बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको बजेट ३७ अर्बभन्दा माथि नजाने

सोमबार, २३ जेठ २०७९, १५ : १५
सोमबार, २३ जेठ २०७९

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले कृषि,स्वास्थ्य,शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको बताएका छन् । उनले टुक्रे योजना भन्दा पनि एकीकृत र परिमाण देखिने गरी योजना ल्याउने तयारीमा प्रदेश सरकार छलफलमा लागेको बताएका हुन् । 

रिपोर्टर्स क्लब  लुम्बिनी प्रदेशले आज बुटवलमा  गरेको साक्षात्कार कार्यक्रममा बोल्दै क्षेत्रीले खाद्यान्न आयात कम हुने गरी कृषि कार्यविधि बनाएर कृषकलाई सहुलियत दिने र व्याजमा अनुदान उपलब्ध गराउने नीति ल्याउन लागेको बताए । उनले  अहिले बजेट ३७ अर्ब भन्दा माथिको नहुने बताएका छन् । गत वर्ष लुम्बिनी प्रदेशमा ४० अर्बको  बजेट आएपछि अहिले मुलुकको आर्थिक अवस्थामा  केन्द्रित भएर घट्ने बताए । 

उनले  लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र आयुर्वेदिक अस्पताललाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्रमा बजेट  छुट्ट्याउने योजना रहेको बताउँदै  शिक्षामा प्रदेश विश्व विद्यालयको अवधारणका छिटै कार्यान्वयन हुने जनाए । सरकारले  बजेटको सिस्टम परिवर्तन गरेर ५ वटा मापदण्ड अनुसार १० वर्षे गुरुयोजनाको  नीति तथा कार्यक्रम ल्याउने बताए । 

विगतको सरकारले ल्याएका राम्रा योजनालाई निरन्तरता दिँदै १० वर्ष भित्र प्रदेशको मुहार फेरिने गरी प्रदेशका गौरवका आयोजनाहरू बनाएको उनको बताए । सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश विशेष अधिकार समितिका सभापति कमल प्रसाद श्रेष्ठले साधारण खर्च घटाएर पुँजीगत खर्च बढाउनु पर्ने गरी बजेट ल्याउनु पर्नेमा जोड दिए । उनले कृषिको उत्पादकत्व वृद्धि हुने गरी प्रदेश सरकारले बजेट ल्याउनुपर्ने बताए । 

श्रेष्ठले सत्तामा बसेकाहरू सस्तो लोकप्रिय हुनका लागी मात्र योजनाहरू  ल्याउन नहुने भन्दै दीर्घकालीन योजनामा केन्द्रित हुनुपर्ने सुझाव दिए  ।उनले गत सालको ६५ करोडको बजेट काटेर आसेपासेलाई खुसी पार्न टुक्रे योजनामा बजेट पठाएकोमा आपत्ति जनाउँदै यस्ता कार्य  रोक्नु पर्नेमा जोडिदिए । 

कार्यक्रममा बोल्दै  प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले स्थानीय तहका जनप्रतिनिधि समेत विभिन्न योजनहरूको माग राख्दै  प्रदेशमा आउन थालेको प्रदेशको महत्त्व बढ्दै गएको बताए । उनले अव  बजेट प्रदेश सरकारले  जनताले महसुस हुने खालको ल्याउनु पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप