बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन

बुधबार, ३१ असार २०८३, १५ : ०७
बुधबार, ३१ असार २०८३

बेइजिङ । चीनले कृत्रिम बौद्धिकता (एआई)मा आधारित भर्चुअल प्रेमी–प्रेमिका सेवामाथि कडा नियमन लागु गर्ने भएको छ ।

आगामी सातादेखि लागु हुने नयाँ नियमसँगै चीन मानवजस्तै व्यवहार गर्ने एआई प्रणालीलाई नियमन गर्ने व्यापक कानुन ल्याउने पहिलो देश बन्नेछ । नयाँ व्यवस्थाअनुसार बाइटडान्स, अलिबाबा र टेन्सेन्टजस्ता प्रमुख प्रविधि कम्पनीहरूले प्रयोगकर्तालाई आफूअनुकूल एआई साथी सिर्जना गर्न तथा उनीहरूसँग भावनात्मक सम्बन्ध विकास गर्न मिल्ने केही सुविधा हटाउन थालेका छन् ।

यद्यपि केही भूमिका निर्वाह गर्ने एआई एप अझै सञ्चालनमा रहे पनि नयाँ नियम लागु भएपछि लामो समयसम्म भावनात्मक संवाद सीमित गरिने र प्रयोगकर्तालाई एआई मानव नभएको जानकारी बारम्बार गराइने अपेक्षा गरिएको छ । चीन सरकारले एआईमार्फत मानिसमा भावनात्मक निर्भरता बढ्न सक्ने, गलत विश्वास सिर्जना हुन सक्ने र त्यसलाई व्यावसायिक लाभका लागि प्रयोग गर्न सकिने जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालेको बताइएको छ ।

विश्लेषकहरूका अनुसार एआई प्रेमी–प्रेमिकाको बढ्दो लोकप्रियताले प्रविधिको विकास त गर्छ नै समाजमा बढ्दो एक्लोपन, आर्थिक दबाब र सम्बन्धमा देखिएको परिवर्तनलाई पनि प्रतिबिम्बित गर्छ । विशेषगरी महिलामाझ यस्ता एआई साथी लोकप्रिय बन्दै गएको बताइएको छ । रोजगारको चुनौती, आर्थिक अनिश्चितता, सामाजिक दबाब तथा विवाहसम्बन्धी परम्परागत अपेक्षाका कारण धेरै महिलाले धैर्यपूर्वक सुन्ने र सधैँ उपलब्ध हुने एआई साथीलाई आकर्षक विकल्पका रूपमा लिन थालेको विश्लेषण गरिएको छ ।

चीनमा विवाह र जन्मदर लगातार घटिरहेका बेला सरकारले एआईसँगको अत्यधिक भावनात्मक सम्बन्धले वास्तविक सामाजिक सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ । विज्ञहरूका अनुसार एआईसँगको सम्बन्धमा नियमन आवश्यक भए पनि केवल एआई प्रेमीमाथि प्रतिबन्ध लगाएर वास्तविक जीवनका सम्बन्धमा देखिएका समस्या समाधान नहुने र विवाह तथा जन्मदरमा आएको गिरावट पनि त्यसले रोक्न नसक्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप