समर्थक र प्रस्तावक संघका सचिव र कोषाध्यक्ष बसेका छन् ।

गठबन्धनको तर्फबाट विराटनगर महानगरको उपप्रमुखमा जसपाका अमरेन्द्र यादव हुन् । मनोनयन दर्ता गराएका अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । मनोनयन दर्तापछि खातुनले महिला माथि अन्याय भएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताइन् । 

‘पार्टीले सामाजिक समावेशीको कुरा गर्ने अनि भाग खाने बेलामा चाहिँ पुरुषलाई उम्मेदवार बनाउने?’ उनले भनिन्, ‘उप मेयरमा महिलामा मेरो मात्रै नाम पठाइएको थियो । टिकट भने छोरालाई दिइयो ।’ 

​पार्टीको निर्णयका कारण जसपामा आवद्ध महिलाहरूको अपमान भएको महसुस गरेर आफूहरूले स्वतन्त्र रूपमा भए पनि उम्मेदवारी दिएको बताइन् । गठबन्धनमा रहेको जसपालाई महानगरको उपप्रमुख परेपछि खातुन, भूराज राई  अमरेन्द्र यादव र उमेश यादवको नाम सिफारिस भएको थियो । 

पार्टीमा काम गरेका महिलाहरूलाई अवहेलना गरेको भन्दै जसपा जिल्ला सदस्य वसुन्धरा झा ले सोमबार राजीनामा दिएकी छन् ।

उनले समानता र समावेशी अधिकारको अवमूल्यन गर्ने गरी पार्टीले निर्णय गरेकाले आफू पार्टीमा बसिरहनु उचित नभएको राजीनामा पत्रमा उल्लेख गरेकी छन्। उनले यस्तो अवस्थामा पार्टीमा बसेर जनताको सेवा गर्न नसक्ने बताएकी छन्। 

जसपामा उप प्रमुख छनौटका विषयमा विवाद हुँदा जसपाका प्रभावशाली नेता उमेश यादवले पार्टी छाडिसकेका छन् । उनले स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी दिएका छन् । जसपाका मोरङ अध्यक्ष राजकुमार यादवले पार्टीमा सामान्य असहमति भएको भए पनि केही दिनमा सबै मिल्ने बताए । उनले महिलाहरूले उम्मेदवारी फिर्ता गर्ने समेत विश्वास व्यक्त गरे ।

यता माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले पनि उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । विराटनगर महानगरपालिकामा गठबन्धनलाई सघाउने निर्णय गरेको माओवादीलाई वडामा पनि सघाउन कांग्रेस तयार नभएपछि उम्मेदवारी दिएको न्यौपानेले बताइन् । गठबन्धन दलहरूले सबै वडामा आ–आफ्ना उम्मेदवार उठाएका छन् । वडाको भागबण्डा नटुङ्गिए आफूहरू काँग्रेसको प्रमुख र जसपाको उपप्रमुखमा आफूहरू भोट हाल्न बाध्य नहुने माओवादी विराटनगरका अध्यक्ष नवीन पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप