बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

बुधबार, २२ असार २०७९, १० : ५३
बुधबार, २२ असार २०७९

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेन्जपोस्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउ चोट नभएकाले प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा मरेका दुई गैँडामध्ये एउटाको खागखुर सिकारीले लगेका थिए भने अर्को एकको खागखुर सुरक्षित रहेको थियो । बाँकी ३४ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । तीमध्ये झण्डै आधा जुधेर मरेको तिवारीले बताए । गैँडा बुढो भएर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर, खाडलमा परेर मरेका हुन् । 

गत आवमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए । केही वर्षअघि एकै वर्ष प्राकृतिक कारणबाट ४४ गैँडा मरेका थिए । त्यो नै हालसम्मको प्राकृतिक कारणबाट मरेका सबैभन्दा ठूलो सङ्ख्या हो । गैँडाको सङ्ख्या बढेसँगै मृत्युदर बढ्दै गएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणबाट मृत्युदर घटाउन सक्ने जति प्रयास भइरहेको बताए। एकै ठाउँमा धेरै गैँडा नहोस् भन्नका लागि निकुञ्जले आन्तरिक स्थानान्तरणको योजना बनाएको छ । यससँगै बासस्थान व्यवस्थापनमा जोड दिएको छ । नमूना घाँसे मैदान निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए । गैँडा एकै ठाउँमा धेरै रहँदा जुधेर मर्ने क्रम बढेपछि फरक–फरक ठाउँमा व्यवस्थित घाँसे मैदान र पानीको स्रोत व्यवस्थापनमा निकुञ्ज जुटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप