स्वार्थ, दलाली र दल परिवर्तन
केही समय अघि प्रदेश अधिवेशनको सिलसिलामा एकजना कमरेडले भन्दै हुनुहुन्थ्यो– ‘तपाईको धैर्यतालाई मैले माने ।’ मैले कस्तो धैर्यता भनेर प्रतिप्रश्न गरे । उहाँले प्रष्ट पार्दै भन्नुभयो, ‘पार्टी आन्दोलन अपेक्षाकृत अघि बढिरहेको छैन । संगठनले ठोस जिम्मेवारी दिएको पनि देख्दिन । नेतृत्वहरु पलायन भइरहेको छ । तर पनि तपाईं भने निष्ठालाई साक्षी राखेर विचलित नभई निरन्तर लागिरहनु भएको छ । आजको अवसरवादी समाजमा यस्तो धैर्यता सबैमा पाउन सकिदैन ।’
कमरेडको कुरा सुनेपछि मैले भने, जो खास विचारप्रति प्रतिवद्ध वा स्पष्ट छ, उ एक्लै भए पनि डग्मगाउँदैन । जसले आफूलाई अवसर र स्वार्थको निरपेक्ष दौडमा उभ्याउँछ, उ सानातिना प्राविधिक गडबडीको बहानाबाजी गर्दै आन्दोलनको प्रक्रियाबाट पलायन हुन्छ । जो अवसर र स्वार्थलाई सापेक्षित वा आवश्यकताको आधारमा खास जिम्मेवारी मात्र हो भनेर परिभाषित गर्दछ, उनमा प्रतिकूलताकै बिच पनि औसतभन्दा वढी आन्दोलनमा टिक्ने दृढता, धैर्यता र इमान्दारीता हुन्छ । यो शाश्वत नियम हो । सारतः म अवसरको दौडमा निरपेक्ष रुपमा भाग नलिनु नै धैर्यताको बाँध नफुट्नुको सापेक्षित अभिव्यक्ति हो ।
वस्तुतः मार्क्सवादी समाजवादमा मात्र निजी स्वार्थ र अवसर निर्णायक हुँदैन । त्यहाँ यो वा त्यो भन्दा पनि सिंगो मानव स्वार्थ प्रधान हुने गर्दछ । आज लोकतन्त्रवादीहरुले भन्दै आएको समाजवाद पनि अमूक र गोलमटोल छ । त्यसले समाजवादमाथि उल्टै महाविभ्रम सिर्जना गरिरहेको छ । त्यसैले अवसर र स्वार्थको वहस गर्नु पहिले वर्तमान मानव समाजको अर्थराजनीतिक दृष्टिकोणवारे स्पष्ट हुनु जरुरी हुन्छ ।
आजको विश्व राजनीतिक दृष्टिकोण पुँजीवादद्वारा निर्देशित छ । पुँजीवाद आफैमा निहित नाफा र स्वार्थको राजनीति हो । विश्वकै सम्पती एकजनाले कब्जा गरेपनि पुँजीवादले त्यसलाई व्यवसायिक र व्यापारिक उद्यमको आवरणअन्तरगत स्वभाविक आर्जन भनेर परिभाषित गर्दछ । यसरी जव अर्थ राजनीति मूलभूत रुपमा जसरी पनि कमाउने, तेरो मेरो निजी अवसर र स्वार्थले डेरा जमाएको हुन्छ, तव त्यस मातहत रहेका सम्पूर्ण अर्थराजनीतिक, सामाजिक तथा साँस्कृतिक सत्ताहरुको चरित्र पनि अवसर र स्वार्थद्वारा निर्देशित हुन्छ । सवै मानवीय सत्ताका गतिविधि र उठबसहरू दलगत, समुदायगत, समूहगत र व्यक्तिगत वा निजी स्वार्थकै कक्ष वरपर फनफनी घुमिरहन्छ ।
यसरी पुँजीवाद हावी भएको मानव समाजमा सम्पूर्ण अर्थराजनीतिक भाष्यहरु पनि पुँजीवादी सँस्कृति अनुकुल नै विकास, विस्तार र सुदृढ हुने गर्दछ । यस्तो वस्तुगत धरातलमा साम्यवादी अर्थराजनीतिक आन्दोलन रक्षात्मक हुन्छ । सारभूत रुपमा रक्षात्मक आन्दोलन घेरावन्दी, विभाजित र कमजोर हुन्छ, जुन आज हामीले भोगिरहेका छौं । यस्तो वेला सवै सामाजिक सत्ताहरुमा पुँजीवादी सँस्कृति वा मूल्यमान्यताले कमाण्ड गर्दछ । समाजका सवै पहलुहरुमा पुँजीवादी चिन्तन हावी हुन्छ, जुन अवसरवादी स्वार्थद्वारा परिचालित हुन्छ । यस्तो यथार्थ वस्तुगत परिवेशमा राजनैतिक दलहरूको स्थापना पनि सोही मान्यतामा आधारित हुन्छ ।
आज नेपाली राष्ट्रिय राजनीतिमा च्याउसरी उम्रिएका अधिकांश राजनीतिक दलहरु निहित स्वार्थकै सिलसिलामा गठन भएको जगजाहेरै छ । उनीहरुको नाम, नेतृत्व, झण्डा, ब्यानर र लोगो भिन्न भएपनि कार्यदिशा र कार्यक्रम खासै भिन्न देखिदैन । सिंगो अर्थराजनीतिक सत्ताहरुमाथि पुँजीवादी सँस्कृतिले नेतृत्व गरिरहेको हुँदा कम्युनिष्ट आन्दोलन वा पार्टीहरुले निर्णायक पहल लिन सक्ने अवस्था देखिदैन । नियमतः रक्षात्मक आन्दोलनले सामाजिक सत्ताको सम्पूर्ण अवयवहरूमा पकड जमाउन सक्दैन । परिणामतः समाजको आम भाष्य, चिन्तन प्रवृत्ति र सँस्कृति पुँजीवादी औसत कर्मकाण्ड वरपर फन्को मारिरहन्छ । यस्तो वेला कम्युनिष्टहरु सही भएर पनि निष्प्रभावी हुन पुग्छन् । आज हाम्रो आन्दोलन यही कटु सत्य वरपर रुम्मलिरहेको छ ।
वास्तवमा राजनैतिक दल भनेको निश्चित सिद्धान्त, विचार, दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, कार्यक्रम र उद्देश्यमा गठन हुनुपर्दछ । कुनै पनि दललाई समर्थन र विरोधको मूल आधार भनेको त्यसले अङ्गीकार गर्ने राजनैतिक सिद्धान्त र कार्यदिशा नै हो । समाजवादी र पुँजीवादी, अग्रगामी र पश्चगामी, परिवर्तनकारी र परिवर्तन विरोधी अनि न्याय र समानताको पक्षधर वा विरोधी भनेर छुट्याउने लक्ष्मणरेखा स्पष्ट हुनु जरुरी हुन्छ । तर त्यसो भइराखेको छैन । किनकि पुँजीवाद हावी छ, जहाँ सवैलाई एउटै फुर्लुङ्गमा कोचेर विभ्रमहरु सिर्जना गरिन्छ । जनतामा विद्यमान यस्ता अस्पष्टता र अन्यौलतालाई आप्mनो शासनसत्ताको रक्षाकवच बनाउँदै राज गर्नु उसको विशेषता नै हो ।
यसकारण आज राजनैतिक दल निर्माणको सिंगो प्रक्रियालाई विचार सिद्धान्तले नेतृत्व गरेको छैन । औसत यो वा त्यो अवसर र स्वार्थगत भुलभुलैया, रिसराग र विभ्रमहरुबीच दल निर्माणको सिलसिला बढिरहेको छ । कुनै घटना विशेष सकरात्मक र नकरात्मक माहौल वा भावनाकै कभरमा दल फर्मेशन गर्ने क्रम तीव्र बन्दैछ । राजनीतिमा स्पष्ट दृष्टिकोण, कार्यदिशा, कार्यक्रम र उद्देश्य विना सामान्य अन्तरविरोध वा मनमुटावकै भरमा दल त्याग्ने वा नयाँ दल स्थापना गर्ने गैर–राजनैतिक संस्कार वा होडवाजी मौलाएको छ ।
मूलतः अवसरवादी स्वार्थमा आधारित पूँजीवादले तपसिलका सबै आयामहरुलाई पनि सोही अनुरुप संगठित गर्दछ । राजनैतिक दल फर्मेशन पनि यही प्रक्रिया अन्तरगत हुने गर्दछ । यसो भएपछि व्यक्तिगत रुपमा दल अदल–वदल गर्ने सँस्कृति पनि एवं तरिकाले निर्देशित हुने गर्दछ । विगतमा जसरी विचार सिद्धान्तलाई केन्द्रमा राखेर दल गठन गरिन्थ्यो भने त्यसै अन्तरगत दल अदल–वदलको सँस्कृति विन्यास हुन्थ्यो । तर आज यो नितान्त अवसर र स्वार्थको आयामद्वारा निर्देशित हुँदै गएको छ ।
अर्थराजनीति झनझन विकृत र विसंगतिपूर्ण बन्दै गइरहेको छ । यसलाई झनै लम्पट अवसरवादी स्वार्थको चौघेरामा वन्दी बनाइएको छ । गलत अभ्यास र सँस्कृति चरम उत्कर्षमा पुगेको छ । सिद्धान्त, विचार, दृष्टिकोण, निष्ठा र इमान–जमानहरु विसर्जनको दिशाउन्मुख देखिन्छ । अवसर र स्वार्थको पारो झन बढिरहेको छ । आज शास्त्रीय पुँजीवाद अराजक दलाल एकाधिकार पूँजीवादतर्फ सङ्क्रमणको अवस्थामा छ । यस्तो अर्थराजनीतिमा रुपवादी माहौल हावी हुन्छ । तव समाज परिवर्तनका सकरात्मक एजेण्डाहरु सही भएर पनि कमजोर हुन पुग्छ भने नकारात्मक आयामहरु गलत हुँदाहुँदै पनि एकाएक स्थापित हुन पुग्छ । यो अराजक पुँजीवादी चरणको विकृत अर्थराजनीतिक–साँस्कृतिक अभिव्यक्ति हो । यस्तो चरणमा विवेक, नैतिकता र मूल्यको सँस्कार शुन्यावस्थामा हुन्छ भने वेथिति र विसंगति नियन्त्रण बाहिर पुग्छ ।
पछिल्लो समय दल अदल–वदल गर्ने सँस्कृति फेशनको रुपमा मौलाइरहेको छ । यो यति संवेदनशील हुँदैछ कि पलभरमा को कता जाने आउने हो, केही भन्न सकिन्न । दशकौंसम्म निष्ठा र त्यागको संघर्षपूर्ण राजनैतिक आन्दोलनको इतिहास बनाएका नेता कार्यकर्ताहरु पनि अवसर र स्वार्थको हावामा मडारिएर गलत दिशातर्फ बहकिनु सामान्य जस्तै भइरहेको छ । उनीहरु पनि अवसरवादी गुरुत्वकेन्द्रबाट बाहिर जान सकेका छैनन् ।
वस्तुतः सिद्धान्त, दृष्टिकोण र विचारद्वारा प्रशिक्षित नेता कार्यकर्ताहरु निश्चित उद्देश्य प्राप्तीको लामो आन्दोलन वा अभियानहरुमा अटल र अडिग हुन्छन् । तर औसत अवसर र स्वार्थमा आधारित आत्मकेन्द्रीत व्यक्तिवादी स्वार्थ हावी भएको समाजमा सामाजिक वा व्यक्तिगत सत्ताहरु असाध्यै अस्थिर र संवेदनशील हुने गर्दछ । आज हाम्रो अर्थ राजनीति यही कटु–सत्यको सेरोफेरोमा चक्कर मारिरहेको छ । अर्थात अवसरवादी चश्माले कुन दिशाको सुदूर क्षितिजमा मनोरम अवसर सहितको संभावनाको पसल खुलिरहेको छ भन्नेमा अवसरवादीहरु पोख्त छन् । उनीहरुमा सिद्धान्त, विचार, दृष्टिकोण, निष्ठा, मुल्य र ईमानहरु हराउँदै गएपनि अवसरको आँकलन गर्ने सन्दर्भमा भने दूरद्रष्टा नै छन् भन्दा दुइमत नहोला ।
आज दल अदल–वदलको पराकाष्ठबाट नियाल्दा सिद्धान्त, विचार सही र गलतको कुनै औचित्य देखिदैन । उनीहरु राज्यसत्ताको आयामबाट हेर्दा वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म, पार्टी सत्ताको कोणबाट नियाल्दा टोल सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म अनि संवैधानिक वा कुटनीतिक सत्तामा सदस्यदेखि अध्यक्ष वा परिचरदेखि राजदूतसम्मको स्वार्थगत लेनदेनमा छन् । यसरी शुन्य संभावनालाई अधिकतम् अवसरमा बदल्ने रणनीति अन्तरगत तँछाड–मछाड दौडमा देखिन्छन् । अर्थात पछिल्लो पार्टी परिवर्तनको सँस्कृतिमा परिवर्तनशील र न्यायपूर्ण एजेण्डा र कार्यक्रम हेरिँदैन । सही र गलत अग्रगामी र पश्चगामी अनि जनपक्षीय र जनविरोधी केही मतलव हुँदैन । अवसरको छहारीमुनी रुपवादी माहौलकोे रङ्गीन चौतारी भए काफी हुन्छ । यो नितान्त अवसर र स्वार्थ खोजाई र रोजाइको जोडकोणमा परिलक्षित हुन्छ ।
अझ चुनावी रौनकको सन्दर्भबाट हेर्दा उम्मेदवारीको टिकट सुनिश्चिततालाई प्रमुख आधार बनाइएको देखिन्छ । यसरी विकृत र खर्चिलो चुनावसँगै अवसरकै भरमा दल अदल–वदल गर्ने परम्पराले गर्दा आज राष्ट्रिय राजनीति महाकलङ्कित बन्न पुगेको छ । राजनीतिप्रति आममा नकारात्मक भाष्य र वितृष्णाको रेखाङ्कन बढ्दो छ । यो तपाईं हामी सिद्धान्तनिष्ठ, मूल्य र गुणात्मक परिणामको राजनीति गर्नेहरुको लागि महाविडम्वना, महादूरभाग्य र महाआपत्तिको विषय हो ।
विगतमा राजनीति यतिविघ्न प्रदूषित थिएन । त्यसैले पार्टीमा आकर्षित गर्न प्रधानतः दर्शन, दृष्टिकोण र विचारको अस्त्रहरु प्रयोग गरिन्थ्यो । आधारभूत राजनैतिक वैचारिक ज्ञान अनिवार्य हुन्थ्यो । उनीहरु पनि न्यूनतम् वैचारिक स्पष्टता सहित नै पार्टी परिवर्तन गर्दथे । अवसर र स्वार्थलाई अलि परको विषय ठानिन्थ्यो । तर आज हामी ठिक उल्टो प्रक्रियामा छौं । पद, प्रतिष्ठा र अवसर प्रधान भएको छ भने विचार सिद्धान्त र त्याग नितान्त गौण बन्न पुगेको छ । निष्ठा र नीतिको कुरा प्रतिवद्धता, वोली र विज्ञप्तीहरुमा सीमित हुँदैछ भने व्यवहारतः अवसर र स्वार्थ निर्णायक बन्दै गएको छ ।
यसरी हेर्दा सिंगो अर्थ राजनीतिक भाष्य नै अवसर र स्वार्थद्वारा परिचालित हुँदैछ । हाम्रो सैद्धान्तिक–राजनैतिक आदर्श, मुल्य–मान्यता र संस्कार–सँस्कृतिहरु कौडीको अवसरवादसँग लिलाम विक्री भइरहेको छ । यद्यपि त्यही अवसरवादको रणनैतिक अवतारबाट मतदाताहरू दिग्भ्रमित वा विभ्रमित भइरहेका छन् । जनता यसरी दिग्भ्रमित भएसम्म सत्य र सही सँस्कार–सँस्कृति स्थापित हुँदैन ।
वस्तुतः जति जति अर्थराजनीतिक सत्ताहरु अवसर र स्वार्थको मूल्यबाट सञ्चालित हुन्छन्, समाजमा त्यति नै वढी अपराधीकरण, भ्रष्टीकरण र दलालीकरण बढ्दै जान्छ । एक शब्द, एक बोली, एक नजर, एक पाइला र एक स्पर्श पनि स्वार्थकै मुल्यमा मात्र परिचालित हुने गर्दछ । अरु कुरा नगरौं, सङ्कटको समयमा राहत वितरण गरिन्छ । त्यसमा पनि मानवीय सहयोगभन्दा स्वार्थ प्रधान हुने गर्दछ । यस्तो निरपेक्ष स्वार्थगत परिपाटी हावी भएको समाजमा न्याय, समानता, शान्ति र समृद्धिको आशा गर्नु भनेको जनतालाई भ्रमित गर्ने बनिबनाउ रणनीति मात्र हुन्छ । यस्ता अमूक नाराहरू आवधिक चुनावमा भोट ब्ल्याकमेलिङ गर्ने महत्वपूर्ण अस्त्र मात्र बन्द । यो पछिल्लो नेपाली अर्थराजनीतिमा व्याप्त सर्वाधिक विडम्बनाको विषय हो । पछिल्लो समय पार्टी अदल–वदलमा विचार राजनीति होइन, उम्मेदवारको टिकट निर्णायक भइरहेको छ, जुन असाध्यै गलत परिपाटी हो ।
समग्रमा पुँजीवाद निजत्वद्वारा निर्देशित अवसर र स्वार्थकेन्द्रित दर्शन हो । यसमा आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थ हावी हुन्छ । यसकारण दल अदल–वदलको गलत अवसरवादी सँस्कृतिलाई निरुत्साहित गर्ने हो भने अराजक दलाल पुँजीवादको ठाउँमा मार्क्सवादी समाजवादको विकल्प दिन सक्नु पर्दछ । निजी स्वार्थमा सामूहिक स्वार्थ स्थापित गराउनु पर्दछ । तबमात्र राजनैतिक दल फर्मेशन दर्शन र दृष्टिकोणमा आधारित हुन्छ ।
वास्तवमा आन्दोलनको लामो ऐतिहासिक प्रक्रियाअन्तरगत इतिहासको खास घुम्तीहरूमा मात्र पार्टीको जन्म हुने गर्दछ । यो निश्चित सिद्धान्त, विचार, दर्शन, कार्यदिशा, कार्यक्रम र उद्देश्यबाट परिलक्षित हुन्छ । तव नेता कार्यकर्ताहरूमा पनि विचार दर्शनको साँस्कृतिक भाष्य स्थापित हुन्छ । पुँजीवादमा जस्तो भ्रूणबाटै अवसर र स्वार्थ खोज्ने परिपाटी हुँदैन । कुनै पार्टीमा प्रवेश गर्नु अगावै राज्यसत्ता र दलीय सत्ताको सुनिश्चितता वा भागवण्डा गर्नु पर्दैन । त्यसैले पुँजीवादी सँस्कृति जीवित रहेसम्म दल अदल–वदल लगायतका तमामखाले स्वार्थगत वा अवसरवादी कर्मकाण्डहरु भइ नै रहनेछ । सवैलाई चेतना भया !