प्रदेश र संघको चुनावपछि मात्रै पदाधिकारी छान्ने रणनीतिमा प्रचण्ड !
नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारी आगामी प्रदेश र संघको चुनावपछि मात्रै टुंगो लगाउने मनस्थिति बनाएको छ । तत्काल पदाधिकारी टुंगो लगाउनतिर लाग्दा पार्टीमा थप गुटबन्दी सृजना भई चुनावमा असर पर्न सक्ने निष्कर्षका साथ चुनावपछि या कार्यलाई चुनावपछि धकेल्न लागिएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थानीय तह चुनाव लगत्तै पार्टी पदाधिकारी सहित अपूर्ण केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र सबै जनवर्गीय संगठनलाई पूर्णता दिने घोषणा गरेका थिए । तर केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति तत्काल टुंगो लाग्न सक्ने भएपनि पदाधिकारी चाहिँ प्रदेश र संघको चुनावपछि मात्रै फाइनल हुने अवस्था रहेको एक प्रभावशाली पूर्व स्थायी समिति सदस्यले रातोपाटीलाई बताए ।
‘हामी पुसमा भएको महाधिवेशनबाट पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति टुंगो लगाउनुपर्छ भन्नेमा थियौँ,’ ति प्रभावशाली पूर्व स्थायी समिति सदस्यले भने, ‘तर अध्यक्षले सबैलाई समेटेर कमिटी टुंगो लगाऔँ भन्नुभयो । हामीले मान्दै आयौँ । अहिले ६ महिनासम्म अध्यक्ष बाहेक अरु केही बन्न सकेको अवस्था छैन ।’ उनका अनुसार अब प्रदेश र संघको चुनाव अघि केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिसम्म टुंगिन सक्छ । तर, पार्टी पदाधिकारी भने आगामी प्रदेश र संघको चुनावपछि मात्रै टुंगो लगाउनेमा शीर्ष नेता समेत सहमत भएको ती नेताले बताए । ‘हामीले चाहेर मात्रै पदाधिकारीसहित पार्टी कमिटी टुंगिदैन । अध्यक्षको दिमागमा जे लागेको छ त्यहीँ हुने हो’ ती नेताले भने,‘अध्यक्षको मनसाय प्रदेश र संघको चुनावपछि पदाधिकारी टुंगो लगाऔँ भन्ने छ । त्यसैले चुनाव अघि पदाधिकारी टुंगिने सम्भावना कम छ ।’
अध्यक्ष प्रचण्ड आफैंपनि स्थानीय चुनाव अघि पदाधिकारी टुंगो नलगाउँदा पार्टीलाई एक ढिक्का बनाएर चुनावमा जान सकेको भन्ने निष्कर्षमा छन् । त्यसैले प्रदेश र संघको चुनावपछि पदाधिकारी टुंग्याउँदा राम्रो नतिजा ल्याउन सकिने बुझाइ प्रचण्डमा रहेको उनको भनाइ छ । तर, पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले प्रदेश र संघको चुनाव अघि नै पदाधिकारीसहित केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति टुंगो लगाइनुपर्ने बताए । ‘प्रदेश र संघको चुनावअघि नै पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति फाइनल गर्नेगरी गृहकार्य भइराखेको छ,’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने,’ ‘प्रदेश र संघको चुनाव मंसिरमा हुने अनि पदाधिकारीसहित पार्टी कमिटी टुंगो नलगाएर हुन्छ? पदाधिकारीसहित पार्टी कमिटी र जनवर्गीय संगठनको कमिटी टुंगो लगाएर पार्टीलाई व्यवस्थित बनाउँछौ ।’
महाधिवेशन सकिएको ६ महिनामा अध्यक्ष मात्रै टुंगियो
माओवादीको आठौं महाधिवेशन गत पुस १८ गते सकिएको थियो । महाधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा अध्यक्षमा प्रचण्ड बाहेक अरु कुनै पदाधिकारी टुंगो लाग्न सकेको छैन । स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिले समेत पूर्णता पाएको छैन । अपूर्ण केन्द्रीय समिति बैठक स्थानीय तह चुनाव लगत्तै जेठ २० गते बस्ने भनिएपनि बस्न सकेन । अब असार १५ गते भौतिक रुपमा उपस्थित भई केन्द्रीय समिति बस्ने भनिएको छ ।
तर, आगामी असार १५ गतेको बैठकबाट पदाधिकारीसहित स्थायी समिति,पोलिटब्यूरो र केन्द्रीय समिति टुंगो लाग्नेमा समेत आशंका गरिएको छ । माओवादीले हाल विधानले नचिन्ने पूर्व स्थायी समिति बैठक राखेर निर्णय गर्दै आएको छ । पदाधिकारीको विषयमा माओवादी केन्द्रका महासचिव चयनको विषय पेचिलो रहेको छ। महासचिवमा वर्षमान पुन र जनार्दन शर्मासहित पम्फा भुसाल, देव गुरुङ, शक्ति बस्नेत लगायतले दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण