शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन जित्दाको असर

बिहीबार, ०५ जेठ २०७९, १४ : ५२
बिहीबार, ०५ जेठ २०७९

अहिले सम्मको मत परिणामको गति हेर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र उर्फ बालेन साहको जित निश्चित जस्तो देखिन्छ । उनी जित्दाको असर जित पछिका दिनहरूमा त आउने नै छ । तैपनि उनको जितको बढ्दो सम्भावनाले सिण्डिकेट मानसिकता बोकेकाहरूमा अहिले नै देखिएको छटपटी, निदान हुन नसक्ने पीडा र काबु बाहिरको स्थितिको बोधको त्रासदी लोकतन्त्रको निमित्त गम्भीर ध्यानाकर्षणको विषय भएको छ । 

लोकतन्त्रको सबैभन्दा निर्विकल्प आधारस्तम्भ, जनताको प्रत्यक्ष सहभागिताको सुन्दरतम पक्ष निर्वाचनको परिणामलाई स्वीकार्न नसक्नेहरू वास्तवमा कति लोकतन्त्रवादी छन् भन्ने तथ्य पनि छर्लङ्ग भएको छ । राष्ट्रियता र लोकतन्त्रका मसिहा भनिने महान अभियन्ताहरूले गहिराईको मापन पनि बालेन जित उन्मुख प्रकरणले स्पष्ट देखिन थालेको छ ।

बालेन स्वतन्त्र उम्मेदवार हुन् । कुनै पार्टीसँग उनको सम्बन्ध छैन । यसको अर्थ यो कदापि होइन कि उनको राजनीतिक धारणा वा विचार नै छैन होला । अथवा उनको विचार वा सोच समुचित विकास क्रममा आकार लिने स्थितिमा बढिरहेको छैन होला । विचार व्यक्तिको हुन्छ र त्यो तिनका अभिव्यक्तिहरूबाट प्रस्फुटित हुँदै जान्छ । अरूले कुनै ब्राण्ड ठोकिदिँदा मात्र विचार ठोकिँदैन । केही स्वनामधन्य बुद्धिजीवी वा वरिष्ठ अग्रजहरूले निजलाई राजावादी वा धर्म प्रचारक भनि दिएर मात्र उनी जनताको संघर्षको उपलब्धि गणतन्त्रको विरुद्ध खडा भएर राजावादी हुनेछन् भन्ने कुरा पनि होइन । 

बालेन युवाहरूको समर्थनले जित हासिल गर्दैछन् । युवाहरू राजतन्त्रको अँध्यारो गल्लीमा फस्न कदापि चाहँदैनन् । युवा र उनलाई समर्थन गर्ने मतदाताहरू समतावादी समाज र सबै क्षेत्रमा पारदर्शी प्रतिस्पर्धाले लक्षित विन्दु, दिशा र गतिको पक्षमा छन् । बालेनका अभिव्यक्तिहरूले उनी यसप्रति निकै सचेत रहेको अनुभूति हुन्छ ।

बालेन तराईका हुन् । तराईले आधुनिक नेपालको निर्माणमा महत्वपूर्ण योगदान दिएको छ र दिने क्रममा छ । विभिन्न आरोह अवरोहहरू होलान् तर २००७ सालदेखि लोकतन्त्रको निमित्त तराईको प्रतिवद्धता, संघर्ष र अभ्यासलाई कसैले नकार्न सक्दैन । तराई–मधेसको संघर्षले संघीयता र तीन तहको सरकार हामीले पाएका छौं । भ्रष्टाचार र तमाम विकृतिका बावजुद यसले गर्दा ग्रामीण क्षेत्रमा विगत ४÷५ वर्षमा आएको परिर्र्तनले मुलुकलाई नयाँ दिशा प्रदान गरेको छ । 

पहिचान र विविधताको सम्मान तथा क्षेत्रीय स्वशासनको एजेन्डालाई सयौं शहादतपूर्ण आन्दोलनबाट अगाडि सारेर तराई–मधेसले क्षेत्रीय असमानता, नागरिक अधिकारको क्षेत्रमा जारी व्यवहारिक विभेद तथा सन्तुलित विकासको बाटोमा देखा परेका समस्याहरूको एकमुष्ट निदानको बाटो आफ्ना एजेन्डामार्फत् प्रस्तुत गरेकै छ । मधेसी, थारू, मुस्लिम, दलित, आदिवासी–जनजाति जस्ता शोषित र पीडित समुदायहरूमा आत्मविश्वास र संघर्षको उर्जा प्रदान गरेकै छ । हो, नेपालको मूलधारीय राजनीतिबाटै तालिम पाएका तराई–मधेसका नेताहरू मधेसको महान एजेन्डा बोक्न सकेनन् । स्वार्थ, पैसा र ईशाराले परिचालित भए । त्यसकारण संघर्षको संझिन सक्ने पात्रहरू बन्न सकेनन् । तर, त्यसले आम जनताको संघर्ष ब्यर्थमा गयो भन्नु अनउपयुक्त होला । 

काठमाडाैं महानगरपालिकामा बालेनको उम्मेदवारी तथा त्यसले उठाएको तरंगले, त्यहाँ ल्याएको नयाँ सोच र जोशले तथा राजनीतिमा सिण्डिकेट मानसिकतामाथि गरेको चोटले निश्चय नै नयाँ नयाँ आयामहरू थपिनेछन् । काठमाडौंमा अब को रैथाने र को बाहिरिया ? यस्ता विषयमा सकारात्मक बहस गर्नुभन्दा पूर्व हामीले के कस्तो समाज र प्रणाली चाहेका हौं भन्ने विषयलाई आधारमा राख्नु आवश्यक छ । यदि लोकतन्त्र र संविधानलाई आधार मान्ने हो भने यस्ता प्रश्न अर्थहीन हुन जान्छन् । 

काठमाडांैमा रैथाने भनेपछि तराई, थरुहट र आदिवासी–जनजातिको क्षेत्रमा के कसो हुनुपर्ने यो पनि सोचनीय विषय हो । फेरि काठमाडौंमा रैथाने को ? नेवार वा यहाँ बसोबास गरेका बहुसंख्यक नेपालीभाषी ? त्यसमा मधेसी, मुस्लिम वा थारूहरू पर्न सक्छन् वा सक्दैनन् ? नेवारलाई हटाएर नेपालीभाषीहरूको मात्र वर्चस्वको हुनुपर्ने मानसिकता बोक्नेहरू समानताको समाजको अवधारणाका घोर बिरोधी हुन् । देश र देशका विभिन्न क्षेत्रका भाषा, संस्कृति र जीवन शैलीका अन्य अवयवहरू सबैका साझा सम्पत्ति हुन् । यसको संरक्षण र जिम्मेवारीको दायित्व पनि सबैको हो । 

स्थानीय सरकारको सफल सञ्चालन भनेको स्थानीय विशिष्टताको संरक्षण, स्थानीय आवश्यकता र समस्याको पहिचान एवं समाधान तथा प्रदेश, संघ एवं विश्वसँग समन्वयका आयामहरू हुन् । त्यस्तै प्रादेशिक स्वशासनको वास्तविक अर्थ पनि प्रादेशिक विशिष्टताको संरक्षण, आवश्यकता र समस्याको पहिचान एवं समाधान तथा सबैसँग समन्वयको व्यवहारिक अभ्यास नै हो । बालेनको सफलता यसैमा भर पर्दछ । उनले यसलाई अझ निरन्तरता दिएर उदाहरणीय बन्ने छन् भन्नेमा विश्वास गरौं र उत्साह बढाऔं । किनभने यी विषयहरूको सम्वोधन पनि विविधताको सम्मान र समतावादी समाजको निर्माणले मात्र सम्भव छ ।

बालेनको स्वतन्त्र उम्मेदवारी अलि फरक किसिमको हो । यसलाई अरूसँग तुलना गरेर हेर्न मिल्दैन । जनकपुरका मनोज साह, धनगढीका गोपाल हमाल, बर्दिवासका प्रह्लाद क्षेत्री वा धुलिखेलको विदुर बस्नेतको जस्तो होइन, काठमाडौंमा बालेन्द्र साहको उम्मेदवारी । अरुहरुको हकमा दलीय अन्तर्घात, आन्तरिक लोकतन्त्रको चरम अभाव, भ्रष्टाचारको लोभिँदो अवसर र दलहरूमा उम्मेदवारी खरीद बिक्रीको कारणले उत्पन्न परिस्थितिको परिणाम हो ।

स्थानीय तह जनताको प्रत्यक्ष दैनिक सरोकारको सरकार भएकोले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनु अर्थहीन छ । यसबारे जिम्मेदार निकायहरू सोच्नुपर्ने अवस्था आएको छ भन्ने कुराको बिगुल फुकाईको निमित्त बालेनको उम्मेदवारी हो । अर्कोतर्फ स्थानीय तहको उम्मेदवार हुन विचारलाई हुत्याउँदै आयाराम गयाराम हुनेहरू र जनतालाई तरकारी बजारको सागपात ठान्ने, अवाञ्छित तरिकाबाट धनोपार्जन गरी उपप्लावित राशीले मानसम्मान किन्न खोजी गर्ने, कालो धनलाई सेतो बनाउनेहरूलाई निश्चय नै यो चोटिलो प्रहार पनि हो । यसका साथै यस उम्मेदवारीले राजधानीमा उत्पन्न वर्तमान लहरले काठमाडौंमा बसेर देशको सत्ता, सञ्चार, श्रोत र धेरै हदसम्म कूटनीतिक गतिविधि समेतमा पकड राख्नेहरूलाई चुनौती दिएको पनि हो । बालेन्द्र साह र उनका पछाडि पृष्ठभूमिमा रहेका युवाहरू यसका लागि निश्चय नै साधुवादका पात्र हुन् ।

बालेन साहप्रतिको मतदाताको आकर्षणलाई वर्तमानमा राष्ट्रिय राजनीतिमा क्रियाशील दलहरू, तिनको नेतृत्व र आचरणप्रति जनताको मोहभङ्गले गर्दा असन्तुष्टिको मत प्रदर्शित भएको भन्ने टिप्पणी वास्तवमा सिण्डिकेट मानसिकताकै पालिस गरिएको पूर्वाग्राही टिप्पणी हो । यसलाई असन्तुष्टिको मत भन्दा पनि वर्तमानको सोच र दिशाको मत किन न भन्ने ? 

बालेनलाई आउँदै गरेको मत भागबण्डा, राजनीतिक खरीद–बिक्री, नातावादी चरम सोच, राजनीतिक दलहरूमा रहेको जमिन्दारी प्रथा र आन्तरिक लोकतन्त्रको चरम अभावसहित हरेक किसिमको वर्चस्वको विरोधको मत हो । साथै, विविधताको सम्मान, स्वच्छता र पारदर्शिताको माग हो । यो गणतन्त्र र संघीय संरचनाको पक्षमा त्यसको संस्थायीकरण र संविधान तथा कानूनहरूमा समुचित सुधारको माग पनि हो । सबैभन्दा महत्वपूर्ण कुरो सिण्डीकेटको पञ्जाबाट मुक्तिको निमित्त चक्रव्यूह तोड्ने अभिमन्यूको उर्जाले युवाहरूले देखाएको यो समुचित बाटो हो ।

बालेनले प्रत्येक वडामा अग्रता पाइरहेका छन् । अहिले नै प्रतिस्पर्धीसँग ठूलो मतान्तर प्राप्त गरिरहेका छन् । कोर एरियाबाट आफूहरुलाई अधिक भोट आउने केशव स्थापित र सिर्जना सिंहको आशामा तुषारापात छाउँदै छ । अहिले भोटमार्फत् काठमाडौंका मतदाताहरूले जुन भावनाको उद्घोष गरिरहेका छन्, त्यसको परिपालनको सम्पूर्ण प्रयास र निरन्तरता नै यस जितको उपलब्धिपूर्ण असर हुनेछ । र, त्यसैले हुनेछ, मतदाताहरूको वास्तविक सम्मान पनि । 

जित हासिल गरेमा बालेनका लागि निम्न मुद्दा प्रमुख प्राथमिकता हुन सक्छन् । स्थानीय समस्याहरूको पहिचान र त्यसको सर्वोत्तम समाधान, स्थानीय भाषा, संस्कृति, विविधताको संरक्षण, लोकतन्त्रको रक्षा । पारदर्शिता र सार्वजनिक रकमको सम्मानपूर्ण सदुपयोगको निमित्त पारदर्शी उदाहरणीय कार्य प्रणाली । संघ–प्रदेश–महानगरबीच नमूना समन्वय, उपभोक्ताको हित संरक्षण, स्वच्छ व्यापारको अनुकूलको वातावरण निर्माण । शैक्षिक र स्वास्थ्य क्षेत्रमा नाफामुखी भन्दा कम लागतमा गुणात्मक सेवा भावको विकास आदि । बालेन यसको तयारीमा लागुन् । सबैको शुभकामना र सहयोगले उनको उर्जा, प्रतिवद्धता र आत्मविश्वास बढोस् ।

लेखक तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वृषेशचन्द्र लाल
वृषेशचन्द्र लाल

 लेखक तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष हुन् ।

लेखकबाट थप